दुर्गममा दुर्गमकै ‘स्टायल’ले उपचार

- नेपाली हेल्थ

निक साइमन्स इन्टिच्युट(एनएसआई)को सिफारिसमा बाजुरा जिल्ला अस्पतालको अर्थात् नेपालकै दुर्गम मध्येको एक अस्पतालमा काम गर्दाको एक अनुभव बाड्न मन लाग्यो ।

मृत्युको मुखबाट कुनै बिरामीलाई खोसेर ल्याउन सक्दा डाक्टरको मन जति फुरुङ्ग अरुको हुँदैन सायद । त्यहि कुरा यहाँ व्यक्त गर्न मन लाग्यो ।

बाजुरा जिल्ला अस्पतालले आफ्नो सेवामा एक पछि अर्को प्रगति र सुधार गर्दै लग्दैछ। यसले विरामीहरुलाई रिफर गर्नुपर्ने अवस्थामा उल्लेख्य रुपमा गिरावट आएको छ । मलाई यसैमा खुशी लाग्छ बिरामीहरुले यहीं उपचार गर्ने रोगको लागि रिफर हुनु नपरेको देखेर।

अझैं केहि गरूँ गरूँ जस्तो लाग्छ जब अस्पतालको हाकिम देखि कार्यालय सहयोगीसम्मका कर्मचारीहरुले मलाई सहयोग गर्नुहुन्छ । यसैको परिणाम हो भन्छु म नाम जिल्ला अस्पताल रहे पनि यति बेला हाम्रो अस्पतालले दिने सेवा अञ्चल अस्पतालको भन्दा कम छैन जस्तो लाग्छ ।

असोज महिनाको लागे संगै अस्पतालले आफ्नै फार्मेसी शुरु गरेको छ । अस्पतालका लागि यो सानो तर निकै महत्वपूर्ण कार्य थियो । अनेक चुनौति पार गर्दै अस्पतालले आफ्नै फार्मेसी सञ्चालनमा ल्याउँदा मन साह्रै  खुशी भएको छ । त्यसो त हाम्रो बानी नै त्यस्तो छ चुनौति जति आए पनि डराउने कुरै छैन। जनताले हामी माथि यति धेरै आश राख्न थालेका छन् हामी पछि हट्ने कुरै छैन।

देशै भरिका प्रायः सरकारी अस्पतालमा विरामीलाई लगातार २४ घण्टा अक्सिजन दिनुपरेमा अस्पतालको नै हावा टाइट हुन्छ । केही हप्ता अघि यस्तै संयोग देखियो बाजुरा जिल्ला अस्पतालमा । एक नबजात शिशु ल्याइयो सासै फेर्न नसक्ने अवस्थामा  Severe Neonatal Sepsis र मेनिन्जाइटिस (Meningitis)को लक्षण लिएर।

बुबाआमाको आश अस्पताल पुरयाउन सकियो भने आफ्नो सन्तान बाँच्दछ भन्ने तर शिशुको अवस्था यस्तो थियो कि बाँच्ने सम्भावना एकदमै कम । अस्पतालका स्टाफहरु शिशुको अवस्था देख्दा त्यति आशावादी थिएनन यद्धपी बचाउँने प्रयासमा लाग्नु हामी सबैको दायित्व थियो । कत्तिपनि ढिलो नगरी हामी त्यसमा लागिहाल्यौँ ।

डा. टिकाराम राईले बिरामी शिशु हेर्ने वित्तिकै अवस्था एकदमै गम्भीर भेउ पाए । कत्तिपनि ढिलो नगरी हातमा आईभी क्यानुला खोलेर एन्टीबायोटिक दिन शुरु गरिहाले । लगत्तै अक्सिजनको व्यवस्था गर्न अघि सरे ।

बच्चा बिहान ल्याइएको थियो । अस्पतालमा त्यतिवेला अक्सिजनको सिलिन्डर थिएन तर जोरजाम गरियो वार्डको कन्सन्ट्रेटरबाट। यस्तो दुर्गममा नबजात शिशुलाई मिल्ने साइजको अक्सिजनको ट्युब पाउने कुरै भएन तर पनि जोरजाम गरियो ।

एक Headbox पनि जुटायौं जसबाट नवजात शिशुको टाउको घेरेर बढी मात्राको अक्सिजन दिन सकिन्छ। थोरै सुधारको लक्षण देखिन थाल्यो ।

त्यसो त हामीले शिशु अवस्थाबारे उनका बुबा आमालाई अगाडी नै जानकारी गराईसकेका थियौँ । तर हाम्रो अन्तिमसम्म प्रयास हुने छ भनेर उहाँहरुलाई ढाडस समेत दिइरहेका थियौँ । हामीले किन पनि यति प्रयास गरेका थियौँ भने रिफर गरे शिशुको मृत्यु हुने निश्चित छ । किनकी बाजुराबाट नजिकको अस्पताल धनगडी वा नेपालगञ्ज थियो जहाँ पुग्न डेढ देखि दुई दिन पुरा लाग्थ्यो ।

संयोग पनि कस्तो ! त्यहि दिन दिउसो फेरी अर्को नबजात शिशु उस्तै अवस्थामा ल्याइपुरयाइयो ।सिकिस्त निमोनिया भएको चार दिनको शिशु जन्मेदेखि नै दिशा नगरेको भन्दै ल्याइयो ।

विहानको शिशुको स्वास्थ्य केही सुधार हुँदै थियो दिउसो अर्को शिशु त्यो भन्दा झन खराब अवस्थामा ल्याइपुरयाइयो । दुबै शिशुलाई अक्सिजनको जरुरी परयो । अव कहाँ खोज्ने अक्सिजन ? कसरी मिलाउने अक्सिजन ? परेन आपत ? तर हामी हार मान्नेवाला थिएनौँ ।

दोस्रो शिशुलाई पनि अक्सिजनको कसरी बेवस्था गर्ने भनेर जुक्ति निकाल्न थाल्यौं। गत चैत महिनाको हाडजोर्नीको शिविरबाट प्राप्ट दुई मुखे सक्सन ट्युबको प्रयोग गरेर दुबैलाई अक्सिजन दिने ब्यवस्था मिलायौं।

एक अक्सिजन नेजल केनुलालाई काटेर CPAP बनायौं। दुबै शिशुलाई लगातार अक्सिजन दिनुपर्ने भयो। यसको लागि ईमर्जेन्सिको पुरानो अर्को अक्सिजन कन्सन्ट्रेटर ल्याएर पालैपालो चलायौं जसले गर्दा तातेर बिग्रने संभावना कम भयो।

यहि हप्ता सुरुवाट भएको हाम्रो अस्पतालको फार्मेसिबाट बिरामीलाई हामीले ICUमा प्रयोग गरिने महंगो र कडा एन्टिबायोटिक र अन्य औषधीहरु पनि उपलब्ध गराएर उपचार गर्न सफल भयौं।

आमाको दूध चुस्न नसक्ने र नमिल्ने भएकोले नेजोगेस्ट्रिक ट्युबबाट( Nasogastric Tube) खुलायौं। बेबि वार्मर बिग्रिएकोले बिरामीहरुको तापक्रमको सन्तुलनको लागि हिटर,न्यानो कपडा र आमको मायाको अंगालो ( kangaroo mother care) प्रयोग गर्यौ।

१-२ घण्टाको फरकमा भाइटल मोनिटरिंग भइरह्यो ड्युटीका नर्सिंग स्टाफबाट नियमित औषधि दिनुका साथै सक्सन मेसिन र ट्युब नभए पनि Meconium Aspirator र Penguin suctioner बाट घण्टा घण्टामा आफ्नो मुखले सक्सन गरिरहे।

कहिलेकाँही त दिन पनि कस्तो हुँदो रहेछ । अत्यन्त गम्भीर दुईशिशुको ज्यान बचाउन आवश्यक सबै उपाय अपनाएकै थियौँ तर त्यहिदिन मर्मतका लागि भन्दै अस्पतालमा विजुली बत्ती नआउने जानकारी दिइयो । परेन आपत ? तर हामी हार मान्नेवाला थिएनौँ । उपाय लगायौँ ।

दिनको १०-१२ घण्टा बिजुलि घरको मर्मत गर्नु परेकोले बिजुली नआउने भएपछी अस्पतालको सानो जेनेरेटर वार्डमै ल्याएर करे दाईले (का.स) बिजुलीको ब्यवस्था गरिदिए।

सघनकक्ष ( NICU ) मा राखेर उपचार गर्नु पर्ने शिशुहरुलाई यहाँ SNCU ward नभए पनि जेनरल वार्डकै बेडमा राखेर उपचार गर्यौं तर सेवा सघन कक्षको जस्तै दिएर।  अस्पतालको पुरै टिमले मलाई सहयोग गरे। ४ दिनपछि शिशुहरूलाई अक्सिजन दिनु नपर्ने भयो। अब दुबै शिशुहरु बाच्ने अवस्थामा पुगे । त्यतिवेला बाबुआमा कति खुशी भए होलान त्यो छुट्टै पाटो भयो तर हामी स्टाफहरु उनीहरुभन्दा पनि निकै खुशी भयौँ भन्ने जस्तो लाग्छ ।

उसै दिन ४ हप्ताका दुई नियोनेटहरु अति सिकिस्त निमोनियाका लक्षणका साथ भर्ना गरियो र उसैगरी अक्सिजनको बेवस्था गरी उपचार गरियो।

जन्मेदेखि दिशा समेत नगरेको दोस्रो शिशुको निमोनियाँको उपचार पश्चात् दिसा नगरेको कारण आन्द्राकोसमस्याको शंकामा नेपालगंजमा अपरेसनकोलागि रिफर गरियो र अरु शिशुहरुलाई घरमा डिस्चार्ज गरियो।

यस महिनामा अरु पनि निमोनियाका बच्चाहरु भर्ना हुदै उपचार गर्दै घर जादैछन्। अब नर्सिंङ स्टाफहरुले नि सिकिस्त बच्चाहरुको स्याहार गर्न सिक्दैछन्।

मैले भने  सुगममा ठुलो अस्पतालमा अध्ययन गरेर सिकेको ज्ञानले मात्र दुर्गममा उपचार गर्न नसकिने र लोकल बस्तुहरुको उपयोग गरेर पनि नयाँ तरिकाले उपचार गर्न सकिन्छ भन्ने बुझ्दैछु।

पहिला दुर्गममा डाक्टर छैन भन्थे अब डाक्टर छ सामान र सहयोगिहरु छैन भनेर बस्नुसट्टा लोकल बस्तु उपयोग गरेर नयाँ तरिकाले पनि हामीले उपचार गर्न सक्छौं।

सरकारबाट यस क्षेत्रको बिकासकोलागि अझ सहयोग होस भन्ने आश गर्दछु जसले हाम्रो हौसला अझ बढ्नेछ किनकि बाजुरा दुर छ तर नेपाल भित्रै छ।SNCU को स्थापनाको चाँडो होस।

# एमडीजीपी डाक्टर महर्जन बाजुरा जिल्ला अस्पतालमा कार्यरत छन् ।

यो पनि हेर्नुहोस् : बाजुराको यस्तो ब्यथा केन्द्रलाई के थाहा !

 

 

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *