पहिलो शिशु जन्मेको १२ घण्टा पछि दोस्रो र तेस्रो शिशु जन्मियो

डोल्पा २४ भदौ । डोल्पमा एक महिलाले १२ घण्टाको अन्तरमा तीन छोरी जन्माएकी छन् । डोल्पा जिल्ला अस्पतालबाट छ घण्टा पैदल दुरीमा पर्ने त्रिपुरासुन्दरी नगरपालिका ३ सू गाँउकी २८ बर्षीया महिला पुतकला धरालाले १२ घण्टाको अन्तरमा तीन छोरी जन्माएकी हुन् ।

विहीबार राती १२ बजेबाट सुत्केरी व्यथा लागेर पुतकलाले विहान साढे ८ बजे घरमै एक शिशु (छोरी) जन्माएकी थिइन । गर्भवती परीक्षणकै क्रममा पेटमा तीन सन्तान हुर्किरहेको थाह पाएका परिवारले अरु दुई सन्तान जन्माउन भने ६ घण्टा डोलामा बोकेर डोल्पा जिल्ला अस्पताल ल्याइपुरयाएका थिए ।

जिल्ला अस्पतालका एमडीजीपी डाक्टर अनुप विक्रम समालले तीन जना शिशुकै अवस्था सामान्य रहेको बताए । उनले पहिलो सन्तान जन्मेको १२ घण्टा पछि दोस्रो र तेस्रो सन्तान समेत सामान्य प्रसूतिबाटै जन्मेको बताए ।

डा समालका अनुसार गर्भवति भएको ३५ हप्तामा सुत्केरी भएकी पुतकलाको घरमा जन्मेको पहिलो शिशुको तौल १ हजार २ सय ग्राम मात्रै छ । अस्पताल ल्याएर जन्मेको दोस्रो शिशुको तौल २ हजार २ सय ग्राम र तेस्रो शिशुको तौल १ हजार ७ सय ग्रामको छ ।

कम तौलको भएपनि शिशुहरु स्वस्थ रहेको र आमाको अवस्था समेत सामान्य रहेको उनले जानकारी दिए । यद्धपी तिम्लिया र कम तौलका शिशु भएकोले अझ ३ -४ दिन अस्पतालमै राख्ने उनले बताए ।

पहिलो सन्तान जन्मेको सुनेपछि अस्पताल अलर्ट
गर्भवती भएका बेला परीक्षणका लागि जिल्ला अस्पताल पुगेकी पुतकलालाई चिकित्सकहरुले पेटमा तीनवटा शिशु हुर्किरहेको बताएका थिए । उनीहरुले सुत्केरीका बेला जटिलता हुनसक्ने भन्दै ३४ हप्ता पछि अस्पताल नजिक आएर बस्न पहिल्यै भनेका पनि थिए । तर पुतकलाले त्यसको ख्याल गरिनन वा राम्ररी ध्यान दिइनन् ।

३५ हप्ता ३ दिनको दिन विहीबार राती १२ बजेबाट पुतकलालाई सुत्केरी व्यथाले च्यापि हाल्यो । विहान अस्पताल लैजाने तयारी गर्दा गर्दै साढे आठ बजे एउटा शिशु घरमै जन्मिहाल्यो । त्यसपछि स्थानीय स्वास्थ्यकर्मी र परिवारले जिल्ला अस्पतालमा सम्पर्क गरयो । ‘हामलाई पुतकलाका परिवार र स्वास्थ्यकर्मीहरुले सम्पर्क गर्नुभयो ।

‘हामीले सकेसम्म छिटो यहाँ ल्याउनुस भन्यौँ । दिउसो साढे दुई बजे तिर ल्याइपुरयाउनु भयो । ल्याउनासाथ भिडियो एक्सरे गरयौँ । पेटका दुवै शिशुको अवस्था सामान्य थियो । त्यसपछि बेलुका साढे आठ बजेतिर सामान्य प्रक्रियाबाटै दुई सन्तान जन्मियो,’ डा समालले बताए ।

उनले परिवारले खबर गर्नासाथ अस्पताल तयारीका साथ उच्च तयारीका साथ रहेको बताए ।  १२ घण्टाको अन्तरमा सुत्केरी हुँदा अत्यधिक रक्तश्राव हुने वा पानी कम हुने वा अन्य कारणले पेटमा रहेको शिशु र सुत्केरीलाई नै अप्ठेरो पर्न सक्ने भएपनि पुतकला भने त्यो मानेमा भाग्यमानी रहेको डा समालले टिप्पणी गरे ।

तिम्लिहा मध्ये दुई जनालाई आमको एक जनालाई फुपुको दुध
विहान जन्मिएकी १ हजार २ सय ग्रामको शिशुले आफ्नो फुपुको दुध चुसिरहेकी छन् । बेलुका जन्मेका दुई शिशुले भने आमाको दुध चुसेका छन् । विहान जन्मेको शिशु सानो भएको र आमाको दुधको मुन्टा ठूलो भएकोले चुस्न नमिले पछि उनलाई आफ्नै फुपुले स्तनपान गराएकी छन् । बाँकी दुईले भने आमाको दुध चुसिरहेका छन् ।

पुतकलाका भए ६ वटी छोरी
पहिल्यै तीन छोरी भएकी पुतकला र धर्मबहादुरले सम्भवत छोराको आश गरेर चौथो सन्तान जन्माउने योजनामा थिए । तर उनीहरुले एकैपटक थप तीन छोरी पाए । यो संगै उनीहरु छ जना छोरीका माता पिता बनेका छन् । छोरी नै जन्मेपनि आमा बाबु खुशी रहेको डा समालले बताए । ‘उहाँहरु एकदम खुशी देखिनु भएको छ । छोरीहरु भए झन बढी माया गर्छन भन्नु भएको छ । त्यस्तो केही अप्ठेरो मान्नु भएको छैन,’ उनले भने ।

डोल्पा जिल्ला अस्पतालमा तिम्लाहा हेर्नेको भिड
तीन सन्तान जन्मेको खबर सार्वजनिक भएपछि यति खेर डोल्पा जिल्ला अस्पतालमा शिशु र सुत्केरी हेर्नेको भिड बढेको छ । यता तीन जना सामान्य प्रसूतिबाटै जन्मिएको र आमा शिशुहरु स्वस्थ रहँदा स्वास्थ्यकर्मी र परिबार समेत खुशी देखिएका छन् ।

तस्बिर : तारा बोहरा ( स्टाफनर्स )

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *