स्वास्थ्य बीमा विधेयक पास हुनु महत्वपूर्ण उपलव्धी : स्वास्थ्य मन्त्री पोखरेल

काठमाडौँ, २६ असोज । स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले संसदबाट स्वास्थ्य बीमा विधेयक पास हुनु स्वास्थ्य क्षेत्रका लागि महत्वपूर्ण उपलव्धी भएको बताएका छन् ।

उनले पास भएका विधेयकलाई बाँकी प्रकियामा ढिला नगराई ऐनको रुपमा सकेसम्म छिटो कार्यान्वयनमा ल्याउने बताएका छन् ।

संसदबाट विधेयक पारित भएको अवसरमा सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले बुधबार आयोजना गरेको कार्यक्रममा मन्त्री पोखरेलले स्वास्थ्य सेवा पाउने जनताको अधिकार अब सुनिश्चित हुने दावी गरे । उनले भने, ‘ऐन पूर्ण नहुन सक्छ तर आयो अब यसलाई आवश्यकता अनुसार परिमार्जन गर्दै लैजान सकिन्छ । ऐन आउनु ठूलो कुरा हो ।’

स्वास्थ्य मन्त्रालयको जिम्मेबारी तेस्रो पटक सम्हालेका पोखरेलले यसपटक मन्त्री भएको ७४ औँ दिनमा आइपुग्दा दुईवटा महत्वपूर्ण ऐन ल्याउन सफल भएको भन्दै आफूलाई समेत सन्तोष मिलेको बताए ।

‘यसपटक शुरु देखि नै अलमल जस्तो भएको थियो । म आउँदा डा केसीको आन्दोलन थियो । त्यसमा भुल्नु परयो । त्यसपछि तराईँमा बाढी भयो त्यता भुल्नुपरयो । आफैलाई सन्चो भएन, त्यसपछि चुनाव भयो । यसले गर्दा मै आफैलाई यसपटक अलिक नै भएन कि भन्ने लाग्दथ्यो । तर हिजो राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक र स्वास्थ्य बीमा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक पास भयो । यसले राहत दिएको छ ।’
मन्त्री पोखरेलले गठन आदेशको भरमा चलेको कार्यक्रम अब ऐनबाट चल्ने बताए ।

बीमाका मुख्य पाँच बुधा प्रस्तुत गर्दै, सेना प्रहरी तथा निजामति क्षेत्रबाट बीमा कार्यक्रम अघि बढाउन सहयोग मिलेको बताए ।
उनले नसर्ने रोग धान्न नसक्ने गरी देखापरेकाले बीमाले यसलाई न्यून गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे । सो अबसरमा मन्त्री पोखरेलले बीमा ऐनका लागि कार्यको थालनी गर्ने पूर्व स्वास्थ्य मन्त्रीहरु खगराज अधिकारी, रामजनम चौधरी र गगन थापालाई धन्यवाद दिएका थिए ।

सो अबसरमा बोल्दै सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा.  गुणराज लोहनीले बीमा कार्यक्रम शुरु भएको करीब डेढ बर्षमा ऐन आउने चरणमा पुगेको भन्दै कार्यक्रमले अब गति लिने बताए । उनले अहिलेसम्म २२ वटा जिल्लामा यो कार्यक्रम लागू भएको भन्दै थप जिल्लामा क्रमश कार्यक्रम अघि बढदै जाने बताए ।

डा. लोहनीले हालसम्म बीमा कार्यक्रममा २ लाख ४० हजार बढी सदस्य भएको र ८० हजार बढीले बीमा मार्फत उपचार सेवा लिएको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *