‘जनता स्वास्थ्य केन्द्र’का कर्मचारीको एक महिनामै जागिर चट ?

काठमाडौँ, ७ साउन । आर्थिक बर्ष सकिन एक महिना बाँकी छदा नियुक्ति पाएका जनता स्वास्थ्य केन्द्रका एक सय जना कर्मचारीले विदा पाउने भएका छन् । पूर्वाधार विना तत्काल कर्मचारीको नियुक्ती र नविकरण नगर्ने काठमाडौँ महानगरपालिकाको निर्णयपछि उनीहरुले विदा पाउने भएका हुन् ।

यसअघि स्वास्थ्य पूर्व मन्त्री गगन थापाले नसर्ने रोग नियन्त्रणका लागि भन्दै काठमाडौँ महानगरपालिकाका विभिन्न १० स्थानमा जनता स्वास्थ्य केन्द्रस्थापना गर्ने निर्णय गरेका थिए ।

सोही अनुसार स्वास्थ्य सेवा विभाग प्राथमिक स्वास्थ्य तथा पुर्नजागरण महाशाखाले गत जेठमा चिकित्सक, नर्स प्यारामेडिक्स सहितका एक सय कर्मचारी छनौट गरेको थियो भने जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँले उनीहरुलाई नियुक्ति दिएको थियो । पछिल्लो समय यो कार्यक्रम अघि बढाउने जिम्मा महानगरपालिकामा गएको छ ।

काठमाडौँ महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख हरिकुमार श्रेष्ठले कार्यक्रमको उदेश्य राम्रो भएपनि विना तयारी कार्यक्रम ल्याइएकोले कर्मचारीलाई निरन्तरता दिने काम तत्कालका लागि स्थगित हुने बताए । ‘न उनीहरुलाई बस्ने भवन छ, न उनीहरुले गर्ने कामका लागि उपकरण तथा सामग्री छ । एक्कासी कर्मचारी नियुक्ति गर्दा उनीहरुमा हाजिर गर्ने र तलव बुझ्ने बाहेक अरु काम हुने भएन । त्यसैले महानगरपालिका यसका कार्यक्रमका लागि अहिल्यै नै कर्मचारी नियुक्ति गरिहाल्ने वा नविकरण गरिहाल्ने अवस्थामा छैन’ श्रेष्ठले बताए ।

उनले जनता स्वास्थ्य केन्द्रको आवश्यक पूर्वाधार र उपकरण भएपछि मात्रै नयाँ कर्मचारीको नियुक्ति गरिने स्पष्ट पारे ।

यता एक महिना अघि मात्रै नियुक्ति लिएका जनता स्वास्थ्य केन्द्रका कर्मचारीहरुले भने आफूहरुको जागिर नविकरण हुनुपर्ने भन्दै पूर्नजागरण महाशाखामा धर्ना दिएका छन् ।

पुर्नजागरण महाशाखाका निर्देशक मोहमद दाउदले भने नयाँ व्यवस्था अनुरुप जनता स्वास्थ्य केन्द्रकार्यक्रमको सबै बजेट महानगरपालिकामा गएको भन्दै अव सबै निर्णय महानगरपालिकाले गर्ने बताए । उनले पूर्वाधार निर्माण गर्ने उपकरण खरिद गर्ने तथा कर्मचारी नियुक्ति तथा नविकरण गर्ने कार्य सबै अधिकार महानगरपालिकालाई दिइएको बताए ।

यसअघि पुर्नजागरण महाशाखाले काठमाडौँको चावहिल, मैतिदेवी, नक्साल, कुलेश्वर, लैनचौर, पुरानो बषपार्क, मित्रनगर, डल्लु आवास, वालाजु, बाफल क्षेत्रमा जनता स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउने निर्णय गर्दै एक सय जना कर्मचारी छनौट गरेको थियो ।

ती कर्मचारीहरुमा आठौँ तहका १० जना मेडिकल अधिकृत, सातौँ तहका १० जना जन स्वास्थ्य अधिकृत, पाँचौँ तहका २० जना हेल्थ असिस्टेन्ट, पाँचौँ तहका ४० जना स्टाफ नर्स, पाँचौँ तहको ल्याव टेक्निसियन १० जना र चौथो तहको ल्याव असिस्टेन्ट १० जना थिए । छनौट भएका उनीहरुले जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँबाट नियुक्ति लिएर असार महिनाभर काम गरेका थिए ।

जनता स्वास्थ्य केन्द्र किन ल्याइएको थियो ?
खास गरी नसर्ने रोगको जोखिम न्युनिकरण गर्न जनता स्वास्थ्य केन्द्रको कन्सेप्ट अघि सारिएको थियो ।

महानगरपालिकाका विभिन्न १० स्थानमा खोलिएको केन्द्रमा नसर्ने रोगको नियन्त्रण, स्वास्थ जीवनका लागि वातावरणको नियमित अनुगमन, सरुवा रोगको रोकथाम र उपचार, प्राथमिक उपचार, ल्याव परिक्षण, मातृशिशु स्वास्थ्य एवं परिवार नियोजन सेवा, प्रजनन स्वास्थ्य सेवा, खोप, पोषण, बालरोगको एकिकृत व्यवस्थापन, मानसिक रोगको परामर्श सेवा, यौन तथा प्रजनन परामर्श सेवा, वृद्ध वृद्धाहरूका लागि परामर्श सेवा लगायतका परामर्श, परिक्षण र उपचार सेवा प्रदान गरिने बताइएको थियो ।

त्यस्तै केन्द्रका कर्मचरीले स्वास्थ्य निरिक्षकले त्यस क्षेत्रभित्र स्वास्थ्यसंग जोडिएका वातावरणीय सेवा सुविधा सहित खाद्य पानी जस्ता विषयको निरीक्षण गर्ने, योग तथा शारिरिक व्यायमका कार्यक्रम समेत संचालन गर्ने बताइएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *