आवासीय चिकित्सकद्धारा कडा आन्दोलन घोषणा गर्न एनएमएको ध्यानाकर्षण

काठमाडौँ, २७ साउन । त्रिवि शिक्षण अस्पतालका आवासीय चिकित्सकहरु डा गोविन्द केसीको स्वास्थ्य गम्भीर बन्दा समेत नेपाल चिकित्सक संघ मौन बसेको आरोप लगाएका छन् । उनीहरुले सरकारलाई दवाव पुग्ने खालको कडा आन्दोलन तत्काल घोषणा गर्न संघका पदाधिकारीसंग माग गरेका छन् ।

बिहिबार चिकित्सा शिक्षा विधेयकको बारेमा एनएमएले निजी क्षेत्रका मेडिकल सञ्चालकहरुसंग छलफल गरिरहेका बेला महाराजगञ्जबाट आवासीय चिकित्सकको समूह एनएमए घेर्न पुगेका थिए । भित्र छलफल चलिरहँदा आवासीय चिकित्सकहरुले भने बाहिर नाराबाजी गरेपछि एनएमएले प्रहरी समेत बोलाएको थियो ।

यद्धपी आवासीय चिकित्सक र एनएमए पदाधिकारीबीच डा केसीका माग सम्वोधन गर्ने विषयमा सौहार्दपूर्ण बाताबरणमा छलफल चलेको थियो ।

संघका महासचिव डा लोचन कार्कीले डा केसीको मागका विषयमा पहिले नै क्लियर भईसकेको र अहिले जीवन रक्षा गर्नु पहिलो आवश्यकता भएको भन्दै त्यस विषयमा काम अघि बढी रहेको बताए । उता आवासीय चिकित्सकका डा कश्यव श्रेष्ठले १८ औँ दिन हुँदा समेत एनएमएको गतिविधि देखिने गरि बाहिर नदेखिएको भन्दै धारणा बुझ्न आफूहरु आएको बताए ।

 

उनीहरुले एनएमएलाई तत्काल सेवा वन्द गरी देशव्यापी हडतालमा उत्रिने घोषणा गर्न समेत दवाव दिएका थिए । तर एनएमएका पदाधिकारीले भने आज बस्ने बैठकबाट मात्रै कस्तो स्वरुपको आन्दोलन घोषणा हुने भन्ने बारेमा निर्णय हुने बताएका थिए ।

आवासीय चिकित्सक संग बस्नु अघि एनएमएले निजी मेडिकल कलेज सञ्चालकसंग विधेयकको बारेमा छलफल गरेको थियो । सो क्रममा अधिकांश सञ्चालकहरुले विधेयक आउनुमा आफूहरुको विमती नरहेको तर हुवहु आए आफूहरुलाई मान्य नहुने बताएका थिए ।

मनमोहन मेडिकल कलेजका सञ्चालक डा. रामकुमार अधिकारी, विराट मेडिकल कलेजका डा. ज्ञानेन्द्रमान सिंह कार्की, नेपालगञ्ज मेडिकल कलेजका डा. सुरेश कनोडिया,  कान्तिपुर डेन्टल कलेजका डा. बुद्धिमान श्रेष्ठलगायतले धारणा राखेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *