कान्ति अस्पतालमा बिरामी बालबालिकाको संख्या दोब्बरले बढ्यो

काठमाडौँ, १४ भदौ । गत साता यता कान्ति बाल अस्पतालमा बिरामी भएर उपचार गर्न आउने बालबालिकाको संख्या झण्डै दोब्बरले बढेको छ । अस्पतालमा औषत ४ सयको हाराहारीमा विरामी बालबालिका उपचारका लागि आउने गर्दथे तर पछिल्लो साता यो संख्या बढेर दैनिक औषत साढे नौ सय पुगेको छ ।

अस्पतालका निर्देशक डा गणेश राईले पछिल्लो एक साता यता रुघाखोकी झाडा पखला , श्वासप्रश्वास र ज्वरोका विरामी एक्कासी बढेको बताए । उनले बढनुमा केही साता यता उपत्यका सहित उपत्यका बाहिर देखिएको स्वाइनफ्लुको हल्लाले समेत काम गरेको बताए । ‘हिउदमा चार सयको हाराहारीमा विरामी आउछन् । बर्खा बेलामा ६ देखि ७ सय पुग्ने गर्दथ्यो । तर अहिले त त्यसलाई नाघ्यो । नौ सयको हाराहारीमा पुग्यो,’ डा. राईले भने । उनले इमरजेन्सी तथा अव्जरभेसन वार्डमा विरामी बालबालिका राख्न धौ धौ भएको बताए ।

अस्पतालका बरिष्ठ बालरोग विशेषज्ञ डा कृष्णप्रसाद पौडेलले सामान्य रुघा खोकी लाग्नासाथ अभिभावकले स्वाइनफ्लुको डरले अस्पताल ल्याइ हाल्ने गरेको बताए । उनले अस्पतालमा ल्याइएका अधिकांंश बालबालिकाहरुमा अपर रेस्परेटरी (माथिल्लो श्वासप्रश्वास)को समस्या देखिएको बताए ।

बेड अपुग भयो
बिरामी बालबालिकाको संख्या बढेसंगै कान्ति अस्पतालमा बेड अभाव भएको छ । ५२ बेडको आईसियु सहित कुल ३५१ बेडको अस्पताल बिरामी बालबालिकाले खचाखच छ । यद्धपी अस्पतालले जनशक्ति अभावमा १३ बेड आईसियु सञ्चालन गर्न सकेको छैन । निर्देशक डा राईले बेड अभाव भएपछि एउटै बेडमा दुई जना सम्म बिरामी राखेर उपचार गरिएको बताए ।

सतर्कता अपनाउनु बुद्धिमानी
बालरोग विशेषज्ञ डा पौडेलले बालबालिकालाई इन्फुलेन्जाले समातेको भन्दै अभिभावक आत्तिदै आउने गरेको भन्दै सतर्कता अपनाउन बुद्धिमानी हुने बताए ।

उनले रुघाखोकी लागेका बालबालिकालाई भिडभाडमा नलैजान, हात राम्ररी सावुनपानीले धुन, रुघा खोकी लाग्दा प्रयोगका सामानहरु छुट्टै राख्न, प्रसस्त झोल पदार्थ सेवन गराउन सुझाव दिए । उनले पछिल्लो पटक स्वाइनफ्लु विरुद्धको सुई आएको भएपनि त्यसले सतप्रतिशत सुरक्षा नदिने भन्दै सतर्कताको अरु उपाय छोडन नहुने बताए ।

उनले रोगप्रतिरोधी क्षमता कम भएका बालबालिकाहरु बढी यो बेलामा बढी जोखिममा रहेको भन्दै त्यस्ताले सतर्कता अपनाउनु पर्ने बताए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *