एउटा सरकारी अस्पताल जहाँ विरामीको खरिद बिक्री हुन्छ

राजबिराज १५ भदौ । पत्याउन गाह्रो पर्ला तर गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा विरामीहरुको खरिद बिक्री हुने गरेको छ । यहाँ मारुती भ्यान, एम्बुलेन्स चालक वा स्वास्थ्य सम्वद्घ व्यक्तिका रुपमा रहेका बिचौलियाले बिरामी किन्ने र निजी अस्पतालाई बेच्ने गरेका छन् ।

अञ्चल अस्पताल अगाडी लहरै हरदम आधा दर्जन भन्दा बढी संख्यामा खडा रहने मारुती भ्यान, एम्बुलेन्स आदिलाई एउटा विरामी ल्याएबापत निजी अस्पतालले रकम दिने गरेका छन् ।

अस्पतालमा आएका विरामीलाई अस्पतालबाट वा बाटैबाट मोडेर विराटनगरलगायतका स्थानमा भएका निजी अस्पताललाई एकजना विरामी लगिदिए वापत चालकहरुले न्यूनतम ५ सयदेखि डेढ हजारसम्म रकम पाउने गरेका छन् ।

अस्पतालभित्र र वरपर हुने यस किसिमको खरिद बिक्रीबारे स्थानीय पनि जानकार छन् । ठूला निजी स्वास्थ्य संस्थाले विरामी पठाउन सहयोगी वातावरण होस् भनेर आफ्ना एजेन्ट नै सरकारी अस्पतालमा खटाउने गरेको स्थानीय बासिन्दा बताउँछन् । ‘पूर्वाञ्चलका निजी अस्पतालले विरामी तान्न मार्केटिङ एक्ज्युकिटिभ समेत यहाँ खटाएका छन्,’ एक स्थानीयले भने ।

‘मेरी श्रीमती नितुदेवी यादवलाई यहाँ आकस्मिक उपचारमा ल्याउँदा घन्टौं कुर्नु पर्‍यो । त्यहीबेला यहाबाट बाहिर उपचार गराउन लाने हो भने मारुती भ्यान मगाइ दिन्छु भनेर अस्पतालमै मलाई भन्न आइपुगे,’ स्थानीय युवा देवनारायण गुरमैताले भने । औषधि बिक्रि प्रवर्धन गर्ने मेडिकल रिप्रजेन्टेटिभजस्तै निजी अस्पतालको व्यापार प्रवर्धन गर्ने प्रतिनिधिहरुमात्र नभएर चिकित्साकर्मीहरुसमेत यसमा संलग्न रहेको स्थानीयको दावी छ ।

यो कुरा अस्पताल प्रशासनसँग पनि छिपेको छैन । ‘विराटनगर लगायतका निजी अस्पतालमा एउटा विरामी ल्याएबापत एम्वुलेन्स चालकले ५ सय देखी १५ सयसम्म पाउछन् भन्ने हामीले पनि सुनेका छौं,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दया शंकरलाल कर्ण भन्छन्, ‘हरेक सरकारी अस्पताल अगाडी एम्वुलेन्स र निजी गाडी हुन्छन्, उनीहरुले बिरामी किनबेचको सेटिङ मिलाएका हुन्छन् ।’ तर, बिरामी किनबेचमा अस्पतालका चिकित्सक, चिकित्साकर्मी समेत संलग्न रहेको दाबीलाई भने डा।कर्णले अस्वीकार गरे । ‘यो काम बाहिरको गिरोहले गरिरहेको हो, अस्पतालको कुनै संलग्नता छैन,’ उनले बताए । उनले यस्तो दलाली रोक्न अस्पतालमात्र नभइ स्थानीय नागरिकसमेतको सहयोगको खाँचो रहेको बताए ।

प्रायस् यस्ता ‘उपचार विचौलिया’ हरु बिहान चिकित्सकले अन्तरंग विभागमा राउन्ड लिएर फर्केलगतै विरामी भएको ठाउँमा पस्छन् । विरामी र उनका आफन्तहरुलाई ‘यो अस्पतालमा उपचार नै हुँदैन’, ‘यहीं राख्ने हो भने तपाईंको विरामी मर्छ’ भन्दै आफूले राम्रा निजी अस्पताल लगिदिने बताउँछन् । र, अस्पताल बाहिर तयार अवस्थामा राखिएका मारुती भ्यान र एम्बुलेन्सतिर देखाउछन् ।

विरामीको किनबेच बढ्न थालेपछि अहिले यो अस्पताललाई ‘रेफरल सेन्टर’समेत भन्ने गरिएको छ । सामान्य घाउचोटको समस्याबाहेक अस्पताल आउने अधिकांशलाई अन्यत्र ‘रेफर’ गर्ने गरिएको भन्दै स्थानीयले यो नाम दिएका हुन् । ‘मेरो अनुभवमा प्रत्येक एक घन्टामा एकजना विरामी उपचारका लागि बाहिर रेफर गरिन्छ वा आफैं जान्छन्,’ गुरमैताले भने, ‘कतिलाई दलालले लान्छन्, कति उपचारमा सहयोगको अभावले पनि जान्छन् ।’

मेडिकल सुपरीटेन्डेन डा. कर्ण भने केही बिरामी आफैं भाग्ने, केहीका आफन्तले नै रेफर गर्न कर गर्ने र केहीको समस्याको उपचारको सुविधा अस्पतालमा नभएर रेफर हुने गरेको दावी गर्छन् । ‘हामीले धेरैजसो विरामीलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गर्छौं तर विरामीहरु त्यहाँ नगएर गोल्डेन, विराट नर्सिङ्ग होम, न्युरोतिर जान्छन् ।’ स्वास्थ्य क्षेत्रमा माफिया सक्रिय भएकोले यस्तो स्थिति देखिराखिएको उनको दाबी छ । उनले यस्तो दावी गरे पनि अस्पतालमा पूरा समय चिकित्सक नहुनाले पनि विचौलियाको कारोबार बढेको स्थानीय बताउछन् । सामान्यत स् अधिकांश चिकित्सकहरु १० देखि ११ बजे अस्पताल पुग्ने र १ बजेतिर निस्किसक्ने स्थानीय बताउछन् ।

‘१ बजेतिर त बहिरंग सेवामा ताला लागिसक्छ,’ राजविराजका एक स्थानीयले भने । ‘१२ बजेपछि त पुर्जा नै काटदैनन्, टाढा गाउँबाट आउनेहरु बल्ल आइपुगेका हुन्छन् । यहाँ पुर्जै नकाटे पछि उनीहरु निजीमा गएर डाक्टरलाइ महंगो शुल्क तिर्न बाध्य हुन्छन्,’ अस्पतालकै एक कर्मचारीले भने । डा. कर्ण पनि बिहान ९ बजेदेखि दिउसो ३ बजेसम्म बस्नु पर्ने समय पालना हुन नसकेको स्वीकार्छन् ।

‘रेफर रोक्नलाई अस्पतालमा जनशक्ति पर्याप्त हुनुपर्‍यो, शल्यक्रिया, एनआइसियु, आइसियु सेवा विशेषज्ञ चिकित्सक आदि हुनुपर्‍यो,’ डा. कर्ण भन्छन् । उनले अस्पताल अञ्चल स्तरीय भए पनि क्षमता र सेवा त्यसअनुसार नभएको बताए । यहाँको इमजेन्सी सेवा २५ सैय्याको भए पनि दिनहु थुप्रै विरामीलाइ भुइमै सुतेर उपचार हुने गरेको छ । अस्पतालका अनुसार शैय्या अभावमा दैनिक औसत २० जना विरामी भूईमा सुताएर उपचार गराउने गरिएको छ ।

राजविराजका युवा नेता अर्जुनप्रसाद साह यहाँका चिकित्सकहरुले आफ्नो निजी क्लिनिकमा विरामी पठाउनका लागि अस्पतालमा आफैंले एजेन्ट राख्ने गरेको समेत बताउछन् । ‘यो यस्तै अस्पताल हो जहाँ विरामीको सेवा र उपचारबाहेक धेरै काम हुन्छ ।’

निजीमा उपचार गराउन आउनेलार्इ डाक्टरले प्रसस्त परिक्षणहरु लेख्ने गरे पनि सरकारी अस्पतालको वहिरंग सेवामा उपचारको लागि आउनेहरुलाई सामान्यतया परिक्षण गराउने सल्लाह दिइदैन । निजीमा परिक्षण गराउँदा कमिसन पाउनुका साथै केही चिकित्सकले आफै क्लिनिक संञ्चालन गरेका ठाउँमा मात्र परिक्षण गराउन यस्तो गरिने अस्पतालकै एक कर्मचारी बताउछन् ।

‘परिक्षण गरायो भने रिपोर्ट हेर्नु पर्छ, दुई बजेसम्म बस्नु पर्छ । त्यसैले उनीहरु खासै टेष्ट गराउन नै भन्दैनन्,’ ती कर्मचारीले भने । प्रसुति सेवका लागि आउने महिलाहरुलाई पनि सरकारीमा राम्रो स्याहार नहुने भन्दै निजी क्लिनिकतिर पठाउने गरिएको उनले बताए ।

केही चिकित्सकले जानीजानी ओपीडीका विरामीको परिक्षण नलेख्ने गरेको हुनसक्ने डा।कर्ण स्वीकार्छन् । ‘हामी कहाँ नै प्रयोगशाला भए पनि केही डाक्टरले बाहिर निजी क्षेत्रमा परिक्षण गराउन पठाउँने गरेको हामीले थाहा पाएका छौं । यसमा समेत हामी थप सोधखोज गर्देछौं,’ उनले भने । अस्पतालको ५ सय मिटरभित्र निजी क्लिनिक खोल्न नपाइने भए पनि गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालको दुवै मुख्य ढोका अगाडी क्लिनिक, प्रयोगशाला छन् ।

डा. कर्ण आफू अस्पताल सुधार गर्न आएको बताउछन् । ‘मलाई यहाँका समस्या थाहा छ, सुधार गर्ने प्रयास पनि गरिरहेको छु तर एक्लै कति गर्न सकिन्छ र ?’ उनी भन्छन् । अस्पतालमा ५० शैय्या स्वीकृत भए पनि १ सय २५ शैय्या छन् । यहाँ विशेषज्ञ सेवा छैन । हाडजोर्नी, महिला शल्यक्रिया हँुदैन । आइसियु, एमआइसियु सेवा छैन । ‘भन्दा अञ्चल अस्पताल भने पनि यसको हालत सामान्य हेल्थपोस्टको जस्तो छ,’ एक स्थानीय चिकित्सकले भने ।

  • आजको कान्तिपुरमा अतुलमिश्रको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *