अनसनको तयारी थालेका डा. केसीलाई विद्यार्थीहरुको पत्र : भन्छन, ‘यसपटक हामीलाई साथ दिनुस्’

काठमाडौँ, ८ साउन । एघारौँ अनसनको तयारी थालेका त्रिवि शिक्षण अस्पतालका प्राडा गोविन्द केसीलाई आफूहरुले उठाएका मागमा समर्थन गर्न विद्यार्थीहरुले पत्र मार्फत आग्रह गरेका छन् ।

यसअघिका अभियानमा आफूहरुको सक्रिय समर्थन रहेको स्मरण गराउँदै डा केसीलाई विद्यार्थीहरुले यसपटक आफूहरुको मागलाई समर्थन गर्न आग्रह गरेका हुन् ।

महाराजगञ्ज मेडिकल क्याम्पस स्ववियुको अगुवाईमा विद्यार्थीहरुले एमबीबीएसमा भएको अनियमित भर्ना, पीजीमा आरक्षण, कम्युनिटी पोष्टिङ तथा मेरिट लिष्टको आधारमा पीजीमा भर्ना गर्नुपर्ने लगायत ६ सुत्रीय माग अघि सारेका छन् । उनीहरुले माग पुरा नगरेको भन्दै आइओएम डीन प्राडा जगदीश अग्रवालको कार्यकक्षमा तालाबन्दी समेत गरेका छन् ।

विद्यार्थीहरुले शैक्षिक सुधारका लागि आफूहरुको नेतृत्वमा भएको आन्दोलनमा डा केसीको सक्रिय समर्थन हुने आशा गरेका थिए । तर डा केसी भने विद्यार्थीहरुका मागका विषयमा अहिलेसम्म मौन छन् ।

नेपाली हेल्थलाई प्राप्त डा केसीलाई लेखिएको पत्रको मिति २ साउनको छ । सो पत्रमा विद्यार्थीहरुले यसअघिका अनसनमा आफूहरुको साथ रहेको भन्दै यसपटक आफूहरुलाई साथ दिन आग्रह गरेका छन् ।

स्ववियु सभापति डा मिलन गैरेद्धारा हस्ताक्षरित पत्रमा क्याम्पसका अरु विद्यार्थी संगठनका पदाधिकारीको समेत हस्ताक्षर छ । भर्खरै निर्वाचित एनआरडीएका अध्यक्ष डा कश्यव श्रेष्ठ, नर्सिङ क्याम्पसका स्ववियु सभापति विमला धमला सहित विभिन्न विद्यार्थी संगठनका दुई दर्जन बढी हस्ताक्षर गरेका छन् ।

डा केसीले भने आफूसंग गरिएका सम्झौँताको कार्यान्वयन आज सम्म नभए भोली देखि एघारौँ अनसन थाल्ने बताउदै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *