सुर्तीमा नेपाल : चेतावनीमुलक चित्रमा सबभन्दा बढी, करको दरमा सबभन्दा कम

काठमाडौँ, १ साउन । सुर्तीजन्य पदार्थको प्याकेटको ९० प्रतिशत भाग चेतावनीमुलक स्वास्थ्य सन्देशले छोप्नुपर्ने नियम ल्याएर संसारमै पहिलो भएको नेपाल सुर्तीको करको दर बृद्धि गर्ने कार्यमा भने दक्षिण एसियामै सबैभन्दा पछि परेको छ ।

सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न विश्व स्वास्थ्य संगठनले अघि सारेको अभिसन्धि फ्रेमवर्क कन्भेन्सन अन टोवाको कन्ट्रोल(एफसीटीसी)मा हस्ताक्षर गरेको गरिसकेको अवस्थामा कम्तीमा करको दर ७० प्रतिशत पुरयाउनुपर्ने थियो । तर नेपालमा अहिले पनि सुर्तीमा करको दर ३० प्रतिशतकै हाराहारीमा अल्झिएको छ ।

द युनियनको सहयोगमा एक्सन नेपाल र स्वास्थ्य खबरले आयोजना गरेको ‘टोबाको ट्याक्स : अ सस्टेनेवल सोर्स फर हेल्थ फाइनान्सिङ ‘विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने अधिकांश बक्ताले करको दर बढाउन पर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले दैनिक ४१ देखि ६८ जनासम्मको ज्यान लिने सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण गर्न जरुरी रहेको भन्दै सबैखालका उपाय अवलम्वन गर्नुपर्नेमा जोड दिए । उनले डरलाग्दा चित्र र करको दर बढाई मूल्य बढाएर प्रयोग दरमा कमी ल्याउन सकिने भन्दै यस तर्फ सरकारले कदम चाल्नुपर्ने बताए ।

एमाले सांसद कृपाराम रानाले स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने सेवनलाई रोक्न आवश्यक रहेको भन्दै करको दर बढाउन महत्वपूर्ण उपाय हुने बताए । उनले सस्टेनेवल सोर्स फर हेल्थ फाइनान्सिङ भन्न नमिल्ने भन्दै यसो भएको खण्डमा सधैभरी सुर्तीजन्य पदार्थको प्रयोग भईरहने बताए ।

कार्यक्रममा बोल्दै स्वास्थ्य सचिव डा किरण रेग्मीले सुर्तीजन्य उद्योग खोल्नै नपाईने व्यवस्था गर्नुपर्नुपर्नेमा जोड दिइन । उनले नियम बनाउने संसद र कार्यान्वयन गर्ने प्रशासन भएको भन्दै स्वास्थ्यले प्राविधिक रुपमा सहयोग गर्ने बताइन् । उनले कार्यन्वनयमा नआएको ९० प्रतिशत चित्रलाई कार्यान्वनयमा ल्याउन आवश्यक कदम चाल्ने बताइन् ।

मन्त्रालयकै प्रमुख विशेषज्ञ डा पुष्पा चौधरीले सुर्तीजन्य पदार्थले सबै उमेर व्यक्तिलाई असर गरेको भन्दै गर्भवती महिला तथा बालबालिकाहरु थप जोखिममा रहेको बताइन् । उनले एफसीटीसीमा हस्ताक्षर गरेको अवस्थामा त्यसले अघि सारेका मापदण्डको कार्यान्वनय गर्नुपर्ने राज्यको दायित्व भन्दै सबैले त्यसमा सहयोग गर्नुपर्ने बताइन ।

आन्तरिक राजश्व विभागका शाखा अधिकृत ईश्वर कोइरालाले सुर्तीजन्य पदार्थमा करको दर बढेको बताउँदै मापदण्ड पुगेका बस्तुमा माात्रै अन्तशुल्क स्टिकर लगाउन मिल्ने जानकारी दिए । उनले केही स्वदेशी उत्पादकले ९० प्रतिशत चित्रअंकित स्वास्थ्य सन्देश नछापेको बताउँदै त्यसका बारेमा थप छलफल गरी निर्णयले लिने बताए ।

द युनियन सिंगापुरका डेपुटी रिजनल डाइरेक्टर डा तारासिंह बमले बार्षिक २५ हजार बढीको ज्यान लिने सुर्तीजन्य पदार्थको नियन्त्रण आवश्यक भएको भन्दै बनाएका नीतिको कार्यान्वनय गर्नुपर्ने बताए ।

उनले नयाँ पुस्तालाई सुर्तीजन्य पदार्थको कुलतबाट हटाउन चेतावनीमुलक स्वास्थ्य सन्देश छाप्नुपर्ने नियम बनाइएपनि त्यसको पूर्ण कार्यान्वनय नआएको भन्दै चिन्ता व्यक्त गरे । उनले सुर्तीको प्रयोग नियन्त्रण गर्ने अर्को उपाय करको दर बृद्धि गर्नु हो भन्दै त्यसमा नेपाल दक्षिण एसियामै सबैभन्दा पुच्छारमा रहेको जानकारी दिए । उनले विभिन्न देशको उदाहरण दिदै करको दर बढाउनुको विकल्प नभएको प्रष्ट पारे ।

एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले सुर्ती नियन्त्रणका लागि नेपालले कानूनी रुपमा केही नीति बनाएपनि कार्यान्वनय फितलो भएको भन्दै नियमक निकायको आलोचना गरे । उनले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न बनेका कानूनको पूर्ण पालना गराउन र बनाउनुपर्ने कानून छिटो बनाउन सांसदको ध्यानाकषर्ण गराए ।

कार्यक्रममा नेविसंघका अध्यक्ष नैनसिंह महर, युवासंघका सचिव बचन बहादुर सिंह, अखिल क्रान्तिकारीका उपाध्यक्ष अनिल शर्मा लगायतले सुर्ती नियन्त्रणका लागि युवा तथा विद्यार्थीहरुले गर्नुपर्ने कामकाबारेमा धारणा राखेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *