शौचालयमा कण्डम बक्स, पाँच लाख भन्दा बढी खपत

प्युठान, ३१ असार । गाँउका अधिकांश युवा स्वास्थ्य संस्थाबाट कण्डम निशुल्क पाइन्छ भन्नेमा जानकार छन् । तर सामाजिक परिवेश, लाजका कारण उनीहरु सहजै स्वास्थ्य संस्थामा गएर कण्डम माग्न हिचकिचाउँछन् ।

युवाका यस्तै व्यवहारलाई मध्यनजर गर्दै प्राथमिक स्वास्थ्य केन्द्र खलंगाले कण्डम बक्स नै शौचालय भित्रै राखिदिएको छ । शौचालयबाट सुटुक्क कण्डम लैजान पाउने भएपछि कण्डमको खपत पनि बढेको स्वास्थ्यकेन्द्रले जनाएको छ ।

‘पहिला केही युवाले मात्रै फाट्टफुट्ट माग्थे’, केन्द्र प्रमुख सुवास पौडेलले भने, ‘शौचालयमा राखेपछि अत्यधिक मात्रामा कण्डम खपत भईरहेको छ ।’ महिनाको ५ ६ सय कण्डम खपत भईरहेको उनले बताए ।

मल्लारानी गाँउपालिका सहित प्युठान नगरपालिकाको मरन्ठाना, ऐरावती गाँउपालिकाको रस्पुरकोटस्थित स्वास्थ्य संस्थाले पनि शौचालयमा कण्डम बक्स राखेको छ ।

कण्डम प्रयोगलाई प्रोत्साहन दिन शौचालयमै कण्डम राखेको स्वास्थ्य केन्द्रका प्रमुख पौडेलले बताए । यसअघि खलंगाका विभिन्न सार्वजनिक स्थलमा कण्डम राखेपनि प्रभावकारी हुन नसकेको उनको भनाइ छ ।

एक बर्षमा ५ लाख बढी खपत
जिल्लाका सबै स्वास्थ्य संस्थामार्फत हरेक बर्ष पाँच लाख बढी कण्डम वितरण भईरहेको जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक छ । जिल्लाका सबै वडामा रहेका स्वास्थ्य संस्थामा कण्डम बक्स राखेपनि देखिने ठाँउमा रहेका त्यस्ता बक्सबाट कण्डम झिक्न हिचकिचाउने गरेको जनस्वास्थ्य अधिकृत विशाल सुवेदीले बताए ।

  • नयाँ पत्रिकामा खबर छ
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *