औषधिको मूल्य प्रत्येक बर्ष १० प्रतिशत बढाउन छुट

काठमाडौँ, २७ असोज । कानुनन त औषधिको मूल्य बढाउनु परयो भने सरकारले राजपत्रमा सूचना जारी गर्नुपर्छ । तर औषधि व्यवस्था विभागका पदाधिकारीले यसपटक व्यापारीहरुलाई औषधिको मूल्य १० प्रतिशत सम्म बढाउन सक्ने निर्णय गरिदिएका छन् ।

यसले स्वदेशी तथा विदेशबाट आयातित औषधिको मूल्य प्रत्येक बर्ष १० प्रतिशत बैद्यानिक रुपमै बढ्न पाउने बाटो खुलेको छ । यसबाट आम सर्वसाधारणलाई थप मार पर्ने निश्चित छ ।

विभागका पदाधिकारीले यो निर्णय त्यतिवेला गरिदिए जतिवेला औषधिको मूल्य घटाउने विभिन्न अभियान चलाएका तत्कालिन स्वास्थ्यमन्त्री गगन थापा सरकारबाट बाहिरिदै थिए । उनैका पालामा नियुक्त भएका विभागका महानिर्देशक नारायण ढकालले थापा सरकारबाट बाहिरिए लगत्तै औषधिको मूल्य बढाउने विवादास्पद निर्णय कपीमा सही धस्काए ।

गत २५ असारमा भएको  सो निर्णयमा सरकारले खुद्रा मुल्य तोकेका ९६ प्रकारका औषधि बाहेकका अन्य औषधिमा बार्षिक रुपमा १० प्रतिशतसम्म मूल्य बढाउन सक्ने उल्लेख छ । चाहे त्यो स्वदेशी होस या विदेशी कम्पनीका औषधि ।

विभागका महानिर्देशक ढकाल भने औषधिको मूल्य नियन्त्रण गर्न यस्तो निर्णय गरेको दावी गर्छन् । उनि भन्छन्, ‘व्यापारीहरुले बार्षिक रुपमा जतिपनि मूल्य बढाउन थाले, त्यसैले नेपाल सरकारले मूल्य नतोकिसकेका औषधिको हकमा नविकरण गर्न आउँदा १० प्रतिशत बढी मूल्य बढाउन नपाउने व्यवस्था गरिदिएका हौँ ।’ उनले मूल्य घटाउन पूर्वमन्त्री थापाले चलाएको अभियान र आफूले गरेको निर्णय फरक विषय बस्तु भएको दावी गरे ।

तर औषधिविज्ञ तथा उपभोक्ता हीत संरक्षण मञ्चका महासचिव बाबुराम हुमागाईले भने औषधिको मूल्य बढाउने अधिकार विभागका पदाधिकारीलाई नभएको बताउँछन् ।

‘मलाई यस्तो निर्णय भएको भन्ने बारेमा थाह थिएन । तर यदि यस्तो भएको हो भने त्यो सरासर गलत हो । औषधिको मूल्य बढाउने तथा तोक्ने काम सरकारको हो विभागका पदाधिकारीको होइन,’  हुमागाईले भने। उनले औषधिको मूल्य बढ्ने मात्रै नभई घटने पनि हुने भन्दै यस विषयलाई आफूहरुले बुझ्ने बताए ।

औषधि व्यवसायी संघका केन्द्रीय अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले १० प्रतिशत मूल्य बढाउन सक्ने निर्णय आफूहरुलाई अमान्य भएको बताए । ‘कतिपय अवस्थामा औषधिको मूल्य बढी पनि हुनसक्छ । कतिपयमा कम पनि हुनसक्छ । यसरी १० प्रतिशत नै भनेर तोक्ने अधिकार विभागलाई छैन यसमा हाम्रो आपत्ती छ’ श्रेष्ठको प्रतिक्रिया थियो ।

विभागले गरेको निर्णयमा उत्पादन गर्ने कम्पनीको मूल्य सूचि मगाउने र त्यहि अनुसार निर्णय गर्ने समेत उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “औषधिको मूल्य प्रत्येक बर्ष १० प्रतिशत बढाउन छुट

  1. Humagain sir,
    Vivadaspad statement pravaah garnu bhanda agaadi,DG sanga sampark garnu,yaso khali media ma aaune kaam na garna haardik anurodh cha .

Leave a Reply

Your email address will not be published. Required fields are marked *