‘डा’सापहरुले स्वास्थ्य क्षेत्र नै सुधारेर देखाईदिनुस न राजनीति तिर किन ?’

काठमाडौ, साउन ७ गते । ‘तपाईँहरुलाई अलि बिद्धान ठान्थे तर सोँच त उस्तै रहेछ । मञ्च पायो कि नेतालाई मनलाग्दो तरिकाले गाली गर्ने । मञ्च पायो कि ६०१ लाई गाली गर्ने , अनि तपाईँहरुको आफ्नो दायित्व चाहि …..?’

शनिबार राजधानीमा चिकित्सकरुको संस्था फिजिसियन फर सोसियल रेस्पोन्सविलिटी फर नेपाल (पीएसआरएन)ले आयोजना गरेको फाइनान्सिङ हेल्थ सोसियल सेक्युरिटी एण्ड इक्वीटी विषयक कार्यक्रमको अन्तिम बक्ताको रुपमा मञ्चमा पुगेकी महिला बालबालिका समाजकल्याण तथा जेष्ठनागरिक समितिका सभापति रन्जु झा सुरुमै आक्रोशित रुपमा प्रस्तुत भइन ।

आफू भन्दा अघिल्ला डाक्टरहरुले नेपालको स्वास्थ्य सेवा बिग्रनुको कारणमा नेता र अझ त्यसमा पनि ६०१ सांसदको भूमिका रहेको भन्ने खालका घोचपेच सुनिरहेकी सभापति झाले जब मञ्च पाइन उनीहरुको झाँको झार्न थालिन् ।

‘बल्ल तल्ल चिकित्सा शिक्षा अध्ययन गरयो, दुख गरी लोकसेवामा नाम निकाल्यो तर सरकारी जागिरे भईसकेपछि क्लिनिक खोल्यो । ध्यान कसरी क्लिनिकलाई राम्रो गर्ने कसरी कमाउने भन्ने तर्फ लाग्ने । यो कसले गर्छ ? तपाईँ चिकित्सकहरुले होइन ?’  विद्धान चिकित्सकलाई अर्को डायलग थियो सभापति झाको ।

उनले भनिन् थप्दै गईन, ‘सरकारी अस्पताल तथा सरकारी स्वास्थ्य संस्था धरासायी बन्नुमा सबैभन्दा ठूलो हात डाक्टरको रहन्छ । तपाईँहरुले कतिले सोच्नु भएको छ ? आफू कार्यरत स्वास्थ्य संस्था सुध्रिड बनाउछु भनेर ? जनतालाई सहज रुपमा स्वास्थ्य सेवा दिनका लागि तपाईँ आफ्नै मनबाटै कति प्रयास गर्नु भएको छ ?’

उनले डाक्टरहरुलाई स्वास्थ्य सेवा कम र राजनीतिप्रति बढी चासो देखाएको भन्दै अर्को डायलग दिइन, ‘प्लिज तपाईँहरु स्वास्थ्य सेवा सुधार्नुस् राजनीति सिकाउन पर्दैन् ।’

सभापति झाले आक्रोशित मुद्रामा आफूहरुमाथि यसरी डायलग दिन थालेपछि मञ्चका अघिलतिर रहेका विद्धान डाक्टरहरु मुखामुख गरिरहेका देखिन्थे । पछाडीका कतिपयले ठिक भनिन भन्ने इसाराले टाउको हल्लाएका थिए ।

करीब आधा घण्टाको चर्को भाषणमा उनले बीच बीचमा सबै डाक्टर त्यस्तो नहुँने भन्दै प्रष्टिकरण दिइरहेकी पनि थिइन । उनले आफूले केही डाक्टरलाई इंगित गरेजस्तै सबै नेता पनि बदमास नहुने बताइन् । उनले भनिन् , ‘ जसरी तपाईँहरु सबै खराव हुनुहुन्न त्यसैगरी नेताहरु पनि सबै खराव छैनन् । ६०१ सबै खराब छैनन् । त्यसमा तपाईँ विद्धानहरुले बुझ्नुपर्छ ।’

आफ््नो मन्तव्यको क्रममा उनले स्वास्थ्यमा पहूँच बढाउन आफूहरुले कानूनहरु बनाई रहेको र बन्ने क्रममा समेत रहेको भन्दै त्यसमा सबै सरोकारको सुझाव लिएर अघि बढने बताएकी थिइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *