नर्भिकको बालिका मृत्यु प्रकरण : डा. श्रेष्ठको संयोजकत्वमा छानवीन समिति गठन

काठमाडौँ, १४ भदौ । सरकारले नर्भिक हस्पिटलमा उपचारका क्रममा मृत्यु भएकी १६ महिने बालिकाको केशको जाँचबुझ गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले स्वास्थ्य मन्त्रालयलका प्रमुख विशेषज्ञ डा विनोदमान श्रेष्ठको संयोजकत्वमा ६ सदस्यीय जाँचबुझ समिति गठन गरेको हो । समितिका सदस्यहरुमा नेपाल मेडिकल काउन्सिलका सदस्य डा ढुण्डि पौडेल, सिभिल अस्पतालका बालरोग विशेषज्ञ प्रकाश ज्योति पोखरेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखाका प्रतिनिधी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधी रहने छन् । सो समितिमा बालिकाका बाबु डा रमेश आचार्यलाई समेत राखिएको छ ।

प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भएको छलफलबाट सो समिति गठन भएको हो । समितिलाई सात दिन भित्र सत्य तथ्य पेश गर्न भनिएको बालिकाका मामा सुरेश चपाईले बताए ।

केही दिन देखि निमोनिया भएर मंगलबार विहान १०बजे नर्भिक हस्पिटल पुरयाइएकी १६ महिने बालिका भिक्टोरिया आचार्यको मध्यान्न साढे १२ बजे निधन भएको अस्पतालले जानकारी गराएको थियो ।

परिवार तथा आफन्तले भने चिकित्सकको लापरवाहीले शिशुको ज्यान गएको भन्दै चिकित्सक तथा अस्पताल विरुद्ध नाराबाजी गरेका थिए । आक्रोशित भिडले हिजो अस्पतालको अगाडीको भागमा सामान्य तोडफोड प्रयास समेत गरेको थियो ।

शिशुका मामा चपाईले विहान ९ बजे आमाको दुध खुवाएर उपचारका लागि ल्याइएकी बालिकालाई ठूलो साइजको पाइप घाटीबाट जबरजस्ती छिराएपछि रक्तश्राव भई मृत्यु भएको आरोप लगाए ।

उनले उपचारमा सम्लग्न डा विनिता जोशी, डा ऋतु लामिछाने, डा सुरेश लामिछाने, डा सुनिला शाक्य लगायत उपचारमा सम्लग्न चिकित्सकको लाइसेन्स खारेज गर्दै कडा कारबाही गर्नुपर्ने माग रहेको बताए ।

यता अस्पतालले भने आफ्नो कुनै गल्ती नभएको जनाएको छ । अस्पतालका एक अधिकारीले नेपाली हेल्थसंग कुरा गर्दै क्रोनिक निमोनिया भएर गम्भीर अवस्थामा हस्पिटलमा ल्याइ पुरयाएको र उपचारका क्रममा मृत्यु भएको बताए ।

‘शिशुको बुबा पनि चिकित्सक नै हो भन्ने सुनेका छौँ । उहाँले घाटीमा ठूलो पाइप हाल्यो र शिशु मरयो भन्नु भएको छ । यो त हल्का कुरा भयो । के कति हाल्न मिल्छ मिल्दैन भन्ने त गाइडलाइनले स्पष्ट भनेको छ । र उपचार गर्नेहरु बरिष्ठ चिकित्सक नै हुनुहुन्छ । बचाउने प्रयास गरेकै हौँ तर दुर्भाग्यबस प्रयास सफल भएन । हामीले पुरापुर कोशिश गरेका हौँ ,’ उनले भने ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *