किन घातक बन्दै छ इन्फ्लुएन्जा भाइरस ? खोप किन प्रभावहीन बन्दै छ ?

डा. शेरबहादुर पुन

अस्ट्रेलियाको स्वास्थ्य विभागले हालै निकालेको तथ्यांकले इन्फ्लुएन्जा भाइरस झनै घातक बन्दै गएको देखाएको छ। त्यहाँ हालसम्मकै रेकर्ड ब्रेक हुनेगरी इन्फ्लुएन्जा बिरामीको बढेको अस्पतालको तथ्यांकले औल्याएको छ ।

अस्ट्रेलियाका सरकारी अधिकारीहरुले गत बर्षको तुलनामा यसबर्ष भाइरसबाट प्रभावित हुनेको संख्या साढे दुई गुणाले बढको र मृत्युदर पनि अस्वभाविका रुपमा बढेको देखाएको छ ।

सामान्यतय दक्षिणी भूभागमा देखिएको इन्फ्लुएन्जा भाइरसको प्रभाबको आधारमा उत्तरी भूभागमा यस भाइरसले कस्तो प्रभाब पर्न सक्छ भनेर अनुमान गर्ने गरिन्छ। तर हाल अस्ट्रेलियामा देखिएको इन्फ्लुएन्जा भाइरस बिगतको भन्दा घातक हुनसक्ने बैज्ञानिकहरुले आशंका ब्यक्त गरिसकेका छन् ।

यता छिमेकी देश भारतमा पनि हाल एचवानएनवान इन्फ्लुएन्जा भाइरस व्यापक रुपमा बढेको पाइएको छ । त्यहाँ यस भाइरसको कारणले बिरामी हुनेको संख्या गत बर्ष भन्दा २० गुणाले बढेको तथ्यांकमा उल्लेख छ ।

बुझ्नु पर्ने कुरा के हो भने जति संक्रमित बढ्छ मृत्यु हुनेको संख्यामा पनि त्यहि किसिमले बढोत्तरी हुन्छ । र विर्सन नहुने कुरा के हो भने भारतमा देखिने यस्ता खाले सरुवा रोगको सिधा असर नेपालमा पर्छ । त्यसैले छिमेकमा यस्ता संक्रमण बढ्नु हाम्रा लागि चिन्ताको विषय हो ।

हुनत इन्फ्लुएन्जा भाइरसको कुनै भौगोलिक सिमा हुँदैन । सन् २००९ मा पहिलो पटक अमेरिकामा एचवानएनवान इन्फ्लुएन्जा भाइरस पत्ता लागेको तीन महिना नबित्दै नेपालमा यसले ब्यापकता पाइसकेको थियो। तसर्थ भारत मात्र होइन विश्वको कुनै पनि भूगोलमा देखिएको सरुवा रोग यहासम्म कुनै बेला पनि नआउला भन्न सकिदैन।

यतिवेला मुगुमा दर्जनौ मानिस भाइरल ज्वरोको (कारण पत्ता लगाउन बाँकि रहेता पनि इन्फ्लुएन्जा भाइरस हुन् सक्दछ) कारणले मृत्यु भएको खबर आइरहेको अवस्थामा यतिबेला हामी पनि चनाखो हुनु पर्ने देखिन्छ।

बच्ने उपायहरु हामीसंग भएता पनि लगभाग सबैजसो यस भाइरसबाट बच्ने वा बाँचेको देखिदैन। खाली यति होकी स्वस्थ बयस्कमा एक दुई दिनमा बिस्तारै यस भाइरसको प्रभाब कम हुँदै जान्छ भने बृदबृदा, बालबालिका वा श्वासप्रश्वासका दीर्घरोगीमा यसले कडा रुप लिने गर्दछ।

लगभग सबैजसोलाई संक्रमण गर्न सक्ने भएकोले नै हो विकसित देशहरुमा फ्लु विरुद्धका खोप लगाउन सबैलाई नै प्रोत्साहन गरेको देखिन्छ ।

 फ्लु  खोप प्रभावहीन बन्दै गएको हो ?

हालै अस्ट्रेलियामा देखिएको अनुसन्धानको निष्कर्षले भाइरस विरुद्ध हाल प्रयोगमा ल्याइरहिएका खोपहरु प्रभाबहीन बन्दै गरेको देखाएको छ । जो हामी सबैका लागि चिन्ताको विषय हो ।

त्यसो त पहिला पनि फ्लु खोपको प्रभाब ४० देखि ६० प्रतिशत मात्र थियो । तर पछिल्लो समय यसको प्रभाबकारिता झनै घट्दै अध्ययनहरुले पुष्टी गरेको छ ।

अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी)ले जनाए अनुसार गत बर्ष यसको प्रभाबकारिता घटेर ३० देखि ४० प्रतिशत सम्म पुगेको देखाएको थियो। हाल अस्ट्रेलियामा देखिएको इन्फ्लुएन्जा भाइरस बिरुद्धको प्रभाबकारिता झनै घटेर १० प्रतिशतमा सिमित भएको देखाएको छ।

खोपको प्रभावकारितामा उल्लेख्य मात्रामा गिरावट आएपछि बैज्ञानिकहरु यसको कारण खोज्न लागि परेका छन् । प्रारम्भिक अनुसन्धानहरुले हाल खोपको उत्पादनमा प्रयोग हुँदै आएको अण्डाको प्रयोगको कारणले हाम्रो शरीरले यस भाइरस बिरुद्ध प्रभाबकरी रुपमा रोग प्रतिरोधात्मक क्षमता बृदी गर्न नसकेको पाइएको छ ।तसर्थ आगामी दिनहरुमा अब कसरी यस भाइरस बिरुद्ध लड्ने भन्ने बिषय बिश्वको लागि टाउको दुखाई भएको देखिन्छ।

यस भाइरसको कारणले निमोनिया जस्तो जटिल स्वस्थ स्थिति आउने भएकोले खासगरी पाँच वर्ष मुनिका वालबालिका र बृद्ध बृद्धाहरु विशेष चनाखो रहनु पर्ने देखिन्छ। बृद्धबृद्धाहरुमा श्वासप्रश्वास जस्तो दीर्घरोग हुनेहरुमा मृत्युदर अत्यधिक हुने गर्दछ। अस्ट्रेलियामा यो बर्ष फ्लुको संक्रमणबाट मृत्यु हुनेमा पनि बृद्धबृद्धाहरु नै बढी भएको सरकारी प्रतिवेदनमा उल्लेख छ ।

हाम्रो मुगुमा पनि अहिले भाइरल फिबरको कारणले अधिक मात्रामा बृदबृदाको मृत्यु भएको खबर आइरहेको छ। तसर्थ बिश्वमा नै भाइरसको संक्रमण हरेक बर्ष बढ्दै जानु, उपलब्ध खोप पनि प्रभाबहीन हुँदै जानुले जोखिम बढाएको छ ।

यद्धपी यस्तो बेलामा जोखिम समूहले संक्रमण हुन नदिन तर्फ सतर्क रहने र हुने वित्तिकै चिकित्सको सम्पर्कमा रही उपचार गराउन सके सम्भावित मृत्युबाट बाँच्न सक्नेछौँ ।

# डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *