अधिकृतलाई सहायकस्तरमा झार्न खोजिएको भन्दै स्वास्थ्यकर्मीको विरोध

काठमाडौँ, २४ कात्तिक । स्वास्थ्य सेवा ऐनले अधिकृत मानेको छैटौँ तहलाई कर्मचारी समायोजन नियमावलीले सहायक अधिकृत बनाउन खोजेको भन्दै स्वास्थ्यकर्मीहरुले आपत्ति जनाएका छन् । उनीहरुले ऐन विपरित अधिकृतबाट घटुवा गर्ने कर्मचारी समायोजन नियमवाली प्रस्ताव खारेज गर्न माग गरेका छन् ।

सामान्य प्रशासन मन्त्रालयले तयार पारेको कर्मचारी समायोजन नियमावली २०७४को मस्यौँदामा स्थानीय स्तरमा काम गर्ने स्वास्थ्य तथा निजामतीका कर्मचारीको पद सातौँ तहलाई अधिकृत र सो भन्दा मुनिको अर्थात छैटौँ तहलाई सहायकस्तर अधिकृत पदनाम दिने प्रस्ताव गरेको छ ।

स्वास्थ्यकर्मीहरुले स्वास्थ्य सेवा ऐन २०५३ ले छैटौँ तहलाई स्पष्ट रुपमा अधिकृत स्तर निर्धारण गरेको भन्दै ऐनमा नभएको कुरालाई नियमावलीले काट्न नसक्ने बताएका छन् । उनीहरुले प्रस्तावित नियमावलीको मस्यौँदा खारेज हुनुपर्ने माग गरेका छन् ।

नेपाल स्वास्थ्यकर्मी संघका सह अध्यक्ष ओम उपाध्यायले स्वास्थ्य सेवा ऐनको दफा ३ र ४ मा स्वास्थ्यकर्मीको तह र स्तरका बारेमा स्पष्ट उल्लेख गरेको भन्दै ऐनसंग बाँझिएको नियमावली स्वतः खारेज हुने बताए । उनले समायोजन नियमावली बनाउँदा स्वास्थ्य र सामान्य प्रशासन मन्त्रालयका विज्ञ प्रशासकहरुले ध्यान दिन जरुरी रहेको बताए ।

‘समायोजनको नाममा अहिले जानाजान जुन खालको हरकत गर्न खोजिदैछ यो हाम्रा लागि सहिय कुरा होइन । र यसो गर्न ऐनले समेत दिदैन् । त्यसैले यो प्रस्ताव तत्काल खारेजी गर्नुपर्छ । यसो भएन भने सबै ट्रेड युनियनहरु आन्दोलनमा उत्रने छन् त्यसको जिम्मा सरकारले लिनुपर्नेछ,’ उनले भने ।

यता स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासन महाशाखाका उपसचिव बाबुराम खनालले समायोजन सम्वन्धी नियमावलीको  मस्यौँदा सामान्य प्रशासन मन्त्रालयले बनाएर पठाएको बताए । ‘कतिपय साथीहरुले स्वास्थ्यको सल्लाहमा यस्तो आयो भन्नु भएको रहेछ । त्यो होइन अहिले यो सबै सामान्यले बनाएको हो । हामीसंग त गत शुक्रबार मात्रै यसबारेमा छलफल गरेको थियो । यसमा हामीले स्वास्थ्यका ट्रेड युनियनहरुको धारणा र सुझाव मागिसकेका छौँ,’ उनले भने ।

उपसचिव खनालले नयाँ प्रस्तावमा भइरहेका अधिकृतलाई यथावत र नयाँ आउनेलाई सहायक स्तर बनाउन खोजिएको स्पष्ट पारे । उनले स्वास्थ्यका ट्रेड युनियनले सम्भवत आज यहि विषयमा सुझाव उपलव्ध गराउने भन्दै त्यसपछि मात्रै समायोजन नियमावलीले पूर्णता पाउने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “अधिकृतलाई सहायकस्तरमा झार्न खोजिएको भन्दै स्वास्थ्यकर्मीको विरोध

Leave a Reply to chang Cancel reply

Your email address will not be published. Required fields are marked *