गर्भवती महिलालाई जटिल अवस्थामा पुऱ्याउने ‘रप्चर्ड एक्टपिक प्रेग्नन्सी’ के हो ? कसरी समाधान गर्ने ?

डा. उत्तम पच्या

केही दिन अघिको कुरा हो । गुल्मी जिल्ला अस्पतालमा मालिका गाँउपालिका घमिरकी ३२ बर्षीया हिमा कार्की असाध्यै पेट दुखेर आत्तिएको भन्दै परिवारले ल्याइपुऱ्याए । विहान घरको काम गर्दा गर्दै ९ बजे तिरबाट एक्कासी पेट दुख्न थालेको र निको नभएको भन्दै परिवारले अपरान्ह ५ बजे अस्पताल ल्याइ पुऱ्याएका थिए ।

भएको के रहेछ भने, घरको काम गर्दै गर्दा बिहान ९ बजे तिर एक्कासी पेट दुखेछ । सहनै नसक्ने गरी  पेट दुखेपछि काम छाडेर एक्छिन आराम त गरिन । तर सुधार आएन । सुधार नआएपछि श्रीमानलाई  गुहारिन । आफुलाई निक्कै पेट दुखेको र चिसा पसिना छुटेको जानकारी दिइन ।श्रीमानले  तत्कालै नजिकैको स्वास्थ्य चौकीमा पुऱ्याए । चौकीका इन्जार्जले सामान्य लक्षण हेरेर दुखाई कम गर्ने औषधि दिए । औषधि खाइन । तर निको हुने सुरसारै छैन । त्यसपछि श्रीमान् ढिला नगरी जिल्ला अस्पताल तम्घास तर्फ दौडाएछन् ।

त्यस दिन उनीहरु हाम्रो हस्पिटलमा आइपुग्दा बेलुकाको पाँच बजिसकेको थियो । अन डिउटी डाक्टर देवराज कंडेल हुनुहुन्थ्यो । सो केश आउनासाथ उहाँले मलाई खबर गर्नुभयो । म नजिकै थिएँ । उतिखेरै पुगिहालेँ ।

विरामीको अवस्था र सामान्य सोधपुछ पछि ‘रप्चर्ड एक्टपिक प्रेग्नन्सी’ हो कि भन्ने शंका लाग्यो । तुरुन्त अल्ट्रासाउण्ड गरेँ । त्यसबाट पेटमा रगत बगेको शंका भयो । थप एकीन गर्नलाई पेटमा सियो राखी रगत तान्यौँ र पिसाबमा गर्भवती जांच गर्दा पोजिटिभ देखियो ।

जिल्ला अस्पताल गुल्मीमा रप्चर्ड एक्टपिक प्रेग्नन्सीको शल्यक्रिया गर्दै डा. पच्या नेतृत्वको चिकित्सक टोली

 

तुरुन्त आवश्यक रगत जाँच गर्यौं र रक्तदानको लागि नेपाली सेना र नेपाल प्रहरीलाई खबर गरयौँ । एक पिन्ट रगत भने हाम्रै सहकर्मी एक जना चिकित्सक डा. भुषण कोजुको रगत समूह मिल्दो रहेछ । तुरुन्त ल्याबका साथीहरु नबराज मरासिनी (ल्याब टेक्निसियन) र हिरा पोखरेल(ल्याब एसिस्टेन्ट) लाई भनियो । उनीहरुले डा. कोजुको रगत तानिहाले । त्यसपछि अरु तीन जना साथीहरुको पनि रगत तान्नु भो । त्यसपछि हामीले बिरामी र उनको श्रीमानसंग आवश्यक सल्लाह गरी अप्रेशन गर्ने योजना गर्यौं ।

मैले बिरामीलाई ढाडमा सुईबाट औषधीदिइ सके पछि डा. अन्जना सापकोटाले एनेस्थेसियाको पाटो सम्हाल्नु भो र मलाई अपरेसन गर्न डा. सुरेन्द्र रायमाझी र स्टाफ नर्सहरु मोनिका परियार तथा सुनिता रेग्मीले सहयोग गर्नु भो ।

नाभी मुनि पेट चिरेर हेर्दा पेट भित्र रगतको आहाल थियो । सबै रगत निकालेर गर्भ फुटेको ठाउँ खोज्यौं ।पेट भित्र रगतको मात्रा करिब २ लिटर जति थियो । गर्भ बायाँ अन्डबाहिनी नलीको ‘इस्थ्मस’ भन्ने भागमा थियो र त्यो भाग फुटेर पेटमा रगत भरिएको थियो ।

त्यो अन्डबाहिनी नलीलाई निकाल्यौं र आवश्यक सिलाई गर्यौं रगत थामिएको यकिन गरीर पेट भित्र रहेको बाँकी रगत र रगतको चौटा मनतातो सलाइन पानीले सफा गरयौं । फेरी एकपटक फुटेको ठाउमा रगत नबगेको यकिन गरी पेट सिलायौं ।

उनलाई अपरेसन गर्दै गर्दा १ पिन्ट रगत चढायौं र अपरेसन पछि ३ पिन्ट चढायौं । अहिले उनी स्वस्थ छिन् । उनका श्रीमान निक्कै खुशी छन् ।

उपचार पछि अस्पतालबाट बाहिरिदै कार्की दम्पत्ती

के हो रप्चर्ड एक्टपिक प्रेग्नन्सी ?

‘रप्चर्ड एक्टपिक प्रेग्नन्सी’ थाहा पाउनु भन्दा पहिले ‘एक्टपिक प्रेग्नन्सी भनेको के हो ?’ थाहा पाउनु जरुरी छ । गर्भाशय भन्दा बाहिर गर्भ रहनुलाई एक्टपिक प्रेग्नन्सी भनिन्छ ।

प्रायजसो यो धेरै जसो अन्डबाहिनी नलीमा हुन्छ जुन ९८ प्रतिशत हुन्छ । अन्डबाहिनी नलीको पनि ‘एम्पुला’ भन्ने ठाँउमा बढी हुने गर्दछ । यो विरामीमा चाही ‘इस्थ्मस’ भन्ने भागमा थियो जुन ‘एम्पुला’ पछि को दोश्रो कमन भाग हो ।

गर्भको समय बित्दै जाँदा बच्चाको आकार बढ्दै जान्छ जसलाई थेग्न नसक्दा नली फुट्ने गर्दछ र मृत्यु सम्म गराउने गरी रगत बग्दछ । त्यसैले यो अवस्था कुनै पनि गर्भवती महिलालाई भयावह अवस्था हो । यो समयमै पहिचान गरी उपचार गर्न सके धेरै जसो बिरामीको ज्यान बचाउन सकिन्छ ।

गर्भअवस्थामा हुने मृत्युमध्ये ४ देखि १० प्रतिशत कारक रप्चर्ड एक्टपिक प्रेग्नन्सी मानिन्छ ।

रप्चर्ड एक्टपिक प्रेग्नन्सीका लक्षणहरु
१.असाध्यै पेट दुख्नु
२. महिनाबारी रोकिएको अवस्था
३. गर्भाशयको मुखबाट रगत बग्नु
४. चेत अवस्था घट्दै जानु
५. शरीर फुस्रो हुँदै जानु
६. हात खुट्टा चिसिदै जानु

कस्तो महिलालाई यसको सम्भावना बढी हुन्छ ?
१.पहिले गर्भाशय तथा अन्डबाहिनी नलीको संक्रमण भएकालाई
२. पहिले गर्भपतन भएको अवस्थामा
३. पहिले यस्तै घटना भएको भए
४. कपर टी प्रयोग गरेको छ भने
५ लामो समय सम्मको बाँझोपन भए
६. गर्भपतन पहिले गरेको छ भने
७. धेरै जनासंग यौन सम्पर्क राखेमा
८. चुरोट पिउने बानी भएमा

कसरी यो अवस्थालाई रोक्न सकिन्छ ?
१.चुरोट नपिउने
२.धेरै जना संग यौन सम्पर्क नगर्ने
३.सके सम्म गर्भपतन नगराउने, गर्नै परे अस्पतालमा सुरक्षित गर्भपतन गर्ने
४. गर्भाशय तथा अन्ड बाहिनी नलीको संक्रमण भए तुरुन्त उपचार गर्ने
५. गर्भवती छ र पेट दुखेमा तुरुन्त चिकित्सक वा स्वास्थ्यकर्मीबाट परामर्श लिने

यस्तो अवस्था आए के गर्ने ?
नजिकैको बिस्तारित आकस्मिक प्रसुति तथा नवजात शिशु सेवा सुबिधा भएको अस्पतालमा उपचार गर्न जाने । तपाईँको जानकारीका लागि भनौँ यो सुबिधा अहिले तम्घास अस्पतालमा पनि छ ।

सरकारले के सुबिधा दिएको छ ?
१. यो अवस्था आमा सुरक्षा कार्यक्रम अन्तर्गत रहेकोले निःशुल्क उपचार सुबिधा प्रदान गरेको छ ।
२. बिरामीलाई यातायात खर्च बापत पहाडी जिल्लामा १००० रुपैया पनि प्रदान गरिन्छ ।

# डा. पच्या जिल्ला अस्पताल गुल्मीमा मेडिकल जनरलिष्टको रुपमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *