विपन्नको सहयोगी बन्दै भरतपुरको पुरानो मेडिकल कलेज

चितवन १९ कात्तिक । विपन्न नागरिकका लागि सरकारले तोकेको आठ मध्ये सात वटा कडा रोगको उपचार सहुलियत अव भरतपुरस्थि पुरानो मेडिकल कलेज शिक्षण अस्पतालबाट पनि उपलव्ध हुने भएको छ ।

सरकारले दिने आठवटा कडारोगमध्ये मध्ये सातवटा रोगको उपचार गर्न अस्पताल सूचिकृत भएपछि विपन्नले सहुलियत कोटामा उपचार गर्ने सुविधा पाउने भएका हुन् ।

अस्पतालका बरिष्ठ जनसम्पर्क अधिकृत दुर्गाप्रसाद न्यौपानेले विपन्नका लागि सरकारले तोकेको मध्ये क्यान्सर बाहेक अरु रोगको उपचारका लागि अस्पताल सूचिकृत भएको बताए ।

उनले विपन्नताको सिफारिस लिएर आएका विरामीले अस्पतालबाट मुटुरोग अल्जाइमर्स, पार्किन्सस, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमियाको उपचार गराउँदा एक लाख रुपैयाँसम्मको उपचार सहुलियत पाउने बताए । सोही प्रकृतिका मिर्गौला विरामीहरुले भने हेमोडायलासिस सेवा भने आजिवन लिन सक्नेछन् ।

न्यौपानेले उपचार सुविधा लिनका लागि सेवाग्राहीले स्थायी बसोबास भएको स्थानीय निकायबाट विपन्नताको शिफारिस लिइ अन्य आवश्यक कागजात सहित जिल्ला जनस्वास्थ्य कार्यलयमा गई जिल्ला स्तरीय शिफािरस पत्र लिई अस्पतालमा आउनुपर्ने बताए ।

स्वास्थ्य बीमाका सदस्यको उपचार र निशुल्क डट्स कार्यक्रम 

विगत २३ बर्ष देखि स्वास्थ्य सेवा दिदै आएको अस्पतालले यतिवेला विपन्नको उपचार गर्ने मात्रै होइन स्वास्थ्य बीमा आवद्ध व्यक्तिको उपचार तथा क्षयरोग लागेको व्यक्तिका लागि निशुल्क डट्स उपचार कार्यक्रम समेत सुरु गरेको छ ।

न्यौपाने भन्छन्, ‘निशुल्क डट्स कार्यक्रम पहिले देखि नै थियो । गत असारबाट चितवनमा स्वास्थ्य बीमा कार्यक्रम शुरु भएपछि त्यसको विमितहरुको उपचार गर्ने अस्पतालको रुपमा पनि हामी सूचीकृत भएका छौँ ।’

स्वास्थ्य बीमा कार्यक्रममा सरकारले प्रतिपरिवार (५ जना)को बार्षिक २ हजार ५ सय रुपैयाँ प्रिमियम लिएर बार्षिक ५० हजार रुपैयासम्मको उपचार सहुलियत दिने गरेको छ ।

‘पुरानो अस्पताल हो, साधनस्रोत सम्पन्न छौँ र स्तरीय सेवा दिन्छौँ’

२३ बर्ष अघि स्थापित यस अस्पतालको नाम  कलेज अफ मेडिकल साइन्सेज टिचिङ हस्पिटल भएपनि अधिकांश यसलाई पुरानो मेडिकल कलेजको रुपमा चिन्ने गर्दछन् ।

‘गुणस्तरीय उपचार हुने कुरामा दुई मत छैन । किनभने हामीकहाँ जति विशेषज्ञ डाक्टर र साधनस्रोतको उपलव्धता अरु मेडिकल कलेजमा सायद छैन,’न्यौपानेले भने ।

काठमाडौँ उपत्यका बाहिर थ्रि टेस्ला क्षमताको एमआरआई सुविधा हुने एक मात्र अस्पताल पुरानो मेडिकल कलेज शिक्षण अस्पताल भन्दै उनले गुणस्तरीय उपचारका लागि १६७ स्लाइस क्षमताको सिटिस्क्यान तथा डिजिटल एक्सरे अनि यूएसजी सेवा समेत उपलव्ध भएको बताए ।

उनले आफ्नो अस्पतालमा अन्तराष्ट्रिय प्र्रविधियुक्त भेन्टिलेटर सहितको अत्याधुनिक आइसियु, एचडीयु, एनआईसियु, पीआईसीयु तथा अप्रेशन थिएटर रहेको भन्दै विरामीलाई सहुलियतका लागि आफ्नै फार्मेसी समेत सञ्चालनमा आएको बताए ।

न्यौपानेले उपत्यका बाहिरको पहिलो ट्रमा सेन्टरको रुपमा परिचित यस अस्पतालले ट्राफिकसंग मिलेर सडक दुर्घटना न्युनिकरण कार्यक्रम, निशुल्क स्वास्थ्य शिविर,विभिन्न स्कुलहरुमा प्राथमिक उपचार तालिम तथा सामग्रीहरुको वितरण जस्ता सामाजिक उत्तरदायित्व बहन गर्ने गरेको बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “विपन्नको सहयोगी बन्दै भरतपुरको पुरानो मेडिकल कलेज

Leave a Reply

Your email address will not be published. Required fields are marked *