असुरक्षित यौनसम्पर्क पछि सुरक्षित गर्भपतन गराउँदै किशोरीहरु

काठमाडौँ, १६ मंसिर । काठमाडौँमा बर्सेनि २० वर्षभन्दा मुनिका करिब साढे ३२ सय किशोरीले गर्भपतन गराउने गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंको तथ्यांकअनुसार असुरक्षित यौनसम्पर्कबाट बसेको गर्भ सुरक्षित रूपमा गर्भपतन गर्नेको संख्या धेरै बढेको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख महेन्द्र श्रेष्ठले पछिल्लो समय असुरक्षित यौनसम्पर्कको दरसँगै सुरक्षित गर्भपतन गराउनेको संख्या पनि बढ्दै गएको बताए ।

‘सरकारले २० वर्षभन्दा कम उमेरमा बच्चा जन्माउन नपाउने व्यवस्था गरेको छ,’ श्रेष्ठले भने, ‘किशोर–किशोरीले असुरक्षित यौनसम्पर्क गर्ने र गर्भ बसेको अवस्थामा सुरक्षित गर्भपतन गराउने प्रचलन बढेको छ ।’

२० वर्षभन्दा कम उमेरका ठूलो संख्यामा किशोरीहरू गर्भपतन गराउनतर्फ लागेपछि सरकारले यसप्रति चासो र चिन्ता व्यक्त गरेको छ । सरकारमातहत दर्ता भएका स्वास्थ्य संस्थाले उपलब्ध गराएको तथ्यांकका आधारमा जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले एक प्रतिवेदन तयार पारेको छ ।

प्रतिवेदनमा २० वर्षभन्दा कम उमेरका किशोरीले गर्भपतन गराउने दर आशातीत बढी रहेको उल्लेख छ । प्रमुख श्रेष्ठले परिवार र समाजको डरले गर्दा किशोरीहरू गर्भपतन गराउन निजी स्वास्थ्य संस्था जाने गरेको पाइएको बताए । ‘यस्ता स्वास्थ्य संस्थामा गर्भपतन गराउँदा कुनै रिपोर्ट राखिएको हुँदैन,’ उनले भने ।

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका अनुसार तीन आर्थिक वर्षमध्ये ०७२/७३ मा गर्भपतन गराउनेको दर धेरै छ । जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका तथ्यांक अधिकृत पुष्कर बिजुक्छेका अनुसार ०७१/७२ मा १३ हजार ६०९ जनाले गरेको सुरक्षित गर्भपतन गराएका थिए ।

जसमध्ये २० वर्षमुनिका २५ प्रतिशत किशोरी थिए । आव ०७२/७३ मा १५ हजार ३०६ जनाले गर्भपतन गराएकोमा ३० प्रतिशत अर्थात् ३२ सय ६६ जना किशोरी थिए । ०७३/७४ मा सुरक्षित गर्भपतन गराउनेको संख्या १३ हजार ५७ जना रहेकामा २४ प्रतिशत किशोरी २० वर्षमुनिका थिए ।

२० वर्षमुनिका २४ प्रतिशत

सरकारमातहत सूचीकृत ७० वटा स्वास्थ्य संस्थाले सरकारलाई बुझाएको रिपोर्टअनुसार गर्भपतन गराउने किशोरीको संख्या २४ प्रतिशत रहेको छ ।

‘तर, ठूलो संख्यामा २० वर्षमुनिका किशोरीले निजी क्लिनिक गई गर्भपतन गराउँदै आए पनि औपचारिक तथ्यांक आइसकेको छैन,’ जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका तथ्यांक अधिकृत पुष्कर बिजुक्छेले भने ।

आव ०७३/७४ मा उपत्यकामा १३ हजार ५७ जनाले गर्भपतन गराएका छन् । ‘यो संख्या अत्यन्तै कम हो, बाहिर नखुलेको संख्या धेरै छ,’ बिजुक्छेले भने ।

यस्तो छ परिवार नियोजनको साधन प्रयोग

  • बन्ध्याकरण ४४.२५ प्रतिशत महिला–पुरुष दुवै
  • आयुसिडी १७.४६ प्रतिशत  (१२ वर्ष काम गर्छ)
  • इन्प्लान्ट १३.९७ प्रतिशत ( पाँच वर्ष काम गर्छ)
    डिपो १४.५१ प्रतिशत ( तीन महिना काम गर्छ)
    पिल्स ६.७७ प्रतिशत ( दैनिक प्रयोग गर्नुपर्छ)
    कन्डम ३.०१ प्रतिशत ( यौन सम्पर्कका वेला)

गर्भपतन गराउनेको स्वास्थ्यमा धेरै समस्या

कम उमेरमा गर्भपतन गराउनेमा स्वास्थ्य समस्या बढी देखिएको छ । गर्भपतन गराएपछि पुनः समस्या भएर उपचारका लागि स्वास्थ्य संस्थामा आउनेको संख्या धेरै छ । आव ०७१/७२ मा १४५, ०७२/७३ मा २६ प्रतिशत र ०७३/७४ मा २४५ किशोरी गर्भपतनपछि समस्या लिएर उपचारका लागि अस्पताल जाने गरेका छन् ।

  • आजको नयाँ पत्रिकामा अर्जुन अधिकारीको समाचार छ
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *