ग्यास्टिक समस्या के कारणले हुन्छ ? समाधानको उपाय के ?

डा. दिनेश श्रेष्ठ,पेटरोग विशेषज्ञ

झण्डै ८० प्रतिशत नेपालीहरुलाई कुनै न कुनै बेला ग्यास्टिक रोग लागेको अनुमान छ ।

गरीव मात्रै होइन धनीलाई पनि , वेरोगगार मात्रै होइन रोजगारी गर्ने लाई पनि ।अशिक्षित मात्रै होइन शिक्षितलाई पनि ।

कतिपयले यो समयमा खाना नखाएपछि अर्थात भोको बस्दा हुने रोग भन्छन तर बास्तवमा ग्यास्टिक रोग भोको पेटले मात्रै लाग्ने रोग होइन । 

ग्याष्टिक  भनेको के हो ?
मेडिकल भाषामा ग्यास्ट्राइटिस भनेर चिनिने यो समस्यालाई साधारण बोलीचालीको भाषामा ग्यास्टिक भनिन्छ ।

हाम्रो शरीरमा खाना पचाउनका लागि शरीरभित्र विभिन्न प्रकारका पाचन रसहरुका हुन्छन । त्यससंगै हाइडोक्लोरिक एसिड भनिने एक खालको अम्ल पनि उत्पादन भइरहेको हुन्छ । जसको उत्दादन आमाशय भित्र हुन्छ ।

यसको काम खाना पचाउनलाई सहयोग गर्ने हो । साथै आमाशय भित्रका किटाणुहरुलाई मार्ने काम पनि गर्छ । उता आमासय भित्र हेलिकोव्याक्टर पाइलोरी भन्ने एक खाले किटाणुहरु हुन्छ । अम्ल र किटाणुबीचको तालमेल नमिल्दा ग्यास्टिक हुने गर्छ ।

यो रोग लागेपछि पेटको माथिल्लो भाग पोल्ने, दुख्ने, वान्ता होला जस्तो हुने, खाना नरुच्ने , पेट ढुस्स फुलेको, भरिएको जस्तो लाग्ने हुन्छ । यो अम्ल धेरै बढेको बेलामा सहन नसकिने गरी पेट दुख्न सक्छ । ग्यास्टिक हुँदा कालो दिशा हुने तथा कहिलेकाही पेट तथा आमासयमा प्वाल परी त्यसको असरले मानिसको मृत्यु समेत हुनसक्छ ।

अर्को कारण आमासयमै उत्पादन हुने अम्लबाट आमाशयलाई बचाउँन शरीरमा विभिन्न प्रकृयाहरु हुन्छन ्। जस्तैः आमाशयका भित्री सतहका कोषहरुले बाक्लो जेली जस्तो अर्धतरल पदार्थ म्युकस निकालिरहेको हुन्छ , जसले उक्त अम्लबाट आमाशयलाई बचाउने काम गरिरहेको हुन्छ ।

त्यस्तै सो अम्लको असरलाई कम गर्नको लागि बाइकारबोनेट एक प्रकारको छार पनि उत्पादन भइरहेको हुन्छ । यी ग्यास्ट्राइटिस गराउन सक्ने र त्यसबाट बचाउने प्रकृयाहरुको सन्तुलनमा गडबडीका कारण ग्याष्टिक हुने गर्छ । नेपालमा हेलिकोब्याक्टर पाइलोरी भन्ने किटाणुुको संक्रमण ग्यास्टिक रोग लाग्नुको मुख्य कारण भन्ने गरिन्छ ।

त्यस्तै धुम्रपानको, मानसिक तनाव, अनावश्यक औषधिको सेवनले पनि यो समस्या देखिन सक्छ । जस्तै हामीले टाउको दुखेर खाने सिटामोल, ब्रुफेन, ब्रुसेट जस्ता औषधि धेरै खाइयो भने पनि यो समस्या हुने प्रवल सम्भावना रहन्छ ।

ग्यास्टिक समस्या कसरी थाह पाउने ?
साधारणतया यो रोग विरामीको समस्या सुनेर शरिरको जाँच गरेर नै पत्ता लाग्छ । त्यसको लागि इन्डोस्कोपी गर्नुको विकल्प छैन । लक्षणहरु जस्तै पेट पोल्ने, छाति पोल्ने, पेट फुलेको जस्तो हुने, खाना अरुची हुने आदी छन् र शरिर जाँचमा अरु खराबी देखिएनन् भने ग्यास्टिक हुन सक्छ ।

तर कहिलेकाही अरु रोगको लक्ष्ँण पनि यो संग मिल्न सक्छ । त्यसैले इन्डोस्कोपी जाँच गर्नुपर्छ । कहिलेकाही छाति पोल्ने र दुख्ने पनि हुन्छ यसले मुटुरोगका समस्या देखिएको हो कि भन्ने पनि हुन्छ । किनकी लक्षण लगभग समान हुन्छ । त्यतिवेला मुटुरोग सम्वन्धी जाँचहरु जस्तै इसिजी, मुटुका इन्जाइमहरुको जाँच गर्नुपर्छ ।

त्यस्तै कहिलेकाहीं पेटका अन्य रोगहरु जस्तै प्यान्क्रियाटिटिस , एपेन्डेसाइटिस, कोलेसिस्टाइटिस र पित्तथैलीको इन्फ्लामेसनले पनि यस्तै लक्षण देखाउछ । त्यसैले रगतका विभिन्न जाँचहरु, पेटको भिडियो एक्स–रे आदि गर्नुपर्ने हुन्छ ।

त्यस्तै हेलिकोब्याक्टर पाइलोरी किटाणुुले गर्दा भएको हो की भन्ने शंका लागेमा त्यस सम्बन्धि जाँचहरु पनि गर्न सकिन्छ ।

रोगबाट बच्न के गर्ने ?
साधारणतया ठिक समयमा खाना खाने, पेट खालि नराख्ने, चिल्लो, पिरो अमिलो धेरै नखाने, पानी प्रशस्त मात्रामा पिउने आदि गर्नाले यो रोगबाट बच्न सकिन्छ । रक्सी चुरोटको सेवन कम गर्ने, मानसिक चिन्ता कम लिने गर्नाले पनि यो समस्याबाट बच्न सकिन्छ ।

साथै दुखाइ कम गर्ने औषधिहरुको अनावश्यक र अत्यधिक सेवन गर्नुहुदैन । त्यसबाट समेत समस्या समाधान भएन भने नजिकको स्वास्थ्य केन्द्रमा जाने र सम्वन्धीत चिकित्सकसंग जाँच गराउने । किनकी यसको उपचारमा हेलचेक्रयाई भयो भने त्यसबाट अल्सर तथा क्यान्सर समेत हुनसक्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *