अञ्चल अस्पतालका चिकित्सक क्लिनिकमुखी भएको आरोप

भद्रपुर, १३ मंसिर । मेची अञ्चल अस्पताल भद्रपुरमा सरकारले गरेको लगानीअनुरुप नागरिकलाई सेवा दिन नसकेको स्थानीय सेवाग्राहीले दुःखेसो पोखेका छन् ।उनीहरुले अस्पतालमा कार्यरत चिकित्सक अस्पतालमुखी नभएर निजी क्लिनिकमुखी भएको आरोप लगाएका छन् ।

भद्रपुर जेसीजको संयोजनमा मंगलबार भद्रपुरमा अञ्चल अस्पताल प्रशासनसँग गरिएको नागरिक अन्तरक्रिया कार्यक्रममा सहभागीले यस्तो आरोप लगाएका हुन् ।

उनीहरुले सरकारी चिकित्सकले अस्पतालमा दिनुपर्ने सेवा र समय नदिएर निजी क्लिनिकमा दिने गरेको कारण सरकारी अस्पतालको सेवामा गुणस्तर बढ्न नसकेको बताए । अन्तरक्रियामा सहभागी एक सुदीप अधिकारी भन्छन्, राज्यबाट लिइने सुविधा चिकित्सकले दुरुपयोग गर्ने कारणले अस्पतालको विश्वासनीयता र मर्यादा बढ्न नसकेको हो ।

अन्तरक्रिया कार्यक्रममा सहभागीले सुधारको चरणमा अस्पताल आइपुगे पनि नागरिक सेवामा सरकारी लगानीअनुरुप काम हुन नसकेको गुनासो गरेका थिए ।

सहभागीले विपन्न वर्गको पहुँचमा अस्पतालको सेवा आउन नसकेको, डाक्टर निजी अस्पतालमुखी भएको, प्रशासनमा जनमैत्री सेवा अभाव भएको, राजनीतिक पहुँच र जातीय, क्षेत्रीय संकुचमा अस्पताल प्रशासन अल्मलिएको स्थानीयवासीको आरोप थियो ।

कार्यक्रममा अस्पतालको विगत र वर्तमान अवस्थाबारे मेडिकल सुपरिटेण्डन डा पीताम्बर ठाकुरले कार्यपत्र पेश गर्दै २२ जना विशेषज्ञसहितको दरबन्दी रहेको अस्पतालमा १२ वटा पद खाली रहेकाले सेवा दिन समस्या परेको प्रष्ट पारे ।यद्धपी सहभागीहरुले डा ठाकुरको फितलो प्रशासनका कारण सेवाग्राही मर्कामा परेको दावी गरे ।

अस्पताल विकास समितिका अध्यक्ष राम कट्टेलले अस्पताल जनताको सेवामा समर्पित रहेको बताए । कार्यक्रम भद्रपुर जेसीजका अध्यक्ष प्रकाश भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *