टाइफाइड रोग के हो ? यसबाट कसरी बच्ने ?

डा. गुप्तबहादुर श्रेष्ठ, बरिष्ठ फिजिसियन

टाइफाइड एक प्रकारको ज्वरो हो । साल्मोनेला समूहको जिवाणु मानव शरीरमा प्रवेश गरेपछि त्यसले टाइफाइड गराउँछ् ।

साल्मोनेला समूहका धेरै खालका जिवाणु हुन्छ तर टाइफाइड भएका विरामीमा बढीमात्रामा साल्मोनेला टाइफाई र प्यारा टाइफाइडका जिवाणुहरु भेटिन्छन् ।

दुषित पानी र खाद्य पदार्थको सेवनबाट लाग्ने यो रोगका जीवाणुहरु प्राय बर्खायाम र गर्मीको समयमा बढी क्रियाशिल हुने गर्छ ।

त्यसैले साउन भदौकोे समय टाइफाइड हुने सबैभन्दा सम्भावित समय हो । तर अरु समयमा पनि यसको प्रभाव पर्ने गरेको देखिन्छ ।

नेपालको सन्दर्भमा हेर्ने हो भने यो रोगबाट बढीमात्रामा १५ वर्षभन्दा कम उमेरका केटाकेटीहरु प्रभावित हुने गरेको देखिएको छ ।

टाइफाइड ज्वरो आएको भनेर कसरी चिन्ने ?

मानिसको शरीरमा हनहनी ज्वरो आउँछ । त्यसबाहेक रिगाटा लाग्ने , वाकवाकी लागि बान्त पनि हुने , शरीर गल्ने, खान मन नलाग्ने हुन्छ । टाइफाइडको औषधी सेवन गरेपनि तीन दिनसम्म ज्वरो घटदैन् ।

त्यसैले ज्वरोआई रहयो र कम भएन भने विरामीले तुरुन्त नजिकको अस्पतालमा गई रगत परीक्षण गर्नुपर्छ । किनकी रगतको परीक्षण विना टाइफाइड नै हो भनेर एकिन गर्न सकिदैन् ।

टाइफाइड लागेमा के गर्ने ?

टाइफाइड लागेको पत्ता लागेपछि मात्रै होइन नलाग्दै पनि केही गर्न सकिन्छ । जस्तै हनहनी ज्वरो आउन थाल्यो भने पानीपट्टी गरेर शरीरमा लगाउन सकिन्छ । कतिपयले ज्वरो आएको भन्ना साथ बाक्लो कपडा ओडेर बस्ने गर्छन तर त्यसरी भन्दा विरामीलाई सकभर खुल्ला ठाउमा पानी पट्टी र सिटामोल मात्रै खुवाएर राख्नु उत्तम हुन्छ ।

त्यसबीचमा परीक्षणको रिपोर्ट आई औषधी चलाउन थालियो भने पनि ज्वरो तत्काल नघटने हुनाले सोही विधि अपनाउनु राम्रो हुन्छ । यसका जिवाणुहरु फोहर पदार्थमा रहने भएकोले दिसा पिसाप गरीसकेपछि राम्ररी सावुनपानीले हात धुने, घरवरपर सफा राख्ने, पानीलाई उमालेर अथवा सकेसम्म फिल्टर गरेर खाने गर्नुपर्छ ।

टाइफाइड लागेका विरामीले खानेकुरा के खाने ?

टाइफाइटले मानिसको आन्द्रामा संक्रमण गर्ने भएकोले भरिसक नरम खाना खानुपर्छ । त्यसपछि प्रसस्त मात्रामा झोल कुरा । गाँउघर शहरबजारमा टाइफाइड लाग्ना साथ जाउलो खानुपर्छ भन्ने चलन छ ।

तर त्यो खान सकिएन भने दालको रसमा भात नै राम्ररी मोलेर खाँदा पनि असर गर्दैन् । किनकी ताजा भात दालमा डुवाएपछि त्यो पनि नरम हुन्छ । प्रसस्त मात्रामा उमालेको वा शुद्ध पानी र दालको रस वा झोलिलो चिज सकेसम्म बढी खानुपर्छ ।

नेपालमा यसको अवस्था कस्तो छ ?

नेपाल टाइफाइडको उच्च जोखिम युक्त मुलुकमा पर्दछ । अझ राजधानी काठमाडौलाई त विश्वस्वास्थ्य संगठनले नै संसारका उच्च जोखिम युक्त शहरहरुको सूचीमा नै राखेको छ । दुषित पानी र अस्वस्थ्यकर खाद्य पदार्थ त्यसको मुख्य कारण हो ।

# बरिष्ठ फिजिसियन डा. श्रेष्ठ चावहिलस्थित हेल्पिङहेण्ड्स सामुदायिक अस्पतालका प्रमुख समेत हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *