त्रिवि शिक्षण अस्पतालमा नर्सले बनाएका चित्रको प्रदर्शनी

काठमाडौँ, २८ भदौ । त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि भर्ना भएका वृद्धवृद्धाको सहयोगार्थ एकल चित्रकला प्रदर्शन गरिएको छ ।

अस्पतालमा भर्ना भएका ७५ वर्षभन्दा बढी उमेरका वृद्धवृद्धाको उपचारमा सहयोग पु¥याउने उद्देश्यले सोही अस्पतालकी नर्स एवं कलाकार रचना मास्केले कोर्नुभएको चित्रकला आजदेखि प्रदर्शनीमा राखिएको हो ।

प्रदर्शनीको उद्घाटन गर्दे नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले ज्येष्ठ नागरिक देशका गहना भएकाले उहाँहरुको सहयोगका लागि लोककीर्ति ज्येष्ठ नागरिक कोषले मास्केको चित्रकला प्रदर्शनमा राखेर पवित्र काम गरेको बताए ।

पूर्व उपप्रधानमन्त्री सिंहले बिरामी भएर उपचारको समस्यामा परेको ज्येष्ठ नागरिकका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताए । नेता सिंहले समाजलाई परिवर्तन ल्याउनका लागि राजनीतिक क्षेत्रको महत्वपूर्ण भूमिका रहेको भन्दै राजनीतिलाई सकारात्मक दृष्टिकोणले हेर्न आग्रह गरे ।

चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का डिन डा जगदीश प्रसाद अग्रवालले वृद्धवृद्धाको उपचारका लागि चित्रकला बेचेर सहयोग गर्न लागेको भन्दै उक्त कामको उच्च प्रशंशा गरे। उनले ज्येष्ठ नागरिकको उपचारका लागि अस्पतालले छुट्टै वार्ड बनाउने कुरामा सम्बन्धित पक्षसँग छलफल गरिरहेको स्पष्ट पारे ।  लोककीर्ति ज्येष्ठ नागरिक कोषका अध्यक्ष ओम मास्केले ज्येष्ठ नागरिकको उपचारका लागि राज्यले बेवास्था गरेको आरोप लगाए ।

आगामी भदौ ३० गतेसम्म चल्ने प्रदर्शनीमा मास्केले कोरेका ३२ चित्र प्रदर्शनमा राखिएका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *