डिप्रेसन अर्थात ‘दिग्दारी रोग’

– प्राडा सरोजप्रसाद ओझा, मानसिक रोग विशेषज्ञ

विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले यहि अवस्था रहेमा सन् २०३० सम्ममा डिप्रेसन संसारको ‘नम्वर वान’ स्वास्थ्य समस्या बन्ने भविस्यवाणी गरेको छ ।

डब्लुएचओले शारीरिक तथा मानसिक रोगहरुमध्ये यो रोग पहिलो हुने भनेको छ । सन् २०११ कै तथ्याङ्क हेर्दा पनि डिप्रेसन दोस्रो प्रमुख रोग बनिसकेको छ ।

अनुसन्धानले के पनि देखाएको छ भने कुल जनसंख्याको झण्डै १० प्रतिशत व्यक्तिहरु अहिले डिप्रेसनबाट ग्रसित छन् । त्यसैले नेपालमा पनि २६ लाख भन्दा बढी व्यक्तिहरु डिप्रेसनबाट ग्रसित छन् भन्न गाह्रो पर्दैन ।

डिप्रेसनबाट ग्रसित हुनेमा मुख्य रुपमा युवावर्ग नै देखिन्छन् । २५ देखि ३५ वर्ष उमेर डिप्रेसन हुने उमेरको रुपमा लिने गरिन्छ ।

त्यस्तै ६० वर्ष माथि अर्थात ‘रिटायर्ड लाइफ’मा पुगेका व्यक्तिहरुमा पनि डिप्रेसन हुने गरेको देखिन्छ । अनुसन्धानले डिप्रेसन पुरुषको तुलनामा महिलाहरुमा बढी हुने गरेको देखाएको छ ।

झण्डै ९ प्रतिशत पुरुष र ११ प्रतिशत महिलामा यो रोगको समस्या देखापरेको विश्व स्वास्थ्य संगठनको प्रतिवेदनमा उल्लेख छ ।

मानसिक रोकको रुपमा चिनिने डिप्रेसनमा महिलामा बढी देखिनु सायद उनीहरु बढी संवेदनशील हुने र सानो कुराले पनि धेरै ठूलो प्रभाव पार्ने कारण नै हो जस्तो लाग्छ ।

डिप्रेसन मात्रै यस्तो रोग हो जो विकशित र अविकसित मुलुकमा समानरुपले प्रभाव पारेको देखिन्छ । यसको समस्या विकशित मुलुक युरोप तथा अमेरिकामा जसरी देखिएको छ , नेपाल जस्तो अविकसित मुलुकमा पनि उत्तिकै देखिएको छ ।

युरोप अमेरिकाका युवाहरुमा खोजे अनुसारको रोजगारी नहुँदा, आमा बाबुको प्यार नपाउँदा डिप्रेसन बढेको पाइन्छ । भने नेपाल जस्तो मुलुकमा गरिवी र बेरोजगारी, द्धन्दको घाउले डिप्रेसन बढाएको पाइन्छ । अझ पछिल्लो समयमा त नेपालको राजनीतिक अस्थिरताले पनि कतिपयमा डिप्रेसन देखाएको छ ।

डिप्रेसन कसरी हुन्छ ?
डिप्रेसन भित्र मनोवैज्ञानिक पक्ष छ शारीरिक मनोवैज्ञानि पक्षले शरीरभित्रको रासायनिक तत्वमा कमि ल्याई डिप्रेसन हुने हो । त्यो रासायनिक तत्व कसैलाई वंशाणुगत रुपमा कम देखापर्छ भने कसैलाई मस्तिष्कको विकास नहुँदा हुने गर्छ ।

त्यस्तै मस्तिस्कको विकास संगै बाहिरी बाताबरणको प्रभावले पनि देखिने गर्छ । जस्तै बच्चा जन्मेर हुर्कदै जाँदा राम्ररी आमा बुबाको माया पाउन सकेन भने उसमा डिप्रेसन हुनसक्छ, अति ठूलो महत्वकाक्षा लिने व्यक्तिमा पनि डिप्रेसन हुने गर्छ । त्यस्तै सानोमा कुपोषणबाट ग्रसित व्यक्तिहरुमा इम्युनिटी पावर कम हुने हुँदा डिप्रेसन हुने गर्छ ।

टाउकोमा चोट लाग्यो भने, जन्मने हुर्कने बेलामा धेरै ठूलो संक्रमणमा प¥यो भने , मलेरिया, जापानीज इन्सेफलाइटिस जस्ता रोगहरु जो सिधै मस्तिस्कसंग जोडिन सक्छ, यसले पनि डिप्रेसन हुनलाई सहयोग पु¥याउँछ ।

पछिल्लो पटक धन कमाउन विदेश जाने नेपालीयुवा निकै ठूलो रुपमा डिप्रेसन देखापरेको छ । भने जस्तो काम नहँदा, चाहे जस्तो कमाउन नपाउँदा पनि यस्तो समस्या हुने गरेको छ । घरपरिवार र भविस्य सोच्दा सोच्दै डिप्रेसनको सिकार हुने गरेको छ ।

किन बढयो डिप्रेसन ?

दिनानु दिन डिप्रेसन ग्रसितहरुको संख्या बढदै गएको छ । नेपालमा यसो हुनुमा सामाजिक कुरुति नै हो । समाजमा डिप्रेसन भयो कि बौलाउने रोग लागेको भनेर हेरिन्छ । परिवारले समेत त्यसैगरी हेर्छ, यसले विरामीलाई झनै बढी चिन्तित बनाउँछ ।

डिप्रेसन बौलाउने रोग होइन

डिप्रेसन बौलाउने रोग होइन । यो पनि जान्नु जरुरी छ, अन्य रोग झै यसको उपचार सम्भव छ । केही समय औषधि खाएपछि सजिलै निको हुन्छ । ९० प्रतिशत भन्दा बढी मानसिक रोगी बौलाउदैनन् ।

सधै नकारात्मक धारणा राखेकै कारण र समयमै उपचार नगरेकै कारण १० प्रतिशतलाई कडा खालको मानसिक रोग लाग्छ र त्यस्ता व्यक्तिको मात्रै मस्तिस्कले नियन्त्रण गुमाउने हो ।

मन डराउने, निरास हुने, आत्तिने, निद्रा नलाग्ने, टाउको दुख्ने, पेट दुख्ने हात खुट्टा झम झम गर्ने, लगायतका कुराहरु मानसिक रोगमै पर्छन । ती सबै साधारण उपचारबाट निको हुन्छ ।

समाज र परिवारको डरले मानसिक समस्या भोगेका थुप्रै व्यक्तिहरु अहिले पनि मानसिक रोग विशेषज्ञकोमा नगई फिजिसियनसंग सल्लाह लिने गरेका छन ।

फिजिसियनकोमा गएर मानसिक रोगकै औषधि खाएपनि मानसिक रोगी नहुने तर मानसिक रोग विशेषज्ञकोमा गएर सल्लाह लिदैमा मानसिक रोगीको रुपमा हेर्ने सामाजिक मान्यताका कारण यो समस्या बढेको हो ।

डिप्रेसन भनेको कम कडा खालको मानसिक रोग हो । समयमै पहिचान भई उपचार गर्न सकेको खण्डमा यो रोग छिटै निको हुन्छ । तर त्यसको सहि उपचार नहँदा नेपाल सहित विश्वका विभिन्न मुलुकमा आत्महत्या जस्तो दुखत अवस्थामा पुगेको समेत पाइन्छ ।  एक तथ्याङ्ककले आत्महत्या हुनुको ७० प्रतिशत कारण डिप्रेसन भएको देखाएको छ ।

डिप्रेसनका लक्षणहरु :

  • गृहणी भए आफ्नो घरको काम गर्न मन लाग्दैन
  • विदेश जानेहरुले पनि राम्ररी काम गर्न सक्दैन
  • विद्यार्थीले पढ्न सक्दैन
  • नैरास्य :  काम देखी नै नैरास्य , घर परिवार बच्चाहरु बाट नै नैरास्य , दिग्दारी पन , निद्र्रा नलाग्ने , टाउको छाती पेट दुख्ेन पेट पोल्ने ,
    आदि हुन्छ ।

त्यसैले डिप्रेसन रोग होइन सामान्य समस्या हो भन्ने कुरा बुझ्नु परयो । घर परिबार समाजका सदस्यमा त्यस्तो समस्या देखापरेमा मनोचिकित्सककोमा गएर उपचार गर्ने सल्लाह दिनुपर्छ । म फेरी पनि भन्छु यो सजिलै समाधान हुने सामान्य स्वास्थ्य समस्या हो ।

# मानसिक रोग विशेषज्ञ प्राडा ओझालाई त्रिवि शिक्षण अस्पतालमा भेट्न सकिन्छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *