संघीय संरचनामा स्वास्थ्य मन्त्रालय अन्तरगत चारवटा विभाग रहने

काठमाडौँ, १ पुस । संघीय संरचनाअनुसार स्वास्थ्य मन्त्रालयअन्तर्गत चार विभाग अब रहने भएको छ । हाल स्वास्थ्य मन्त्रालयमातहत आयुर्वेद विभाग, स्वास्थ्य सेवा विभाग र औषधि व्यवस्था विभाग गरी तीनवटा विभाग रहको छ ।

केन्द्रमा ठूलो संरचना नराख्ने बताए पनि स्वास्थ्य मन्त्रालयअन्तर्गतका तीनवटै विभाग यथावत् रहने स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक शम्भु काफ्लेले बताए । उनले भने, ‘स्वास्थ्य मन्त्रालयअन्तर्गतका कुनै पनि विभाग हट्ने छैनन् । तर, संरचना भने विगतको जस्तो रहने छैन । यसलाई सानो र छरितो बनाइनेछ ।’

सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न प्रशासनिक पुनर्संरचना समितिले स्वास्थ्य मन्त्रालयअन्तर्गतको आयुर्वेद व्यवस्था विभाग र स्वास्थ्य सेवा विभाग हटाउने प्रस्ताव ल्याएको थियो । तर स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रका महत्वपूर्ण विभाग हटाउँदा दीर्घकालीन समस्या पर्न सक्ने राय आएपछि समिति विभाग नहटाउने तर, संरचनालाई साँधुरो बनाउने निष्कर्षमा पुगेको काफ्लेले बताए ।

केन्द्रमा चार विभाग
संघीयतामा स्वास्थ्य मन्त्रालयको पछिल्लो खाकाअनुसार चिकित्सा सेवा विभाग थप गरी चार विभाग बनाइने भएको छ । चिकित्सा महाशाखा प्रमुख डा। भोलाराम श्रेष्ठका अनुसार स्वास्थ्य मन्त्रालयमातहत रहेका कुनै पनि विभाग हट्ने छैनन् । एक विभाग थप हुनेछ ।

दुई दिनअगाडि मन्त्रालयले अधिकार सम्पन्न प्रशासनिक पुनर्संरचना समितिलाई बुझाएको प्रतिवेदनमा चिकित्सा सेवा विभाग थप गर्न भनिएको छ । हाल स्वास्थ्य मन्त्रालयमा रहेको चिकित्सा महाशाखालाई हटाएर छुट्टै चिकित्सा सेवा विभाग बनाउन लागिएको श्रेष्ठले बताए ।

स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागअन्तर्गत हाल १२ वटा महाशाखा छन् । समितिले भनेअनुसार विभागलाई नहटाए पनि संरचना साँघरो बनाइनेछ । उनका अनुसार महाशाखाहरूले सञ्चालन गरिरहेका कतिपय कार्यक्रम स्थानीय तह र प्रदेशलाई जिम्मा लगाइने भएपछि क्षेत्राधिकार साँघुरो हुने भएको हो ।

  • आजको नयाँ पत्रिकामा समाचार छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *