जुम्लामा १४५ गर्भवती महिला पोषण सुरक्षा निगरानीमा

( शुरबहादुर सिंह )जुम्ला, २६ असोज । ‘सुनौला हजार दिन’ सञ्चार अभियानअन्तर्गत जुम्लामा साबिकका १० गाविसका १४५ गर्भवती महिलालाई पोषण सुरक्षाको प्रत्यक्ष निगरानीमा राखिएको छ ।

महिलामा गर्भ रहेदेखि बच्चा दुई वर्षको हुञ्जेलसम्मको अवस्थालाई सुरक्षित बनाउन पोषण सुरक्षामा विशेष ध्यान दिन थालिएको हो ।
महिला गर्भवती हुँदा उसले नौ महिनासम्म लगाउनुपर्ने चारवटा खोप, खोप लगाउने समय, खानुपर्ने पौष्टिक आहार, परिवारले पूरा गर्नुपर्ने दायित्व, सुरक्षित सुत्केरी गर्न अपनाउनुपर्ने विधि र आइरन चक्की प्रयोगका बारेमा जानकारी दिन १० गाविसका १४५ गर्भवतीसंग भेटघाट गर्ने तालिका बनाइएको सञ्चार अभियानका जिल्ला संयोजक धर्मराज शाहीले जानकारी दिए ।

उनले भने, “हामीले आमा समूह र महिला स्वयम्सेविकामार्फत महिला गर्भवती भएदेखि बच्चा दुई वर्ष नहुञ्जेलसम्मका आमालाई ‘हरेक बार, खाना चार’सँग सम्बन्धित पोषक तत्वयुक्त खानेकुरा खान सिकाएका छौँ ।”स्थानीयस्तरमा उपलब्ध खाद्यवस्तुको अधिकतम प्रयोग गर्नेतर्फ पनि जोड दिइएको उनको भनाइ छ ।

दुर्गम र पिछडिएका क्षेत्रको मातृशिशुको स्वास्थ्यमा सुधार ल्याउन जिल्लामा सुनौला हजार दिन सञ्चार अभियान सञ्चालनको समयावधि एक वर्ष पूरा भएको छ । उनका अनुसार नेपालका ६ जिल्लाका ७५ साबिकका गाविसमा सुनौला हजार दिन सघन कार्यक्रम लागू गरिएको थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य प्रमुख अंगदबहादुर शाहीले दिगो विकास लक्ष्य पूरा गर्न र जनताको स्वास्थ्यमा उल्लेख्य सुधार ल्याउन यो कार्यक्रम लागू भएको जनाए । महिला र बालबालिकाको कमजोर स्वास्थ्यले सिंगो मुलुकको विकासमा नै बाधा पार्ने भएकाले सरकारले बहुक्षेत्रीय पोषण योजनालाई २०६९ बाट विषयगत मन्त्रालयबाट कार्यान्वयनमा ल्याइएको र सुनौला हजार दिन कार्यक्रमसँग सञ्चार तथा पोषण दुवै पक्ष जोडिएकाले बिस्तारै यसको प्रभाव स्थानीयस्तरमा पर्दै गएको स्वास्थ्य प्रमुख शाहीको भनाइ थियो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका सम्पर्क व्यक्ति किरण शर्माले यो कार्यक्रमबाट समुदायको व्यवहारमा परिवर्तन आएको बताए । “स्थानीयस्तरमै सर्वोत्तम पीठो निर्माणदेखि विभिन्न परिकार अहिले गाउँमै बन्छन्,” उनले भने। गर्भावास्थादेखि बच्चा दुई वर्ष नपुगेसम्म उसको ८० प्रतिशत दिमागको विकास हुने भएकाले यसलाई प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाउँदा यसको प्रभावकारितामा बढेको उनको भनाइ छ । सञ्चार अभियान साबिकका छुमचौर, गज्र्याङ्कोट, तलिउम, तातोपानी, कुडारी, रारालिही, घोडेमहादेव, महावैपाथरखोला, कालिकाखेतु र बड्की गाविसमा सञ्चालित छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *