चिकित्सक आक्रमणको गोदानद्धारा विरोध

काठमाडौँ, १२ असोज । भरतपुर अस्पतालका निमित्त मेसु डा. सुनिल साहमाथि भएको आक्रमणको सरकारी चिकित्सक संघ (गोदान)ले विरोध जनाएको छ । उसले आक्रमणकारीमाथि कडा कारबाही गर्न माग गरेको छ ।

गोदानका अध्यक्ष डा दीपेन्द्र पाण्डेद्धारा जारी विज्ञप्तीमा निमित्त मेसु डा. साह माथि बिरामीका जोगाउने ग्यारेन्टी नगरेको भन्दै आक्रमण भएको भन्दै आक्रमणकारीहरुलाई कडा कारबाहीको माग गरेको छ ।

बुधबार दिउसो मस्तिस्कघात भएर ल्याइएका ९० बर्षिय विरामी हजुरबुवालाई नहेरेको भन्दै २९ बर्षका सुजन बर्तौला,३२ बर्षका घनश्याम बर्तौला र ५४ बर्षका हरिशरण बर्तौलाले आक्रमणको प्रयास गरेका थिए ।

डा. साहले आन्दोलनमा रहेको बताएपछि उनीहरुले आक्रमण गरेको बुझिएको छ । चिकित्सकहरु गत शुक्रबारबाट जेल विद आउट बेल लगायतका माग अघि सारी आन्दोलनमा छन् ।

विज्ञप्ती

यस सरकारी चिकित्सक संघ नेपालको ऐक्यबद्दता रहेको नेपाल मेडिकल एसोसिएसनको बाध्यात्मक आन्दोलन चलिरहदा आज भरतपुर अस्पतालका नि.मे.सु. चिकित्सक तथा नवनिर्वाचित नेपाल मेडिकल काउन्सिल सदस्य डा. सुनिल साहमाथि ‘बिरामीको ज्यान जोगाउने ग्यारेन्टी नदिएको’ भन्दै २९ बर्षका सुजन बर्तौला,३२ बर्षका घनश्याम बर्तौला र ५४ बर्षका हरिशरण बर्तौलाद्वारा हातपात र दुर्ब्यबहार भएको घटना प्रति यस संघको गम्भिर ध्यनाकर्षण भएको छ । सम्पूर्ण चिकित्सकको मनोबल गिर्ने र बिरामी जाँच गर्ने आँट नै मर्ने खालका दिनानुदिन हुने यस्ता कुकृत्यको घोर निन्दा तथा भर्त्षना गर्दै यो संघ दोषीलाई यथाशिघ्र कडा भन्दा कडा कारबाही गर्न नेपाल सरकारसंग जोडदार माग गर्दछ ।

राज्यले चिकित्सकलाई पेशागत सुरक्षा दिन नसकेको स्थितिमा त्रसित वातावरणमा विरामीको सेवा दिन जति प्रयास गरे पनि असम्भव हुँदै आएको अवस्थामा समस्त नेपाली चिकित्सकहरु आफ्नो पेशागत सुरक्षाको लागि जारी आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिदै नेपाल मेडिकल एसोसिएसनलाई आन्दोलनका थप कडा कार्यक्रम ल्याउन आह्वान गर्दछ । यस्ता खालका घटनाहरु रोकथाम गर्न बिना धरौटी जेल चलान (jail without bail) को नियम फास्ट-ट्रयाकबाट पारीत गरी चिकित्सकहरुलाई निर्धक्क भई काम गर्ने वातावरण यथाशिघ्र निर्माण गरी हालको बन्दले आम जनतालाई परिरहेको समस्याको स्थायी समाधान गर्न पनि सम्बन्धित सबैसंग यो संघ माग गर्दछ ।

समय-समयमा यस संघले उठाएका मागहरू, विधमान आन्दोलन र त्यस्को माग प्रति अनुत्तरदायी सरकारले यसरी आकश्मिक कक्षमै चिकित्सक माथी हमला हुँदा पनि मौन बस्छ, हाम्रो jail without bail को मागलाई बेवास्ता गर्छ र हाल पक्राउ परेका अभियुक्तहरुलाई हदैसम्मको कारवाही नगरी कसैको सिफारिसको भरमा छोडिदिने काम गर्छ भने हामी सम्पूर्ण सरकारी चिकित्सक आकश्मिक कक्षमा समेत सेवा दिईरहन नसक्ने जानकारी यसै विज्ञप्ती मार्फत सम्बन्धित सबैलाई जानकारी गराउदछौँ । यसबाट पर्न जाने असुविधा र दुर्घटनाको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार स्वयम् हुने प्रष्ट पार्न चाहन्छौ ।

अध्यक्षः
डा. दिपेन्द्र पाण्डे

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *