किन हुन्छ नवजात शिशुमा आँशु आउने समस्या ?

डा. सबिन साहु

कहिलेकाहिँ तपाईले देख्नु भएको होला नवजात शिशु नरोएको बेला पनि एक वा दुवै आँखामा आँशु भरिएको हुन्छ । आँशु झरेर गालातिर बगि रहेको हुन्छ । बच्चा स्वस्थ देखिन्छ तर आँशु आउने समस्या भने रोकिदैन ।यस्तो हुनुभनेको बच्चाको आँशु नलिमा केही समस्या भएको हुनसक्छ ।

सामान्यतया बच्चा जन्मने बेलासम्म  आँखामा आँशु रहने थैली र आँशु बग्ने नलिहरु बनिसकेको हुन्छ । तर करिब ५ प्रतिशत बच्चाहरुमा भने यो विकास पूर्ण भैसकेको हुँदैन । नवजात शिशुहरुमा आँखाबाट आँशु आउने प्रमुख कारणको रुपमा “जन्मजात आँशुनलीमा हुने अबरोध हो ।
जन्मजात आँशुनली अवरोध” कसरी चिन्ने त ?

सामान्यतया आँखा आँशुले भिजेको हुन्छ । आँशु उत्पादन गर्ने ग्रन्थी (लाक्रिमल ग्रन्थी) बाट आँशु निस्केपछि, जब आँखा झिम्काइंछ, आँशु पुरै आँखाको सतहमा फैलिन्छ । त्यसपछी आँशुनली र आँशुथैली हुँदै आँशु भित्रि नाकसम्म प्रवाह हुन्छ ।

आँशुनली अवरोध भएको अवस्थामा आँशुको प्रवाह नहुने कारण आँखाको सतहमा जम्दछ  र आँखामा आँशु भरिएको जस्तो देखिन्छ । यस्तो समस्या एक वा दुवै आँखामा भएको हुन सक्छ ।

कहिलेकाहीं आँशु धेरै भरिएर गालातिर पनि झर्न सक्छ र बच्चा रोइरहेको जस्तो लाग्न सक्छ ।  बच्चालाई चिसो लाग्दा वा जाडो मौसममा यस्तो समस्या अझै बल्झिने हुन सक्छ । कहिलेकाहीं बच्चा सुतेर उठ्दा खेरि आँखा चिप्किने, कचेरा आउने समस्या हुन सक्छ । प्रायजसो आँखा भने सेतो नै देखिन्छ, तर कहिलेकाहीं आँखामा संक्रमणको कारण आँखा रातो वा सुनिएको जस्तो देखिन सक्छ ।

धेरै लामो समयदेखि यस्तो समस्या रहेमा आँखाको बाहिरी भागमा नाकको छेउतिर सुनिएको गाँठो जस्तो पनि देख्न सकिन्छ । कहिलेकाहीं सुनिएर, रातो भएको पनि हुन सक्छ । यस्ता लक्षणहरु देखिएमा यो आँशुनली अवरोधको कारण हो भनेर चिन्न सकिन्छ । उपचारसुरुवातमा खाली आँशु मात्र बगेको छ भने अत्तालीहाल्नु पर्ने कुनै कारण छैन ।

सामान्यतया  केही हप्ता वा महिनामा यो समस्या आफै निको भएर जान सक्छ । धेरै जसो बच्चाहरुमा साधारण मालिश नै अवरोध खोल्न पर्याप्त हुन्छ । अविभावकले बच्चाको आँखाको मध्यकुना छेउ नाकको बाहिरी भागमा औंलाले हल्का दबाब दिँदै तलतिर मालिश गर्नु पर्छ । दिनमा कम्तीमा दुई चोटी र हरेक चोटीमा १० देखि २० पटक  यसरी मालिश गर्नाले आँशुनलीको अवरोध खुल्न मदत गर्दछ ।

आँखाबाट निस्किने कचेरालाई नियमित रुपमा सफाई गर्नु पर्दछ । आँखा रातो भएमा वा कुनै संक्रमणको सङ्का भएमा डाक्टरको सल्लाह लिएर एन्टीबायोटिक आँखाको ड्रोप लगाउनुपर्छ । लगभग ५० प्रतिशत भन्दा बढी बच्चाहरुमा साधारण मालिश मात्रले ६ महिना भित्र आँशु(नलीको अवरोधको पूर्ण निदान हुन सक्छ ।

यदी १ वर्ष सम्ममा पूर्ण निदान नभएको खण्डमा शल्यक्रियाबाट उपचार गर्नुपर्ने हुन्छ । सुरुवातमा धातुको सुइरोको प्रयोगले अवरोध हटाउने प्रक्रिया (प्रोबिंग) को माध्यमबाट आँशु(नली अवरोधको उपचारको प्रयाश गरिन्छ । दुई पटक प्रोबिंगबाट पनि पूर्ण निदान नभएको अवस्थामा अरु ठुलो शल्यक्रिया (डीसीआर) शल्यक्रिया गरिन्छ ।

डाक्टरकोमा कतिवेला लिएर जाने त ?

नवजात शिशुमा आँखाबाट आँशु आउने प्रमुख कारण जन्मजात आँशु(नली अवरोध भएपनि कहिले काहीं अरु कारणहरु पनि हुनसक्छन् । सुरुवातमा अविभावकले घरमै साधारण मालिश गरेर उपचारको प्रयास गर्न सकिन्छ । साधारण मालिशले ठिक नभएमा वा निम्न लक्षणहरु देखिएमा बच्चालाई तुरन्तै नजिकको आँखा उपचार केन्द्रमा लगी देखाउनु होला ।

१. बच्चाको आँखा धेरै रातो देखिएमा

२. बच्चाले आँखा धेरै मिच्न थालेमा

३. बच्चाले आँखा खोल्न नमानेमा वा उज्यालोमा आँखा खोल्न गाह्रो भएमा

४. यदि बच्चाको आँखा वा आँखाको बाहिरी भागमा सुनिने वा केही समस्या महसुस भएमा

आँशुनली अवरोधको जानकारी, यसको समयमा पहिचान र सहि उपचारले बच्चाहरुमा यसबाट हुने शारीरिक तथा सामाजिक कठिनाईबाट छुटकारा दिलाउन सकिन्छ ।

# नेत्र विशेषज्ञ, डा साहु सगरमाथा चौधरी आँखा अस्पताल, लहानमा कार्यरत छन् 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *