सर्पदंश उपचार केन्द्रमा श्यया अभाव

महोत्तरी, १ भदौ । महोत्तरीको बर्दिवासस्थित सर्पदंश उपचार केन्द्रमा बिरामीको संख्यामा वृद्धि भएपछि बिरामीको उपचार गर्न श्ययाको अभाव भएको छ ।

सो उपचार केन्द्रमा दिनहुँ आठदेखि १० जनासम्मका सर्पदंशका बिरामी उपचारको लागि आउने भएपछि उपचार गराउनका लागि श्ययाको अभाव भएको हो ।

तीनवटा मात्र श्यया रहेको र बिरामीको संख्यामा वृद्धि भएपछि एक श्ययामा दुईजनासम्म बिरामीलाई राखेर उपचार गराउँदै आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

एक त उपचार केन्द्र एक सानो कोठामा सञ्चालन गर्नुपरेको, अर्कोतर्फ बिरामीको चापले ठाउँको अभावमा उपचार गर्न समस्या भएको चिकित्सकले जनाएका छन् ।

बिरामीलाई एउटै श्ययामा राखेर उपचार गराउँदा सरुवा रोगको प्रकोप उच्च रहेको स्थानीय राजकुमार गोलेको भनाइ रहेको छ ।

सर्पदंशका घाइते उपचार गराएर घर गएता पनि उनमा अर्को सरुवा रोगको खतरा भने यथावत नै रहने गोलेको भनाइ रहेको छ ।

सर्पले टोकेर घाइते भएका बिरामीलाई जसोतसो उपचार गरेता पनि गम्भीर प्रकृतिका बिरामीलाई भेन्टिलेटरको अभावमा बचाउन मुस्किल भएको सर्पदंश उपचार केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले बताए ।

यस उपचार केन्द्रलाई आधुनिक प्रविधियुक्त उपचार केन्द्रको रुपमा विस्तार गर्नका लागि केही दिन पहिले स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेललाई भेटेर जानकारी गराएकाले केही दिनमै यसलाई व्यवस्थित गर्न पहलकदमी हुने आश्वासन दिइएको स्थानीय राजु खड्काले जानकारी दिए ।

महोत्तरीको प्रकौलीस्थित फस्र्ट राइफल गणको प्राविधिक सहयोगमा सञ्चालित जिल्लाको एकमात्र सर्पदंश उपचार केन्द्रमा जिल्लाका अन्य स्थानसहित सर्लाही, सिन्धुली, धनुषालगायतका क्षेत्रका बिरामीको भीड हुने गरेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *