छानवीन समितिको प्रतिवेदन मंगलबार आउँदै

काठमाडौँ, २६ कात्तिक । विवादमा परेको एमबीबीएस प्रवेश परीक्षाको विषयमा छानवीन गर्न गठित समितिले आफ्नो प्रतिवेदन मंगलबार (भोली) त्रिभुवन विश्वविद्यालयका पदाधिकारी समक्ष बुझाउने भएको छ ।

सोही प्रतिवेदनको आधारमा त्रिविले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)लाई पुन परीक्षा लिनु वा नलिनु भनेर निर्देशन दिने बुझिएको छ ।

त्रिविद्धारा गठित छानवीन समितिका संयोजक प्राडा चिन्तामणी पोखरेलले अनुसन्धान प्रतिवेदन भोलि ( मंगलबार ) बुझाउँने बताए । ‘हामीले आजै बुझाउँदै थियौँ तर एक जना सदस्यको आकस्मिक रुपमा उपत्यका बाहिर जानुपर्ने अवस्था आयो । त्यसकारणले आज बुझाउने भनेको कार्यक्रम स्थगित भयो । प्रतिवेदन भोलि बुझाइदै छ,’ उनले भने ।

त्रिविले प्राडा पोखरेलको संयोजकत्वमा ६ सदस्यीय छानवीन समिति गठन गरेको थियो । प्राडा पोखरेलले प्रश्न पत्र आफूहरुको अनुसन्धान प्रश्नपत्र बाहिरिएको हो वा होइन भन्ने बारेमा केन्द्रीत रहेको बताए । ‘हामीले सबै कोणबाट अनुसन्धान गरेका छौँ । निस्कर्ष चाहि भोलिनै थाहा होला अहिले भन्न मिल्दैन,’ नेपाली हेल्थसंगको कुराकानीमा उनले भने ।

यता पुन परीक्षाको माग गर्दै परीक्षामा सहभागी विद्यार्थीहरु आइओएम कार्यालय आइ दिनहुँ प्रदर्शन गरिरहेका छन् । उनीहरुको माग र प्रदर्शनमा महाराजगञ्ज मेडिकल क्याम्पसको स्ववियूले समर्थन जनाएको छ ।

यता विवादित प्रवेश परीक्षाको शुरु देखि नै अनुसन्धान गरेको प्रहरीको अपराध अनुसन्धान महाशाखाले प्रतिवेदन सार्वजनिक नगरे पनि प्रश्न पत्र बाहिरिएको निस्कर्ष निकालेको बुझिएको छ । अनुसन्धानमा सहभागी सहभागी अधिकारीहरुले त्रिवि तथा आइओएमका पदाधिकारीहरुलाई त्यसबारे बताइसकेको जानकारी दिएका छन् ।

गत २८ असोजको एमबीबीएस प्रवेश परीक्षामा सहभागी केही विद्यार्थीहरुले विशेष किसिमको इलेक्टोनिक डिभाइस प्रयोग गरी परीक्षा दिइरहेको फेला परेपछि विवाद सतहमा आएको हो । त्यसबेला परीक्षा दिएका, त्यसरी परीक्षा दिलाउन लगाएका गरी करीब डेढ दर्जन विद्यार्थी तथा सहयोगीहरु पक्राउ परेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *