‘चिकित्सकबाट क्षतिपूर्ति भराउने’ मन्त्रिपरिषदको निर्णयप्रति स्वास्थ्य मन्त्री असन्तुष्ठ

काठमाडौँ, ३ असोज । मृतकका आफन्तलाई चिकित्सकले क्षतिपूर्ति तिर्नुपर्ने नियम बनाउन मन्त्रिपरिषदले दिएको निर्देशनप्रति स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल असन्तुष्ठ देखिएका छन् । उनले यसबारेमा मन्त्रालयमा बृहत छलफल गरी आवश्यक धारणा सार्वजनिक गर्ने बताएका छन् ।

सोमबार (हिजो) बसेको मन्त्रिपरिषदको बैठकले उपचारका क्रममा लापरबाही भई विरामीको मृत्यु हुन गए चिकित्सकले नै विरामीको आफन्तलाई क्षतिपूर्ति दिनुपर्ने नियम बनाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो । सो निर्देशन पछि चिकित्सकहरुको छातासंस्थाहरुले निर्णय फिर्ता लिन भन्दै नलिए कडा आन्दोलन गर्ने घोषणा गरेका छन् ।

स्वास्थ्य पत्रकारहरुसंग भएको एक अनौपचारिक छलफलमा मन्त्री पोखरेलले आफू नभएको बेलामा मन्त्रिपरिषदले यस्तो निर्णय गर्नु आफैमा आश्चर्य र गम्भीर भएको बताए । उनले भने, ‘यस्ता कुराहरु त विभागीय मन्त्रीको हैसियतले मैले लैजानुपर्ने हुन्थ्यो होला । तर हिजो म नभएका बेला, एकाएक यस्तो निर्णय भएछ । यसबारेमा न मलाई जानकारी दिइयो न सल्लाह लिइयो । यसैले निर्णयको सक्कल कपि मगाएर मिल्यो भने मुख्य सचिवलाई समेत राखेर छलफल गर्दैछु ।’

मन्त्री पोखरेलले आफू २०६६ सालमा मन्त्री हुँदा नै स्वास्थ्य सुरक्षा ऐन ल्याएको र पछि त्यसको नियमावली बनिसकेको अवस्थामा फेरी नयाँ नियम आवश्यक हुने जस्तो आफूलाई नलागेको समेत स्पष्ट पारे ।

‘लापरबाही हुँदा कसले कसरी के सजाय हुने भन्ने त त्यो नियम लेखिएकै छ जस्तो लाग्छ । तर अहिले मन्त्रिपरिषदले हामीलाई निर्देशन दिएको छ । यसबारेमा के हुन्छ, भोली छलफल राख्दैछु । त्यसपछि आधिकारिक धारणा आउँला,’ उनले थपे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “‘चिकित्सकबाट क्षतिपूर्ति भराउने’ मन्त्रिपरिषदको निर्णयप्रति स्वास्थ्य मन्त्री असन्तुष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *