जिल्लामा पहिलो पटक आँखाको नानी प्रत्यारोपण र संकलन कार्य शुरु

चितवन, २५ असोज । मेडिकल सिटीका रुपमा विकास हुँदै गएको जिल्लामा आँखाको नानी संकलन र प्रत्यारोपण शुरु गरिएको छ ।

यहाँको भरतपुर आँखा अस्पतालले आँखाको नानी प्रत्यारोपण गरिसकेको छ भने नानी संकलन कार्य यसै साताबाट शुरु गर्नका लागि तयारी गरिरहेको छ ।

नेपाल नेत्रज्योति सङ्घ जिल्ला कार्यवाहक अध्यक्ष कृष्णराज धरेलका अनुसार काठमाडौँस्थित तिलगंगा आँखा अस्पतालमा रहेको नेपाल आँखा बैंकममा यहाँ संकलित आँखाको नानी राख्नका लागि सम्झौता भइसकेको छ । यहाँ संकलन गरिएका नानीलाई तत्काल काठमाडौँ पठाइनेछ भने प्रत्यारोपणका लागि त्यहीँबाट मगाइने उनले बताए । नानी प्रत्यारोपणका लागि एकजना चिकित्सकले भारतको तमिलनाडुस्थित अरविन्द आँखा अस्पतालबाट थप अध्ययन गरेर आइसकेका छन् ।

अर्का एक प्राविधिक तिलगंगा आँखा अस्पताल काठमाडौँमा आँखाको नानी झिक्ने सम्बन्धी तालिम लिएर आइसकेको कार्यबाहक अध्यक्ष धरेलले बताए। नानी संकलनपछि अप्टिसोल मिडिया र कर्नीसोल मिडिया नामक रसायनमा राखेर काठमाडौँ पठाइनेछ । यसरी पठाउँदा नानी बिग्रिदैन । डा पुष्पा गिरी श्रेष्ठका अनुसार हालसम्म अस्पतालमा चार जनाको सफल नानी प्रत्यारोपण भइसकेको छ । आँखाको नानीमा चोटपटक लागेर, दाग देखिएर, फुलो परेर र दृष्टि गुमेको अवस्थामा त्यस्ता व्यक्तिलाई आँखाको नानी प्रत्यारोपण गर्न सकिन्छ । रु ११ हजारमा नानी फेर्न सकिने अस्पतालले जनाएको छ ।

कुनै पनि व्यक्तिको मृत्यु भएको ६/७ घण्टाभित्रमा आँखाको नानी निकाल्न सके उत्तम हुन्छ तर १२ घण्टा सम्मको पनि नानी प्रयोगमा ल्याउन सकिने डा श्रेष्ठले बताए ।

सम्बन्धित मृतकका परिवारको स्वीकृतिमा मात्रै आँखाको नानी निकाल्न सकिने भरतपुर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चिजकुमार मास्कले बताए। अस्पतालले आँखा दान गर्न इच्छुक व्यक्तिलाई आह्वान पनि गरेको छ । आँखा दान गर्न इच्छुक व्यक्तिलाई परिचयपत्र दिइने र तीनको मृत्युभएपछि सम्बन्धित परिवारले अस्पताललाई खबर गर्नुपर्ने हुन्छ । डा श्रेष्ठकाका अनुसार यहाँका अस्पतालसँगै देवघाट धाममा पनि आँखाको नानी संकलनका लागि काम गरिनेछ । नानी संकलन उल्लेख्य भएमा अर्को वर्षबाट यही आँखा बैंक स्थापना गर्न सेवा फाउण्डेशन नामक संस्थाले आवश्यक उपकरण उपलब्ध गराउन आश्वासन दिइसकेको उनले बताए ।रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *