एमबीबीएस प्रवेश परीक्षाको मिति सार्वजनिक गर्न स्ववियूको ४८ घण्टे अल्टिमेटम

काठमाडौँ, १ मंसिर । महाराजगञ्ज मेडिकल क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियन( स्ववियू)ले गत २८ असोजमा भएको एमबीबीएस प्रवेश परीक्षा खारेज गरी नयाँ परीक्षाको मिति सार्वजनिक गर्न आइओएम समक्ष ४८ घण्टे अल्टिमेटम दिएको छ । स्ववियूले ४८ घण्टा भित्र परीक्षाको मिति सार्वजनिक नगरे पदाधिकारीको राजिनामा सहित तालाबन्दीमा उत्रने चेतावनी दिएको छ ।

स्ववियू अध्यक्ष डा मिलन गैरेद्धारा आज अपरान्ह जारी विज्ञप्तीमा परीक्षाको बास्तविकता छानवीन गर्न गठित समितिले प्रश्न पत्र बाहिरिएको र परीक्षा अमर्यादित भएको निस्कर्ष निकालिसकेको र त्रिवि कार्यकारीले निर्णय गर्ने जिम्मा आईओएमलाई दिइसकेको अवस्थामा निर्णय लिन आलटाल भएको उल्लेख छ ।

स्ववियूले तत्काल मिति सार्वजनिक गर्न र नयाँ परीक्षामा ज्यामर अनिवार्य रुपमा प्रयोग गर्न, मेटल डिटेक्टर सबै परीक्षा केन्द्रमा प्रयोग गर्न, बायोमेट्रिक प्रणाली सञ्चालनमा ल्याउन, सीसीटिभि भएको स्थानमा परीक्षा केन्द्र बनाउन, मल्टिपल एन्सर भएको प्रश्न बनाउन र पुन परीक्षामा कुनै पनि किसिमको शुल्क लिन नपाइने गरी ६ वटा माग अघि सारेको छ ।

आइओएमले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन् । त्रिवि कार्यकारीले प्रश्नपत्र बाहिरिएको निस्कर्ष सहित आवश्यक निर्णय लिन आइओएमलाई निर्देशन दिएपनि आइओएमको प्राध्यापक संघले पुन परीक्षा लिने निर्णय नगर्न चेतावनी दिदै आएको छ । उसले पुन परीक्षाको घोषणा गरे सबै पदाधिकारीले राजिनामा दिनुपर्ने माग अघि सारेको छ ।

विद्यार्थी, प्राध्यापक र त्रिवि कार्यकारीको त्रिपक्षीय चपेटामा परेका डीन प्राडा जगदीश अग्रवालले अहिले डा गोविन्द केसी समूहसंग सल्लाह गरिरहेको बुझिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *