सप्तरीको तिलाठीमा फैलिएको झाडापखाला नियन्त्रणमा आएन

सप्तरी, २१ असोज । एक महिनाअघि बाढी पस्दा सर्वाधिक प्रभावित बनेको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुराको दलित बस्तीमा झाडापखाला रोगको संक्रमण फैलिएको छ ।

बाढी प्रभावित उक्त बस्तीमा प्रकोप फैलिएको चार दिन बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन । झाडापखालाले सो बस्तीका ७० जनाभन्दा बढी प्रभावित भएका छन् ।

बिहीबारदेखि उपचार थालिएको र जारी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयलेले जनाएको छ । पीडितमध्ये मनोज मण्डल र उनकी श्रीमती गीताको अवस्था गम्भीर देखिएकाले प्रारम्भिक उपचारपछि विराटनगर सिफारिस गरी पठाइएको स्थानीयवासी गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालका सिनियर अहेव गुञ्जेश्वर यादवले बताए।

सो बस्तीमा झाडापखालाको प्रकोप देखिएको खबर आएपछि आवश्यक औषधिसहित चिकित्सक र स्वास्थ्यकर्मी खटाई शिविरसमेत चलाइएको जनस्वास्थ्य प्रमुख ज्ञानबहादुर बस्नेतले बताए । उनका अनुसार हालसम्म ९० जनाको उपचार भइसकेको र प्रकोप नियन्त्रणमा आउन थालेको छ ।

एक महिनाअघि बाढी पस्दा पोखरी र ट्युबवेलको सतह एउटै भएको, ट्ययुबवेलको पानी ३०/३० फिटमै रहेको र बाढी पस्दा त्यतिबेला कीटनाशक औषधि नछर्किएको स्थानीयवासीको गुनासो छ । स्वास्थ्यकर्मीले भने सो बस्तीमा गरिबीका कारण शौचालय नबनाइएको तथा खुला स्थानमा दिसापिसाब गर्दा फोहरका कारण झाडापखाला फैलिएको हुन सक्ने अनुमान गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *