बर्तमान र पूर्व स्वास्थ्य मन्त्रीहरु बने उम्मेद्धवार, को – कहाँबाट ?

काठमाडौँ, १६ कात्तिक । आगामी २१ मंसिरमा हुने प्रतिनिधी सभा सदस्यका निर्वाचनका लागि बहालवाला तथा पूर्व गरी नौ जना स्वास्थ्य मन्त्रीले उम्मेदवारी दिएका छन् ।उनीहरु सबैले आफ्नो क्षेत्रका लागि बलियो उम्मेदवार आफू मात्रै रहेको भन्दै जीत सुनिश्चित भएको दावी गरेका छन् ।

दीपक बोहरा (स्वास्थ्य मन्त्री) : बहालवाला स्वास्थ्य मन्त्री दीपक बोहोराले रुपन्देही – ३ बाट उम्मेद्धारी दर्ता गराएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी लोकतान्त्रिकका नेता बोहराको प्रतिस्पर्धा एमाले उपमहासचिव घनश्याम भुसालसंग हुनेछ । भुसाल सोही क्षेत्रबाट बाम गठबन्धनको तर्फबाट उम्मेद्धार बनेका छन् । त्यसो त मन्त्री बोहोरालाई सो क्षेत्रमा नेपाली कांग्रेसले सघाउने छ । मन्त्री बोहोराका प्रेस सल्लाहकार युवराज घिमिरेले लोकतान्त्रिक गठवन्धनको तर्फबाट बोहरा उठेको भन्दै नेपाली कांगे्रस र राप्रपाको साझा उम्मेद्धवार भएको बताए ।

गिरिराजमणि पोखरेल ( विनाविभागीय -पूर्व स्वास्थ्यमन्त्री ) : भर्खरैमात्र स्वास्थ्यबाट जिम्मेबारी खोसी विना विभागीय बनाइएका अर्का मन्त्री गिरिराजमणि पोखरेलले महोत्तरी क्षेत्र नं – १ बाट उम्मेदवारी दिएका छन् । नेकपा माओवादी केन्द्रका नेता पोखरेल अहिले बाम गठबन्धनको तर्फबाट सो क्षेत्रमा उम्मेद्धवारी दिएका हुन् । उनी सो क्षेत्रबाट २०६४ र २०७० सालको निर्वाचनमा अत्यधिक मतका साथ विजयी भएका थिए ।

गगन थापा (पूर्व स्वास्थ्य मन्त्री ) : नेपाली कांग्रेसका प्रभावसाली नेता पूर्व स्वास्थ्य मन्त्री गगन थापा काठमाडौँ क्षेत्र नं ४ बाट उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसका युवा नेता समेत रहेका थापाले २०७० सालको निर्वाचनमा बर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनलाई भारी मतान्तरले हराएका थिए । यसपटक उनीसंग बाम गठबन्धनका तर्फबाट एमाले युवा नेता राजन भट्टराई प्रतिस्पर्धामा उत्रिदैछन् ।

रामजनम चौधरी (पूर्व स्वास्थ्य मन्त्री ) : पूर्व स्वास्थ्य मन्त्री रामजनम चौधरी कैलाली क्षेत्र नं – ३ बाट उम्मेदवारी दिएका छन् । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता चौधरी केही समय अघि मात्रै आफ्नो पार्टी नेपाली कांग्रेसमा समाहित भएपछि उनी अहिले लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका हुन् । उनीसंग बाम गठबन्धनका तर्फबाट उम्मेद्धार बनेका पूर्व कृषिमन्त्री गौरीशंकर थारु मुख्य प्रतिस्पर्धा हुने अनुमान छ ।

खगराज अधिकारी (पूर्व स्वास्थ्य मन्त्री ) : स्वं सुशील कोइराला नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री बनेका एमाले नेता खगराज अधिकारी यसपटक कास्की क्षेत्र नं – १ बाट बाम गठबन्धनको नेतृत्व गर्दै उम्मेदवारी दिएका छन् । उनीसंग नेपालीकांग्रेसका नेता एवं बहालवाला कानून मन्त्री यज्ञबहादुर थापा भिडदैछन् । अघिल्लो पटक पराजित भएका अधिकारीका लागि यसपटक बाम गठबन्धन सहयोगीसिद्ध हुनसक्छ । तर लोकतान्त्रिक गठबन्धन बनाएको कांग्रेसका बहालवाला मन्त्री थापासंग भिड्न त्यति सजिलो भने नहुने अडकल काटिएको छ ।

राजेन्द्र महतो (पूर्व स्वास्थ्य मन्त्री ) : पटक पटक स्वास्थ्य मन्त्री बनेका राष्ट्रिय जनता पार्टीका नेता धनुषा क्षेत्र नं – ३ बाट उम्मेदवारी दिएका छन् । उनको मुख्य प्रतिस्पर्धा पूर्व गृहमन्त्री समेत रहेका कांग्रेस महामन्त्री विमलेन्द्र निधीसंग हुने बताइएको छ ।

शक्तिबहादुर बस्नेत (पूर्व स्वास्थ्य मन्त्री ) : पूर्व स्वास्थ्य मन्त्री शक्तिबहादुर बस्नेत जाजरकोट क्षेत्र नं – १ बाट बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका छन् । उनको प्रतिस्पर्धा नेपाली कांग्रेसका तर्फबाट उम्मेद्धार बनेका राजिब विक्रम शाहसंग हुनेछ ।

अर्जुन नरसिंह केसी (पूर्व स्वास्थ्य मन्त्री ) : पूर्व स्वास्थ्य मन्त्री एवं नेपाली कांग्रेसका बरिष्ठ नेता अर्नुन नरसिंह केसी नुवाकोट क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका छन् । उनको मुख्य प्रतिस्पर्धा बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमाले नेता नारायणप्रसाद खतिवडासंग हुने देखिएको छ ।

अशोक राई (पूर्व स्वास्थ्य मन्त्री) : संघीय समाजबादी फोरमका नेता अशोक राई पनि पूर्व स्वास्थ्य मन्त्री हुन् । उनी आगामी २१ मंसिरमा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सुनसरी १ बाट उम्मेदवारी दर्ता गराएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *