नेपालमै इबोला भित्रिएको आशंका, परीक्षणका लागि नमूना अमेरिका पठाइदै

काठमाडौँ, १० साउन । इबोला रोगको आशंका गर्दै सरकारले एक जना विरामीको रगत परीक्षण गर्न सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) अमेरिका पठाउने भएको छ ।

हालै कंगोबाट फर्किएका एक ३२ बर्षीय नेपाली विरामीमा इबोलासंग मिल्ने लक्षण देखापरेपछि विश्व स्वास्थ्य संगठन(डव्लुएचओ)को पहलमा थप परीक्षण गर्न अमेरिका पठाउन लागेको हो । कंगो विगतमा इबोलाबाट प्रभावित मुलुकहरुमध्ये एक हो ।

सोमबार (हिजो) राजधानीको एक निजी अस्पतालमा स्वास्थ्य उपचार गर्न पुगेका ती व्यक्तिमा इबोलाको लक्षण देखा परेको भन्दै चिकित्सकले तत्काल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, स्वास्थ्य मन्त्रालय र डव्लुएचओलाई जानकारी गराएका थिए ।

त्यस लगत्तै टोली परिचालन भई थप परीक्षणका लागि डव्लुएचओको सहयोग लिने निर्णयमा पुगेका थिए । संक्रमित भनिएका व्यक्तिलाई भने नेपाली सेनाले आफ्नो आइसोलेसन वार्डमा राखेको छ । त्यसअघि नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट खटिएको टोलीले आशंका गरिएको ती व्यक्तिको रगत संकलन गरी सुरक्षित रुपमा राखेको जनाएको छ ।

‘अहिले नै मुख खोल्नु हतारो हुन्छ । कंगोबाट फर्किएको व्यक्ति र लक्षण त्यस्तै देखा परेकोले उसलाई निगरानीमा राख्दै थप परीक्षण गरिएको हो,’  इडिसीडी स्रोतले भन्यो । उता डव्लुएचओले संकलित नमूनालाई सुरक्षित रुपमा सीडीसी पठाउन थाइल्याण्डबाट विशेष किट झिकाउँदै छ । ‘सो किट आएपछि हामी त्यसमा संकलिन नमूना सुरक्षीतसंग सीडीसी पठाउँछौँ ‘  स्रोतले भन्यो ।

इबोला परीक्षणको लागि लेभल ४को प्रयोगशाला हुनुपर्छ । नेपालमा भने अहिलेसम्म लेभल ३ को मात्रै प्रयोगशाला छ । सो केशको बारेमा आज दिनभर सरकारी र डव्लुएचओको प्रतिनिधीहरु छलफलमा जुटेका थिए ।

यता इडिसिडीका निमित्त प्रमुख डा गुणनिधी शर्माले शंका गरिएको व्यक्तिमा फाल्सीफारम मलेरिया भएको बताए । उनले थप एकिन गर्नका लागि संकलित नमूना सीडीसी पठाउन लागेको जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *