महाराजगञ्ज मेडिकल क्याम्पसले यसैबर्ष देखि बीडीसी शुरु गर्ने

काठमाडौँ, २२ भदौ । महाराजगञ्ज मेडिकल क्याम्पसमा यसबर्ष देखि ब्याचलर्स अफ डेन्टल सर्जरी (बीडीएस) कार्यक्रम सुरु गर्ने भएको छ । नयाँ कार्यक्रम अन्तरगर्त महाराजगञ्ज क्याम्पसले यसबर्ष २५ सिटमा बीडीएस कार्यक्रम शुरु गर्न लागेको हो ।

त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमका डीन प्राडा जगदीश अग्रवालले नयाँ कार्यक्रम अन्तर्गत यसैबर्ष देखि साढे पाँच बर्षे बीडीएस कार्यक्रम सुरु गर्ने जानकारी दिए । उनले बीडीएस महाराजगञ्ज क्याम्पसको नयाँ कार्यक्रम भएको बताए ।

महाराजगञ्ज मेडिकल क्याम्पसका प्रमुख प्राडा प्रताप नारायण दासले यसैबर्ष देखि २५ सीटमा बीडीएस कार्यक्रम सञ्चालन गर्न फ्याकल्टी बोर्डले स्वीकृति दिएको भन्दै तयारी अन्तिम चरणमा पुगेको बताए ।

त्यसो त आइओएम डीन कार्यालयले चालु शैक्षिक शत्रबाटै बीडीएस अध्ययनका लागि प्रवेश परीक्षामा सहभागी हुन अनलाइन फारम भर्न सूचना समेत निकालेको छ ।

डीन कार्यालयले २५ सिट मध्ये ११ सीट सहुलियत शुल्कीय, ७ सिट पूर्ण शुल्कीय तोकेको छ । त्यस्तै विपन्न महिला, विपन्न आदीवासी जनजाती र विपन्न मधेशीमा एक एक सीट गरी ३ सीट आरक्षण तोकेको छ ।बीडीएसमै ४ सीट विदेशीका लागि छुट्याएको छ ।

क्याम्पस प्रमुख दासले बीडीएस कक्षाका लागि पुरानो डीन कार्यालयको भवन तयार गर्दै गरिएको जानकारी दिए । उनले अध्यापनका लागि फ्याकल्टी समेत तयारी अवस्थामा रहेको बताए । ‘पाँच जना फ्याकल्टी भए पुग्छ तर हामीसंग नौ जना फ्याकल्टी हुनुहुन्छ,’ क्याम्पस प्रमुख दासले भने ।

सीट संख्या तोकेर प्रवेश परीक्षाको लागि फारम भर्न सूचित गरेपनि नेपाल मेडिकल काउन्सिलबाट आइओएम अन्तर्गतका मेडिकल क्याम्पसहरुमा इन्सपेक्सन भइसकेको छैन । काउन्सिलका रजिष्टार डा दिलीप शर्माले अबको केही दिनमै सो निरीक्षणको कार्य सक्ने बताए । काउन्सिलले निरीक्षण पछि मात्रै सिटको अन्तिम टुंगो लाग्ने छ ।

डीन कार्यालयले यसबर्ष महाराजगञ्ज क्याम्पसमा बीडीएस बाहेक स्नातकतर्फ एमबीबीएसमा ७६ सिट, व्याचलर्स अफ अप्टोमेट्रीमा १० सिट, व्याचलर अफ अडियोलोजी एण्ड स्पीच ल्याङग्वेज प्याथोलोजीमा ६ सीट, व्याचलर अफ फार्मेसीमा २० सीट, व्याचलर इन पव्लीक हेल्थ बीपीएचमा ४० सिट, विएस्सी एमएलटीमा ११ सिट, विएस्सी एमआईटीमा १० सिट तोकेर प्रवेश परीक्षामा सहभागी हुन विद्यार्थीहरुलाई आवहान समेत गरिसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *