नयाँ स्वास्थ्य सचिव को होला ?

काठमाडौँ, २४ मंसिर । डा. किरण रेग्मीले १८ मंसिरबाट अनिवार्य अवकाश पाएपछि स्वास्थ्य मन्त्रालय यतिवेला सचिवविहीन भएको छ । काम चलाउ सचिवको जिम्मेबारी अहिले प्रमुख विशेषज्ञ डा. पुष्पा चौधरीलाई दिइएको छ ।

डा. रेग्मीको विदाईसंगै सरकार स्वास्थ्यमा नयाँ सचिव नियुक्त गर्ने तयारीमा रहेपनि रिक्त हुँनासाथ लगत्तै आएको दोस्रो चरणको निर्वाचनका कारण सम्भव भएको थिएन ।

यद्धपी दोस्रो चरणको निर्वाचन पछि भोलि बस्ने लागेको भनिएको मन्त्रिपरिषद बैठकले सचिवको कुरो टुंगो लगाउने बताइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा भोली बस्ने मन्त्रिपरिषदको बैठकबाट संघीयता कार्यान्वनय सम्बन्धी केही निर्णय गराउने तयारीमा छन् । सोही बैठकबाट रिक्त रहेको स्वास्थ्य मन्त्रालयको सचिव पदमा नियुक्ति गर्ने बुझिएको छ । ‘अहिलेसम्मको योजना सोमबार बैठक बस्ने र सचिवको समेत टुंगो लगाउने भन्ने छ । हेरौँ के हुन्छ,’  प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो ।

सचिवको दौडमा को को छन् ?
स्वास्थ्य मन्त्रालयमा सचिव सरहकै तह अर्थात १२ औँ तहको पदमा तीन जना डाक्टर कार्यरत छन् । निमित्त सचिव डा पुष्पा चौधरी, डा विनोदमान श्रेष्ठ र डा सुशील प्याकुरेल । एक पद भने खाली रहेको छ ।

सरकारले भोलिकै बैठकमा सचिव बढुवा गर्ने तयारीमा रहेको हो भने यहि तीन जनामध्येबाट एक जना सचिव हुने निश्चित छ । तर ११ औँ तहमा ५ बर्ष काम गरेको समेत सचिवका लागि प्रतिस्पर्धामा उत्रिन पाउने भएपनि अहिले त्यो सम्भावना देखिदैन ।

यदि १२ औँ तहबाटै सचिव निर्णय भयो भने डा चौधरी , डा श्रेष्ठ वा डा प्याकुरेलमध्ये एक जना हुन सक्छ ।

चर्चामा डा. चौधरी र डा. प्याकुरेल
तीन जना प्रतिस्पर्धी देखिए पनि पछिल्लो समय दावेदारीमा डा चौधरी र डा प्याकुरेलको देखिन्छ । तर मन्त्रिपरिषदमा पठाइने तीन जनाको नामबाट जो सुकैलाई सचिव बनाउन सकिने भएकोले यसै भन्न सकिने अवस्था छैन ।

डा चौधरीसंग १५ महिना प्रसुतिगृह अस्पतालको निर्देशक, १५ महिना स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाको निर्देशक र १३ महिना स्वास्थ्य सेवा विभागको महा निर्देशक पदमा रहि संस्थागत नेतृत्व लिएको अनुभव छ ।

कान्ति बाल अस्पतालमा कार्यरत रहेका बेला १२ औँ तहमा बढुवा भएका डा श्रेष्ठले अनिवार्य अवकाश पाउन २ महिना मात्रै बाँकी छ । त्यसैले उनी सचिव बन्ने दौडबाट पछि हटेको मन्त्रालय स्रोत बताउँछ ।

तर मंसिरको पहिलो साता मात्रै १२ औँ तहमा बढुवा भएका तत्कालिन सुदूरपश्चिम क्षेत्रीय निर्देशक डा प्याकुरेल सचिवको दौडमा आफूलाई खडा गरेका छन् । उनी उपत्यका बाहिर धेरै बसेका चिकित्सक मध्ये पर्दछन् ।त्यसैले अवको दौड डा चौधरी र डा प्याकुरेलबीच हुने निश्चित जस्तै बनेको छ ।

मन्त्रालय स्रोत अनुसार डा चौधरी बरिष्ठता तथा कार्याक्षमतामा दुबैमा अगाडी पर्छिन । प्रसुतिगृह, परिवार स्वास्थ्य र स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदै गर्दा उनले विवादरहित रुपमा आफ्नो कार्यकालको जिम्मेबारी निभाएकी थिइन । प्रमुख विशेषज्ञ भएर मन्त्रालय पुग्दा पनि उनको त्यो छवि धुमिल भएको छैन् ।

त्यस अघि हरेक बर्ष सरुवा बढुवाका बेला युनियनहरुले ताला लगाउथे तर उहाँ आएपछि त्यस्तो हुने अवस्थाको नै अन्त्य गर्नुभयो । मन्त्रालयका एक कर्मचारीले बताए ।

‘कम बोल्ने, आफ्नो काममा अडिक रहने, नियम विपरित काम नगर्ने जस्ता छवि बनाएकी डा चौधरी बरिष्ठता र व्यवस्थापन दक्षता दुबै कारणले सचिवको लागि योग्य हुन् । डा प्याकुरेल पनि नराम्रो होइन तर लामो समय बाहिर बसिरहेको र भर्खरै मात्रै बढुवा भएकोले उनको पक्षमा निर्णय लिइ हाल्ने अवस्थामा छैनन् ।’

तर अर्का कर्मचारी डा सरकारले राजनीतिक रुपमा निर्णय गर्ने भएकोले पनि आफू अनुकुलको व्यक्तिलाई सचिव बनाउने दावी गर्छन । ‘यहाँ सिनियर जुनियर भन्ने हुँदैन । काम कसको राम्रो भन्ने पनि हुँदैन । सरकारमा जसको पहुँच छ उ सचिव बन्छ ‘ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *