एक दिनको ओपिडी बन्द हुँदा चार लाख विरामी सेवाबाट बन्चित

काठमाडौँ, ७ असोज । उपचारमा लापरबाही भए चिकित्सकले क्षतिपूर्ति तिर्नुपर्ने कानुन बनाउने मन्त्रिपरिषद्को निर्णयविरुद्ध चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन् । नेपाल चिकित्सक संघको नेतृत्वमा शुक्रबार देशभरका ३ हजार ८ सय २३ अस्पतालको ओपिडी सेवा बन्द गरिएको छ ।

ओपिडी सेवा बन्द हुँदा करिब चार लाख बिरामी सेवाबाट बन्चित भएका छन् । सरकारको निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने चिकित्सक संघका महासचिव डा। लोचन कार्कीले बताए ।

स्वास्थ्य मन्त्रालयलाई जानकारी नदिई गरिएको मन्त्रिपरिषद्को निर्णय फिर्ता लिन दिइएको ७२ घन्टे अल्टिमेटममा पनि सरकार मौन बसेपछि देशभरका अस्पतालको सेवा रोक्नुपरेको महासचिव डा. कार्कीले बताए ।

स्वास्थ्य मन्त्रालयको अनुगमन महाशाखाका प्रमुख दीपेन्द्ररमण सिंहले तीन लाख ८२ हजार तीन सय बिरामीले उपचार नपाएको बताए । ‘सहरका अस्पतालमा बिरामीको चाप अत्यधिक छ ।

जिल्लाका हेल्थपोस्ट र स्वास्थ्यचौकीमा दैनिक ३० देखि ५० जनासम्म बिरामी आउने गर्छन् । सबै जोड्दा प्रतिस्वास्थ्य संस्था एक सय बिरामी ओपिडीमा आउने गरेको देखिन्छ,’ सिंहले भने ।

निर्णय फिर्ता नहुँदासम्म ओपिडी बन्द
नेपाल चिकित्सक संघले माग पूरा नभएसम्म आन्दोलन जारी रहने जनाएको छ । उपचार सेवा पूर्णरूपमा ठप्प गर्दा पनि सरकार मौन बसेकोमा संघले आपत्ति जनाएको छ ।

‘देशभरका चिकित्सक सेवा अवरुद्ध पारेर आन्दोलनमा उत्रिँदा पनि सरकार मौन छ, वार्ताका लागि समेत आह्वान गरेको छैन,’ महासचिव कार्कीले भने ।

सरकार गम्भीर नभएको भन्दै उनले निर्णय फिर्ता नभएसम्म आन्दोलन यथावत् रहने बताए । संघले देशभरका सम्पूर्ण अस्पताल, मेडिकल तथा डेन्टल कलेज, नर्सिङहोम, क्लिनिकलगायतका स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गर्न निर्देशन दिएको छ ।

कति छन् अस्पताल ?
स्वास्थ्य मन्त्रालयका अनुसार देशभर ८३ जिल्ला अस्पताल, १८ अञ्चल अस्पताल, सात केन्द्रीय अस्पताल, १९९ हेल्थ पोस्ट र ३२ सय स्वास्थ्य चौकी छन् । निजी अस्पतालको संख्या ३१६ छ । उपसचिव लामिछानेले धेरै निजी नर्सिङहोम, क्लिनिकलाई यसमा समावेश नगरिएको बताए ।

  •  आजको नयाँ पत्रिकामा समाचार छ
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *