काठमाडौँ नेशनलको सम्वन्धन खारेजी गर्ने तयारीमा त्रिवि

काठमाडौँ, २१ भदौ । त्रिभुवन विश्वविद्यालय घट्टेकुलोस्थित काठमाडौँ नेशनल मेडिकल कलेजको सम्वन्धन खारेजी गर्ने तयारी गरेको छ । मेडिकल कलेज सञ्चालन गर्न आवश्यक न्युनतम पूर्वाधार नभएको भन्दै ४० दिन अघिको सम्वन्धन दिने निर्णय खारेजीको तयारी गरेको हो । त्यसका लागि आजै दिउसो त्रिवि कार्यकारी परिषदको बैठक बस्ने तयारी गरेको छ ।

त्रिविका उपकुलपति प्राडा तीर्थ खनियाले दिउसो कार्यकारी परिषदको बैठक बस्ने तयारी भएको र त्यसले आवश्यक निर्णय लिने बताए । उनले सम्वन्धन खारेजी हुने संकेत गरे ।

‘हामीले तीन बर्ष अघिको निरीक्षण प्रतिवेदन र सर्बोच्च अदालतको आदेश अनुसार गत १२ साउनमा सम्वन्धन दिने निर्णय गरेका थियौँ । तर त्यो निर्णयमा विवाद देखा परेपछि पुन छानवीन अघि बढायौँ । त्यसले सम्वन्धनका लागि योग्य देखिएको पाइएन,’ उनले भने ।

प्राडा खनियाले मेडिकल कलेज सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयबाट समेत स्विकृति नलिएको पाइएको बताए । यता त्रिविद्धारा गत साता गठिन अनुगमन टोलीले आजै कलेजको निरीक्षण गरेको छ ।

त्रिविका प्रशासक परसुराम कोइराला, कानून संकायका प्राध्यापक सनत देवकोटा र डा प्रसन्न भट्टको टोलीले निरीक्षण गरेको थियो । ‘सो क्रममा काठमाडौँ नेशनलमा विगत तीन बर्ष देखि कुनै पनि विरामी भर्ना नभएको पाइएको,’ टोलीका एक सदस्यले बताए ।प्राडा खनियाले टोलीले आजै प्रतिवेदन दिने र त्यसपछि बस्ने बैठकले निर्णय गर्ने बताए । 

यता काठमाडौँ नेशनलको सम्वन्धन खारेजी र चिकित्सा शिक्षा विधेयक पास हुनुपर्ने लगायतका माग अघि सारेका डा गोविन्द केसीले अपरान्ह ४ बजेबाट पुन अनसन थाल्ने बताएका छन् । यद्धपी त्रिवि कार्याकारी परिषदले गर्ने निर्णयको आधारमा अनसन सुरु हुने वा स्थगित हुनेको निधो हुने उनका सहयोगी डा अभिसेक सिंहले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *