चिकित्सक संघद्धारा ६ असोज देखि देशभरका अस्पताल बन्दको घोषणा

काठमाडौँ, ४ असोज ।  उपचारका क्रममा लापरबाही भएर बिरामीको मृत्यु भएमा चिकित्सकले क्षतिपूर्ति तिर्नुपर्ने नियम बनाउन मन्त्रिपरिषदले गरेको निर्णयको विरोधमा चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ ।

संघले तत्काल निर्णय फिर्ता नलिए आगामी शुक्रबारदेखि देशभरका  अस्पताल तथा स्वास्थ्य संस्थाका  ( आकस्मिक बाहेकका सबै सेवा) बन्द गर्ने घोषणा गरेको छ । बुधबार बसेको नेपाल चिकित्सक संघको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठक पछि संघका महासचिव डा लोचन कार्कीद्धारा जारी विज्ञप्तीमा गत सोमबारको मन्त्रिपरिषद बैठकले गरेको निर्णय प्रति खेद व्यक्त गर्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।

हेरौँ विज्ञप्ती

नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालयमा आज बसेको संघको बृहत बैठकमा उपस्थित हुनु भएका विभिन्न विशेषज्ञ समाजका अध्यक्ष तथा महासचिवहरु, अस्पताल र मेडिकल तथा डेण्टल कलेजका निर्देशक तथा संचालकहरु, संघका पूर्व अध्यक्ष, पूर्व महासचिव र संघका बरिष्ठ सदस्यहरुको भेलाले गरेको व्यापक छलफलको निर्णय बमोजिम मन्त्रीपरिषद्को मिति २०७४ आश्विन २ गते बसेको बैठकले चिकित्सकहरुलाई लक्षित गरी गरेको निर्णयको घोर भत्र्सना र निन्दा गर्दछ ।

आजको यस बैठकले निम्न लिखित मागहरुको सम्बोधन नभएमा यहि २०७४ आश्विन ६ गतेदेखि लागू हुने गरी देशभरका सम्पूर्ण अस्पताल, मेडिकल तथा डेन्टल कलेज, नर्सिङहोम, क्लिनिक लगायतका सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा आकस्मिक बाहेकका अन्य सम्पूर्ण स्वास्थ्य सेवा पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको छ । यसको यथोचित कार्यान्वयनका लागि संघका सम्पूर्ण शाखा कार्यालयहरु, नेपाल भरीका सम्पूर्ण स्वास्थ्यसंस्था, चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई यसै विज्ञप्ती मार्फत तयारी अवस्थामा रहन समेत सूचित गरिन्छ ।

तपसीलका मागहरु

१) २०७४ आश्विन २ गते बसेको मन्त्री परिषद्को बैठकले चिकित्सकहरुलाई मात्रै लक्षित गरी कानूनी राज्यको उपहास गर्दै गरिएको विवादास्पद निर्णयलाई अबिलम्ब सार्वजनिक रुपमा फिर्ता लिनु पर्ने ।

२) स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली २०६९ लाई आवश्यक परिमार्जन गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथी हातपात गर्ने व्यक्ति वा समूहहरुलाई “Jail without Bail (बिना धरौटी जेल चलान) को प्रावधानको उक्त ऐन तथा नियमावलीमा थप गर्नु पर्ने ।

३) नेपाल चिकित्सक संघसँग नेपाल सरकारले विगतका गरेका सम्झौताहरुको अक्षरस कार्यान्वयन हुनु पर्ने ।

विगतमा झै चिकित्सक संघले उठाउँदै आएको न्यायिक सवालमा समर्थनका लागि नर्सिङ, स्वास्थ्यकर्मी, नागरिक समाज, शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड), मानव अधिकार आयोग तथा संघ संगठनहरु, पत्रकारजगत तथा सम्पूर्ण बुद्धिजीवि एवं आम जनसमुदायमा यस संघ हार्दिक अपिल गर्दछ ।

नेपाल सरकारको यस्तो गैरजिम्मेवारपूर्ण निर्णयको विरुद्धमा संघबाट गरिने विरोधका कार्यक्रमबाट आम सर्व साधारणहरुमा पर्न जाने असुुविधाप्रति यस संघ दुख व्यक्त गर्दछ र यस्तो बाध्यात्मक परिस्थितिको जिम्मा नेपाल सरकार नै रहेको जानकारी गराइन्छ ।

डा. लोचन कार्की
महासचिव

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *