बिरामीको उपचार गर्ने अञ्चल अस्पताल आफै बिरामी ?

सप्तरी, ३ असोज । राजविराजस्थित गजेन्द्रनारायण सगरमाथा अञ्चल अस्पताल अस्तव्यस्त हुँदा उपचार गर्न आउने बिरामीहरु समस्यामा परेका छन् ।अस्पताल अस्तव्यस्त हुँदा कतिपयले अस्पताल नै ‘बिरामी’ भएको टिप्पणी गर्न थालेका छन् ।

अञ्चाल अस्पतालमा उपचारका लागि उपकरण, सामग्री सरकारले उपलब्ध गराए पनि प्राविधिक र चिकित्सकको अभावका कारण प्रयोगमा आउन सकेको छैन । सोही कारण अस्पतालमा आउने बिरामी निजी अस्पताल तथा क्लिनिकमा उपचार तथा प्रयोगशाला जाँचका लागि जान बाध्य भइरहेका छन् ।

विसं २०७३ मंसिरमा नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी) समूहका अध्यक्ष विकास तिवारीले अस्पताल सुधारका लागि १८ दिनसम्म आमरण अनशन गरेपछि तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले अस्पताल सुधार गर्ने प्रतिबद्धता जनाएका थिए ।

प्रतिबद्धतानुसार अस्पताललाई तत्काल स्वास्थ्य उपकरण तथा प्रयोगशालाका सामग्री पठाइए पनि दक्ष चिकित्सक तथा प्राविधिक नहुँदा उपकरण प्रयोगविहीन अवस्थामा अस्पतालमा थन्किएका छन् । उपकरणमा अल्ट्रासाउण्ड, अटोमेटिक एनेस्थेसिया, होराइजन्टल एक्सरे मेसिन र डायलासिस मेसिन आएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा दयाशंकरलाल कर्णले जानकारी दिए ।

उनका अनुसार अस्पतालमा १८ चिकित्सकको दरबन्दी रहेकामा हाल तीन चिकित्सक मात्र कार्यरत छन् । अन्य करिब २५ प्राविधिक तथा स्वास्थ्यकर्मीको पद रिक्त छ ।

चिकित्सकको अभाव झेल्दै आएको अस्पतालमा सरसफाइको समेत अभाव छ । आकस्मिक कक्षमा चिकित्सक नबस्दा उपचारका लागि आएका बिरामी अन्यत्रै पठाउनु अस्पतालको दुर्भाग्य भएको राजविराजका समाजसेवी देवु यादवले बताए । उनले आफ्नी श्रीमतीलाई अस्पतालमा चिकित्सकको अभावका कारण बाहिर निजी अस्पतालमा महँगो शुल्क तिरेर उपचार गराउनुपरेको गुनासो गरे ।

अस्पतालमा पुराना यन्त्रसमेत मर्मत नगर्दा खिया लागेर बिग्रिसकेका छन् । बाढीबाट रोग उत्पन्न भएका कारण सो अस्पतालमा विगतको तुलनामा अहिले उपचार गराउनेको संख्या दिनप्रतिदिन बढिरहे पनि उपचारको समस्या जस्ताको तस्तै रहेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *