बाढीप्रभावित जिल्लाका करिब ८० प्रतिशत जनता महामारीको जोखिममा

काठमाडौँ, ३२ साउन । स्वास्थ्य विभागले बाढी र पहिरो प्रभावित २९ जिल्लाका ७० देखि ८० प्रतिशत जनता महामारीको जोखिममा रहेको हुनसक्ने बताएको छ ।

विभागले आज पत्रकार सम्मेलन गर्दै प्रभावित जिल्लामा पर्याप्त औषधिसहितको स्वास्थ्यकर्मी परिचालन गरिसकेको जानकारी दिएको छ । विभागका महानिर्देशक डा राजेन्द्र पन्तले बाढीग्रस्त जिल्लामा महामारी फैलिएको भन्ने कुरामा कुनै सत्यता नभएको बताए।

उनले भने, “अहिले बाढीको अवस्था हो, महामारी फैलिसकेको छैन तर फैलनसक्ने सम्भावना उच्च भएकाले यो समयमा शुद्ध पानी र स्वस्थ खाना खानु नै बच्न सकिने एक मात्र उपाय हो ।” मन्त्रालयले गत आइतबार नै बाढी प्रभावित क्षेत्रमा छुट्टाछुट्टै विपद् व्यवस्थापन टोली खटाई सकेको छ । विराटनगर, जनकपुर, रौटहट, सप्तरी र नेपालगन्जमा खटिएका टोलीले वरपरका जिल्ला पनि हेर्ने बताइएकोछ ।

विभागका उपमहानिर्देशक चुडामणि भण्डारीले पूर्वका रौतहट, महोत्तरी र पश्चिममा बाँकेका कतिपय स्वास्थ्य संस्थामा पानी पसेको भएपनि सेवा अवरुद्ध भएको छैन, कतिपय स्वास्थ्य संस्थालाई विद्यालयमा सारेर पनि उपचार गर्न सुरु गरिएको बताए ।

सबै स्थानमा औषधि र चिकित्सक पुगिसकेको र कुनै स्थानमा विद्युत् अवरुद्ध भएकाले सम्पर्क हुन गाह्रो परिरहेको विभागले जनाएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भीम आचार्यले बाढीपश्चात् देखिने झाडापखाला, हैजा, आउँ, कमलपित्त, टाइफाइड, हेपाटाइटिस र सर्पदंशलगायत रोगव्याधि र संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सबै स्वास्थ्य संस्थामा पर्याप्त जनशक्ति र औषधि व्यवस्थापन गरिएको जानकारी दिए ।

प्रभावित जिल्लाका अस्पतालले ७ दिनसम्मका लागि निःशुल्क स्वास्थ्य सेवा दिइरहेको मन्त्रालयले जनाएको छ । निर्देशक आचार्यले संक्रमण फैलनसक्ने सम्भावनालाई ध्यानमा राखी पानी उमालेर, शुद्धीकरण गरी पिउन आग्रह गरे ।

महोत्तरीको मुसहर बस्तीमा ३७ व्यक्ति झाडापखालाबाट प्रभावित भएको र झापाका केही बाढीपीडितमा झाडापखालाको प्रकोप देखिएको अपुष्ट खबर आएको उनले बताए । पानी शुद्धीकरण गरी पिउनका लागि प्रभावित जिल्लामा पियुष, क्लोरिन झोल वितरण गरिएको निर्देशक आचार्यले बताए ।

मन्त्रालयले सरुवा रोग महाशाखाको हटलाइन नम्बर ०१—४१००१८७, ०१—४२६२२६८ र मोबाइल नं ९८५१०९६०८९ मा सम्पर्क गरी सहयोग समन्वय गर्न पनि सबैमा आग्रह गरेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *