राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दुई जना निर्देशक

– सुधिर ढुंगेल

काठमाडौँ, २३ भदौ । यतिवेला राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा टेकुमा दुई जना निर्देशक छन् । एक जना सरकारले नियुक्ति गरेको निर्देशक अर्को सर्बोच्च अदालतबाट तोकिएको निर्देशक ।

स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले गत ५ भदौमा मन्त्रीस्तरीय निर्णय गर्दै प्रयोगशालाका निर्देशक डा राजकुमार महतोलाई बीर अस्पतालमा सरुवा गरी उनको ठाँउमा डा रुना झालाई नियुक्त गरेका थिए । सो निर्णय कार्यान्वनय नगर्न नगराउन भन्दै डा. महतो १४ भदौमा सर्बोच्च अदालत गए र १५ भदौमै निर्णय कार्यान्वनय नगराउने अन्तरिम आदेश लिएर आए ।

तर स्वास्थ्य मन्त्रालयबाट निर्देशकको नियुक्ती पत्र बुझेर कुर्सी सम्हालेकी डा झाले आफ्नो कामलाई निरन्तरता दिइरहेकी छन् । १५ भदौमा सर्बोच्चबाट अन्तरिम आदेश पाएपछि महतोले पनि निर्देशककै रुपमा हाजिर हुँदै आएका छन् । यद्धपी मन्त्रालयबाट पत्र पाइनसकेकोले उनले जिम्मेबारी भने पाएका छैनन् ।

पाँच महिना अघि मात्रै नियुक्त भएका डा महतोले छ महिना पछि अनिवार्य अवकाश पाउँदैछन् । कार्यालय प्रमुख भएको व्यक्तिलाई युनिट प्रमुखको रुपमा बीर अस्पतालमा सरुवा गरेपछि उनी सर्बोच्च अदालत गएका हुन् ।

‘म छ महिना पछि अवकाश हुँदैछु । २८ बर्ष सेवा गरेँ । नेपाल सरकारको कानूनले पनि एक बर्ष यता सरुवा गर्न पाइदैन भन्ने छ तर मलाई हठात रुपमा सरुवा गरियो । यसले मेरो आत्मसम्मानमा ठेस पुगेको महसुस गरेँ र अन्यायपूर्ण निर्णयको विरुद्ध सर्बोच्च गएँ ।’  उनले २७ भदौमा आफ्नो पेशी तोकिएको बताए ।

तत्कालिन मन्त्री गगन थापाले डा महतोलाई १७ फागुनमा निर्देशक बनाएका थिए । नयाँ मन्त्री पोखरेलले गत ५ भदौमा दोस्रो बरियतामा रहेकी डा झालाई निर्देशक बनाए । झा जी को त काम गर्ने समय अझै १७ – १८ बर्ष छ । म त बैशाख पछि रिटार्यड हुँदैछु ।’ सेवाको अन्त्यतिर सम्मान पाइएला भनेको यस्तो पो भयो,’ महतोले गुनासो गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *