कसरी थाहा पाउने डिम्बाशयको क्यान्सर ?

काठमाडौँ, २८ भदौ । महिलामा देखिने विभिन्न प्रकारका क्यान्सर रोग मध्ये डिम्बाशयको क्यान्सर एउटा मुख्य रोग हो ।वीर अस्पतालका क्यान्सररोग विशेषज्ञ डा सन्ध्या चापागार्इंका अनुसार विश्वको पाँचौँ र नेपालमा चौथो नम्बरमा डिम्बाशयको क्यान्सर पर्दछ ।

शुरुवाती चरणमा लक्षण नदेखिने भएकोले यो क्यान्सरले धेरै नेपाली महिलाहरुलाई झुक्याएको छ । त्यसैले यसबाट जोगिनका लागि बेला बेलामा परीक्षण गराउनु नै बुद्धिमानी हुने डा चापागाँई बताउछिन् ।

क्यान्सर केयर नेपालका कार्यकारी सदस्य तथा क्यान्सर रोग विशेषज्ञ डा रश्मि पुनका अनुसार डिम्बाशयको क्यान्सर निश्चित कारणले नदेखिने र लक्षण त्यति वास्ता गरिहाल्नुपर्ने जस्तो नहुने हुन्छ ।

महिलामा पाठेघरको दुईतिर हुने सानो अण्डा आकारको अंगलाई अण्डाशय भनिन्छ जुन प्रजनन प्रणालीको एक महत्वपूर्ण अंग हो ।

कस्ता महिलालाई हुन्छ डिम्बाशयको क्यान्सर ?

डिम्बाशयको क्यान्सर ठ्याक्कै यस्तो व्यक्तिलाई हुन्छ भन्ने छैन । तर डा चापागाईंको अनुभवमा ४०/५० वर्षका महिला जो पहिले नै स्तन, पाठेघर, लामो आन्द्राको क्यान्सरको संक्रमणमा परेका छन् ।

परिवारमा अरु कसैलाई क्यान्सर भएको अवस्था अर्थात बंशाणुगत रुपमा क्यान्सर छ भने शिशु नजन्माएका महिलामा डिम्बाशयको क्यान्सर हुने उच्च सम्भावना रहन्छ ।

के हुन्छ त लक्षण ?
शुरुवाती चरणमा डिक्बाशयको क्यान्सर हो भने भन्ने त्यस्तो लक्षण नदेखिन पनि सक्छ । यद्धपी तल्लो पेट र कम्मर दुख्ने, विनाकारण पेट बढ्ने, पेट फुलेको जस्तो, अपच, वाकवाक लाग्नु, योनीबाट कहिलेकाहीँ रगत बग्ने, चाँडै थाक्नु, श्वासप्रश्वास, कहिलेकाहीँ पातलो दिसा र कब्जियत हुनेजस्ता लक्षण भएमा डिम्बाशयको क्यान्सर हुनसक्छ ।

कसरी पत्ता लाग्छ डिम्बाशयको क्यान्सर ?
रेडियोलोजिकल जाँच, अल्ट्रासाउण्ड अफ एब्डोमेन, एमआरआई, सिटी स्क्यान र एक्सरे गरेर तथा रगत र मासुको जाँच गरेर अण्डाशय क्यान्सर भएको हो होइन पत्ता लगाइन्छ ।

डिम्बाशयको क्यान्सर रोक्न विश्वभरका देश एकजुट
बढ्दोक्रममा रहेको डिम्बाशयको क्यान्सर रोक्न विश्वभरका देशहरु एकजुट भएका छन् । त्यसैले विश्वका सबै देशले सेप्टेम्बर महिनाभर डिम्बाशयको क्यान्सरबारे जनचेतनामूलक र न्युनिकरणका अन्य विविध कार्यक्रम गर्छन ।

विश्व स्वास्थ्य संगठन नेपालका प्रतिनिधि डा मीरा थापा उपाध्याय भन्छिन्, “अझै दक्ष जनशक्ति र जनचेतनामा कमी र उपचार प्रणालीमा पछाडि भएकाले पनि नेपाल अर्बुदको न्यूनीकरणमा पछि परेको हो ।” उनले क्यान्सर गराउने कारक तत्वबारे सजग हुन सकेमा जोखिमको सम्भावना कम हुन सक्ने भएकाले यसबारे जनचेतना फैलाउनुपर्नेमा जोड दिइन ।

अहिले नेपालमा हुने करिब ७० प्रतिशत मृत्यु क्यान्सर सहितका नसर्ने रोगका कारण हुने गरेको विज्ञहरु बताउँछन् ।रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *