नमूना बन्ने दौडमा गुल्मी जिल्ला अस्पताल 

गुल्मी, २५ भदौ ।  गतवर्ष ७६४ जना सुत्केरी हुँदा १३ जनाको शल्यक्रिया (सिजेरियन सेक्सन) भएको थियो गुल्मी जिल्ला अस्पताल (तम्घास अस्प्ताल)मा तर यस आर्थिक बर्षमा भने भदौको तेस्रो साता नबित्दै ११ वटा सिजरियन सेक्सन भइसकेका छन् ।

सिजरियन सेक्सन मात्रै होइन एक जना हाइड्रोशिल(अण्डकोषको वरिपरि पानी जम्ने अवस्था) र दुई जना बच्चाको सर्कमसिजन (जन्मजात रुपमा आएको लिंगको टुप्पो छोप्ने छाला फाल्ने अप्रेसन) समेत सफल भइसकेको छ ।

जिल्ला सदरमुकाम तम्घासमा रहेको यस अस्पताल  ५० बेडको हो तर न त आवश्यक पूर्वाधार पुगेको छ न त जनशक्ति नै । तर, भएकै जनशक्तिले उत्कृष्ठ ढंगले परिचालित भएपछि  अस्पतालले दिने सेवामा व्यापक परिवर्तन आएको छ ।  जिल्लाको अस्पतालको गुणस्तरमा सुधार आएपछि  स्थानीयबासी खुशी भएका छन् ।

एघार जनाको विशेषज्ञ दरबन्दी पुरै खाली 

सरकारले गुल्मी जिल्ला अस्पतालका लागि ११ जनाकन्सलटेन्टको दरबन्दी राखेको छ तर सो दरबन्दीमा एक जना पनि पूर्ति हुन सकेको छैन । तर पछिल्लो समय निक साइमन इन्स्टिच्युटले एक जना विशेषज्ञले  पठाएपछि जिल्लाबासीले विशेषज्ञको अभावको महसुश गर्न भने परेको छैन ।

निक साइमनको तर्फबाट जिल्ला सहायता कार्यक्रम अन्तर्गत कन्सलटेन्ट मेडिकल जनरलिष्ट डा. उत्तम पच्या यतिवेला गुल्मी जिल्ला अस्पतालमा पुगेका छन् । पछिल्ला समयमा भएका सर्जरीहरु सबै उनको नेतृत्वमा भएका हुन् । त्यसो तर डा पच्यासंगै निक साइमनले एक जना मेडिकल अधिकृत, एक जना एनेस्थेसिया असिस्टेन्ट, एक जना स्टाफ नर्स समेत पठाएको छ ।

सरकारका तर्फबाट दरबन्दी अनुसार ४ जना मेडिकल अधिकृत,  एक जना बीडीएस डाक्टर, मन्त्रालयका छात्रबृत्तिबाट अध्ययन सकेका २ जना डाक्टर पनि अस्पतालमा कार्यरत छन् । यथास्थितिमा बढ्दो विरामी चाप थेग्न नसकेपछि अस्पताल विकास समितिले थप १७ जना स्वास्थ्यकर्मी पदपूर्ति गरेको छ ।

‘अब हामीलाई चाहिने भनेको ह्युमन रिसोर्समा कन्सलटेन्ट र इन्फ्रास्ट्रक्चरमा भनव नै हो,’ निमित्त मेसु डा. श्यामकिशोर चौधरी भन्छन् ।

त्यसो त अस्पताल ५० बेडमा स्तरोन्नती भएपनि सो अनुसारको बजेट विनियोजन भएकै थिएन । घाटामा गईरहेको अस्पतालको नेतृत्व डा चौधरीले सम्हालेपछि नाफामा गएको छ ।

उनी आएपछि  आएपछि घाटामा गएको अस्पताल उकासिएको  छ भने १७ जना थप स्टाफलाई तलव खुवाउने मात्रै होइन प्रोत्साहन भत्ता दिएर पनि अस्पताल सञ्चालन गर्नलाई थप रकम रकम अस्पताल विकास समिति कोषमा जम्मा भएको छ ।

डा.चौधरी भन्छन्, ‘अस्पतालमा अभाव त छ नै तर भएको स्रोतको समुचित प्रयोग र परिचालन गर्नु नै अहिलेको आवश्यकता र बुद्धिमानी हो । हामीले त्यहि गरयौँ र अस्पताललाई यो अवस्थामा ल्याउन सफल भयौँ ।’

‘त्यसो त तम्घास अस्पतालमा यतिवेला युवा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली नै छ भन्दा पनि हुन्छ । त्यसैले पनि चमत्कारिक सुधार सम्भव भएको हो,’ स्थानीय रामकृष्ण थापा बताउछन् ।

 

अस्पतालको सेवा के कस्तो भयो  ?

गत आर्थिक बर्षमा ५ हजार ६४६ जनाले आकस्मिक सेवा पाएका थिए ।  २६ हजार १९४ जनाले बहिरंग सेवा लिए । त्यस्तै अन्तरंग सेवा लिनेको संख्या २ हजार ३६८ पुग्यो ।  अस्पतालले ६ हजार ९६४ जना लाई निशुल्क ओपीडी सेवा उपलव्ध गराएको थियो ।अन्तरंग सेवामा ३७२ जना र आकस्मिक सेवामा १ हजार ५०६ जनाले निशुल्क उपचार सेवा पाएका थिए ।

अस्पतालका मेसु डा चौधरी भन्छन्, ‘सरकारले ६० बर्ष काटेका, गरिब तथा असाहाय, महिला स्वयंसेविकाको उपचार निशुल्क गर्न भनेको छ तर बजेट दिएको छैन । तै पनि अस्पताल आफै कमाएर यो सेवा दिइरहेका छौँ । गतवर्ष मात्रै १० लाख बराबरको उपचार निशुल्क गरियो ।’

सर्जरी हुन थालेपछि जिल्लाबासीलाई राहत

जिल्ला अस्पतालमा सामान्य उपचार नहुँदा जिल्लाबासीहरु सामान्य उपचारका लागि समेत छिमेकी जिल्ला पाल्पा जानु पर्दथ्यो तर यतिवेला अवस्था फेरिएको छ । अव जिल्लाकै अस्पतालमा ती सामान्य सेवा मात्रे होइन जटिल मानिने केशहरुको समेत उपचार हुन थालेको छ ।

डा चौधरी भन्छन्, ‘सुत्केरीका लागि गरिने सिजेरियन सेक्सन, हाइड्रोसिल, हर्निया, एपेन्डीसाइटिस जस्ता समस्याका लागि अन्यत्र जानु पर्दैन र एक दुई महिनामै हात खुट्टा फ्याक्चर भएको केशमा समेत वायर तथा प्लेट राखेर उपचार गर्नेछौँ ।’

अस्पतालले निकट भविस्यमै इलेक्ट्रोनिक सेन्ट्रल विलिङ सिस्टम जडान गर्ने, इन्टरकम सुविधा जडान गर्ने, कम्प्युटराईज एक्सरे राख्ने साथै अल्ट्रासाउन्ड सुविधालाई अझ सुविधा सम्पन्न बनाउने योजना अघि सारेको छ ।

त्यस्तै प्रयोगशालालाई आधुनिकीकरण गरेर कल्चर तथा जिन एक्स्पर्ट सुविधा बढाउने बताएको छ । त्यसका लागि आवश्यक सामान आइसकेको र जनशक्तिलाई तालिममा पठाएको समेत बताएको छ ।

डा चौधरी भन्छन, ‘गुल्मी जिल्ला अस्पताललाई देशकै नमुना अस्पतालको विकास गर्ने योजनामा अघि सारेका छौँ । हामी गुणस्तरीय सेवालाई प्राथमिकतामा राखेका छौँ । आर्थिक रुपमा सवल बन्न समेत लागि परेका छौँ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *