एक नेपाली युवा डाक्टर : जसले उडिरहेको प्लेनमै उपचार गरि बचाए एक विदेशीको ज्यान

काठमाडौँ, २२ कात्तिक । हवाइजहाजमा ३५ हजार फिट माथि उडिरहेकका बेला गम्भीर हार्ट एट्याक (हृदयघात)मा परेका एक विदेशी नागरिकको सोही जहाजमा यात्रा गरेका एक नेपाली डाक्टरले उपचार गरि बचाएका छन् । समाचार गत विहीबारको हो ।

इजिप्टको अलेकजेन्ड्रिया इन्टरनेशनल एयरपोर्टबाट युएईको सारजाहका लागि उडेको एयर अरेवियाका पाइलटले ४५ मिनेट पछि नै विमानभित्र ‘एनाउन्स’ गरे, ‘यात्रामा रहनुभएका मध्ये, कोही डाक्टर नर्स वा प्यारामेडिक्स हुनुहुन्छ कि?” एनाउन्स’मा एक यात्रुको स्वास्थ्यमा खराबी आएको बताइएको थियो ।

एक साता लामो इजिप्ट भ्रमण सकेर नेपाल फर्कदै गरेका डा. रविन्द्र बास्कोटाले क्रियू मेम्बरसंग आफू चिकित्सक भएको जानकारी गराईहाले । उनीहरुले तत्काल एक बृद्ध यात्रुको स्वास्थ्य अवस्था विग्रिएको भन्दै हेरिदिन आग्रह गरे । डा. रविन्द्र तत्कालै यात्रु भएको ठाँउमा पुगे र अवस्था बुझे ।  त्यसपछि के के भयो ? डा. बास्कोटाकै भनाईमा…..

…. यो घटना गत विहीबारको हो । इजिप्ट घुम्न गएका हामी १२ जना नेपालीको टोली एक साता लामो होलिडे प्याकेज सकेर स्वदेश फर्कदै थियौँ । ट्रान्जिट युएइको सारजाह अन्तराष्ट्र्रिय विमानस्थल थियो ।

इजिप्टको अलेकजेन्ड्रिया एयरपोर्टबाट विहान १ बजे हामी सवार एयर अरेबियाको जहाजमा ४५ मिनेट पछि ‘एनाउन्स’भयो, ‘यात्रुहरुमध्ये कोही चिकित्सक नर्स वा प्यारामेडिक्स हुनुहुन्छ कि ? हुनुहुन्छ भने कृपया हाम्रा क्रु मेम्वरसंग सम्पर्क गर्नुहोला ।’

यो ‘एनाउन्स’ सुन्ने वित्तिकै मैले क्रु मेम्बरलाई आफू डाक्टर रहेको जानकारी गराएँ । म संग परिचय पत्र पनि थियो त्यो देखाएँ । उनीहरुले विरामी यात्रु भएतिर दौडाए । गएर हेरेँ करीब ६० बर्षको इजिष्ट अरेवियन नागरिक रहेछन् । एकदमै स्वास फेर्न गाह्रो भएको थियो । हातखुट्टा र शरीर निलो हुँदै गएको थियो ।

मैले तत्काल हिस्ट्री लिन खोजे तर उनी आफै गलेका थिए । अर्को समस्या भाषाको समस्या परयो । उनी अंग्रेजी नजान्ने  मैले अरबी नबुझ्ने । तर क्रु मेम्बरको सहायताले काम चलाएँ ।

सबै बुझ्दैजाँदा उनी गम्भीर हृदयघातको समस्यामा परेको पत्ता लाग्यो । मैले तत्काल क्रु मेम्बरलाई विरामीको लागि अक्सिजन आवश्यक रहेको बताएँ । उनीहरुसंग इमरजेन्सी किटमा त्यो रहेछ । ल्याइदिए । मैले अक्सिजन लगाइदिएँ ।

त्यसपछि हृदयघातका बेला अर्को महत्वपूर्ण भनेको ‘एस्पीरिन’ नामक औषधि थियो । मैले इमरजेन्सी बक्समा केही औषधि भएको जानकारी पाएँ । आफै गएर हेरेँ । एस्पीरिन औषधि पनि रहेछ । त्यो खान दिइहाले ।

केही समय पछि विरामीलाई सुधार हुँदै गयो । यसबीचमा पाइलट र अन्य क्रु मेम्बरले म संग विरामीको अवस्थाको बारेमा जानकारी लिइरहेका थिए । उनीहरुले प्लेन डाइभर्ट गर्नुपर्ने अथवा के गर्ने भनेर सल्लाह लिइसकेका थिए । मैले समयमै डाइग्नोस भएको र आवश्यक औषधि समेत पाएकोले विरामी सुरक्षित रहेको र प्लेन डाइभर्ट गर्न नपर्ने जानकारी दिएँ ।  करीब ४ घण्टाको सो प्लाइटमा उनी विरामी भएपछिको सबा तीन घण्टा म उनै विरामीसंगै बसेर सारजाहसम्म आइपुगेँ ।

सारजाह एयरपोर्टमा विमानभित्रको विरामीको बारेमा अलर्ट गराइसकेको रहेछ । तत्काल एम्बुलेन्स र डाक्टरको टोली आयो र उनको रेस्क्यु गरयो । जाने बेलामा उनले आँशु खसालेर धन्यवाद दिए ।

एयर अरेवियाका पाइलट सहितका सबै क्रु मेम्बरले एक यात्रुको ज्यान जोगाएको भन्दै धन्यवाद दिए । साथै मसंगै गएका साथी र परिवारले समेत एउटा अपरिचित ठाँउको अपरिचित व्यक्तिको यसरी ज्यान बचाएको भन्दै बधाई दिए ।

म खासमा डर्माटोलोजिष्ट हुँ । डर्माटोलोजिमा बीर अस्पतालबाट एमडी गरेको हुँ । एमबीबीएस मैले कलेज अफ मेडिकल साइन्सेज भरतपुरबाट सक्याएको हुँ । डर्माटोलोजिष्ट भएपनि मैले बीर अस्पतालबाट एडभान्स कार्डियाक लाइफ सपोर्टको तालिम लिएको थिएँ । त्यहि तालिमले गर्दा मैले शुरुमै केश पत्ता लगाउँन सफल भएँ ।

अर्कोकुरा हर्ट एट्याक भएका बेला तत्काल उपचार अर्थात एक घण्टा भित्र ‘गोल्नेड आवर’ भनिन्छ । त्यसबीचमा पत्ता लागि उपचार समेत भएको हुनाले ती व्यक्तिको ज्यान बच्यो । अहिले म स्वास्थ्य सेवा विभाग कुष्टरोग नियन्त्रण केन्द्रमा कार्यरत छु ।

# डा. बास्कोटासंग नेपाली हेल्थका रामप्रसाद न्यौपानेले गरेको कुराकानी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *