रक्त क्यान्सरले थलिएका जयन्तको उपचारमा सघाउन परिवारको याचना

(विनोदसिंह विष्ट) बैतडी, १० साउन । बुढेसकालको सहारा भन्ठानेको छोरो रक्त क्यान्सरबाट ग्रसित भएपछि बैतडीको पुर्चौडी नगरपालिका–८, खेतालीकी दुर्गा बमलाई खाएको एक गाँस पनि आङ लाग्दैन ।

छोराको चिन्ताले खाना खानु नखानु एकै सरह भएको छ उनलाई । चौध वर्षीय छोरा जयन्त बम रक्त क्यान्सरबाट पीडित भएपछि उपचारमा सहयोग गरिदिन उनले आग्रह गरिरहेका छन् । विगत १८ महिनादेखि जयन्तको काठमाडौँको महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचार भइरहेको आमा दुर्गाले जानकारी दिइन् ।

विसं २०७२ को फागुन महिनाअघिदेखि बिरामी भएका जयन्तलाई शुरुमा घरमै राखेर उपचार गरिएको थियो । घरायसी उपचारले निको नभएपछि डडेल्धुराको एक क्लिनिकले ब्लड क्यान्सर भएको भनेर काठमाडौँस्थित कान्ति बाल अस्पतालमा लैजान सुझाएको थियो । विसं २०७२ को फागुनमा उपचारका लागि कान्ति बाल अस्पतालमा भर्ना गराएपनि पैसा नभएर बीचमै उपचार गर्न छाडेर उनीहरु घर फर्किएका थिए । जयन्तलाई हाल पुनः कान्ति बाल अस्पतालमा भर्ना गरिएको छ ।

एक वर्षदेखि कान्तिमा उपचार गराइरहेका जयन्तको उपचारका लागि उनका परिवारले भएको सम्पत्ति, जग्गा जमिनसमेत बिक्री गरेका छन् । “हालसम्म छोराको उपचारमा रु सात लाख खर्च भइसकेको छ,” उनले दुखेसो पोख्दै भनिन् – “भएको जति सम्पत्ति सबै बिक्री गरिसकें । जग्गा जमिन केही बाँकी छैन ।”

“जयन्तलाई पूर्णरुपमा निको पार्न तीन वर्ष दुई महिना लगातार उपचार गराउनुपर्ने र त्यसका लागि रु २० लाख खर्च लाग्ने भनेको छ,” उनले भनिन् – “चिकित्सकले जयन्तको तीन वर्षसम्म नियमितरुपमा अस्पतालमै राखेर उपचार गराउनुपर्ने भनेपछि खर्च जुटाउन समस्या भएको छ ।”

“छोराको उपचारमा सबै सम्पत्ति सकियो,” जयन्तकी आमा दुर्गाले भनिन् – “उपचारमा ठूलो रकम लाग्ने भयो । छोरोको जीवन रक्षाका लागि सहयोगी सङ्घसंस्था र व्यक्तिसँग आग्रह गर्दछु ।”

एक वर्षदेखि छोरोको उपचारमा काठमाडौँ बस्दैआएकी दुर्गाले आर्थिक समस्याले पिरोल्न थालेको दुखेसो पोखिन् । उनले भनिन्– क्यान्सर पीडित छोराको उपचार गर्न नसकेर एकपटक घरमा समेत लिएर गएकी हुँ । काठमाडौँमा पानीसमेत किनेर खानुपर्छ । घरको सम्पत्ति सबै उपचारमै सकियो ।”

जयन्तमा विसं २०७२ फागुन अगाडि हातखुट्टा दुख्ने, टाउको दुख्ने, ज्वरो आउने, शरीर भारी हुनेलगायतका लक्षण देखा परेका थिए । यस्ता लक्षण देखा पर्दा शुरुमा घरमै राखेर उपचार गरिएको थियो । स्थानीय स्वास्थ्य चौकीको औषधिले सञ्चो भएन । पछि डडेल्धुराको एक क्लिनिकले रक्त क्यान्सर भएको ठम्याएर एक दुई दिनभित्रै कान्ति बाल अस्पतालमा लैजान सुझाव दिएको थियो । कान्तिमा आएपछि जयन्तलाई रक्त क्यान्सर भएको पुष्टि भयो ।

अस्पताल भर्ना भइसकेपछि शुरुका दिन जयन्तलाई दिसापिसाव गर्न पनि झोलामा हालेर लैजानुपर्ने बाध्यता रहेको आमा दुर्गाले बताइन् । उनका अनुसार जयन्तलाई आजभोलि केही सञ्चो भएको छ ।

बैतडीको पुर्चौडीस्थित मेरो निमाबिमा ८ मा पढिरहेका जयन्तले गत वर्ष कक्षा ८ को परीक्षासमेत दिन पाएनन् ।

छोराको उपचारका लागि भारत र नेपालका विभिन्न चहार्दाचहार्दै जायजेथा सकिएपछि खेतीपाती गरेर जीवन गुजारा गर्दै आएका बम परिवारले छोराको जीवन रक्षाका लागि सहयोगको याचना गरेका हुन् ।

जयन्तको उपचारमा सहयोग गर्न चाहनेलाई जयन्तको बुबाको नाममा नबिल बैंक कुलेश्वर, काठमाडौँ शाखामा रहेको खाता नम्बर ३११००१७५०५०१७ मा रकम जम्मा गरिदिन परिवारले आग्रह गरेको छ ।

अमेरिकाबाट सहयोग

रक्त क्यान्सरले पीडित बैतडीको पुर्चौडी नगरपालिका–८, खेतालीका १४ वर्षीय जयन्त बमको उपचारका लागि अमेरिकाको टेक्सासमा बस्दै आएका गैरआवासीय नेपालीले स्थापना गरेको सुदूरपश्चिम समाजले आर्थिक सहयोग गरेको छ ।

समाजका सदस्य प्रेम शाहीले क्यान्सर पीडित जयन्तकी आमा दुर्गालाई रु ५० हजार आर्थिक सहयोग हस्तान्तरण गरेको समाजकी सचिव गुड्डी भण्डारीले बताए।

केही महिनाअघि मात्र स्थापना भएको सुदूरपश्चिम समाजले गरेको सहयोगले जयन्तको उपचारका लागि थोरै भए पनि सहयोग पुग्ने दुर्गाले बताइन् । सुदूरपश्चिमका जनताको शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सुविधामा पहुँच पु¥याउन र त्यहाँका भाषा र संस्कृतिको जगेर्ना गर्न स्थापित आफ्नो संस्थाका तर्फबाट क्यान्सर पीडित बालकको उपचारमा सहयोग गर्न पाएकामा खुशी लागेको सचिव भण्डारीले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *