अमिलो बनाउन ‘हर्पिक’ प्रयोग गरेपछि बेनीमा चटपटे बिक्रीमा प्रतिबन्ध

म्याग्दी, २५ साउन । सदरमुकाम बेनीमा चटपटे बिक्रीमा प्रतिबन्ध लगाइएको छ । बेनी नगरपालिकाको कार्यालयले बजारमा चटपटे बिक्री गर्न रोक लगाएको हो ।

स्वास्थ्यमा प्रतिकूल असर पर्ने अखाद्य पदार्थ मिसावट गरी चटपटे बनाउने गरेको पाइएपछि प्रतिबन्ध लगाइएको बेनपा– ७ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले बताए ।

अनुगमनका क्रममा चटपटे अमिलो बनाउन केही व्यापारीले शौचालय सफा गर्न प्रयोग गरिने ‘हर्पिक ’ प्रयोग गरेको भेटिएपछि कडाइ गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

त्यसो त चटपटे सडकमा ठेला राखेर व्यापार गर्दा दुर्घटनाको जोखिम समेत बढेको थियो । साँघुरा सडक र गल्लीमा ठेलामा राखेर बिक्री गरिने चटपटे खानेको भिडले सवारी आवागमन प्रभावित हुँदै आएको थियो ।

यता नगरपालिकाले सडक छेउछाउमा रहेका ट्यांकी र छाप्रोलाई वैकल्पिक ठाउँमा स्थानान्तरणको तयारी समेत गरेको छ । ठेला तथा ट्यांकी बनाएर फलफूल र शृङ्गार सामग्रीको व्यापार गर्दै आएका व्यापारीलाई स्थायी पूर्वाधार बनाएर स्थानान्तरण गर्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *