सरकारी बार्ता टोलीले माग्यो आइओएम स्वायत्तताको खाका

काठमाडौँ, १६ साउन । त्रिभुनव विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान( आइओएम)लाई कस्तो स्वायत्तता दिने भन्ने विषयमा छलफल सुरु भएको छ । आज बस्ने बार्तामा आइओएमका डीन प्राडा जगदीश अग्रवालले स्वायत्तताको खाका प्रस्तुत गर्ने र त्यसमाथि छलफल हुने बताइएको छ ।

सरकारी बार्ता टोलीका संयोजक शान्तबहादुर श्रेष्ठले डा केसीले उठाएका मागहरु मध्ये चिकित्सा शिक्षा विधेयक र आइओएमको स्वायत्तता प्रमुख रहेको भन्दै ती विषयमा बार्ता बढी केन्द्रीत रहेको बताए ।

उनले चिकित्सा शिक्षा विधेयक बारेमा व्यवस्थापिका संसद महिला बालबालिका समाजकल्याण तथा जेष्ठनागरिक समितिको ध्यानाकर्षण गराईरहेको र संगसंगै स्वायत्तताको विषयलाई प्रमुखताका साथ अघि बढाएको जानकारी दिए ।

‘आजको बार्तामा डीन ज्यूले स्वायत्तताको विषयमा खाका प्रस्तुत गर्नुहुनेछ । सोही अनुसार छलफल अघि बढने छ । त्यस्तै माथेमा आयोगको प्रतिवेदनको मर्म र भावनाको प्रतिकूल नहुने गरी विचाराधीन चिकित्सा शिक्षा विधेयक छिटो संसदबाट पारित गर्न हामीले गरेको आग्रहलाई व्यवस्थापिका–संसद्, महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिका सभापतिले सकारात्मक रुपमा लिनुभएको छ,’ संयोजक श्रेष्ठले भने ।उनले बार्ताका क्रममा भएको हालसम्मका प्रगतिबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई अवगत गराइरहेको समेत जानकारी दिए ।

डा केसी भने तत्काल माथेमा प्रतिवेदनको सुझावसहित चिकित्सा शिक्षा ऐन पारित, विगतका सम्झौताअनुसार थप स्वायत्तता दिँदै विद्यार्थी भर्ना, शुल्क र सम्बन्धनसम्बन्धी अधिकार त्रिवि कार्यकारी परिषद्बाट आइओएममा फिर्तालगायत माग गर्दै गत साउन ९ गतेदेखि ११औँ पटक अनशनमा रहेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *