बाढी प्रभावित क्षेत्रमा सर्पदंशका बिरामी बढ्दै

राजविराज, २९ असार । सप्तरीका बाढी प्रभावित क्षेत्रमा एक्कासि सर्प दंशका घटनामा वृद्धि भएको छ । दुई साताको अवधिमा बाढीबाट प्रभावित क्षेत्रमा तीन दर्जनभन्दा बढी सर्पको टोकाइबाट घाइते भएका बिरामी राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा भर्ना भएको बताइएको छ ।

बाढी क्षेत्रमा एक्कासि सर्पको बिगबिगी बढेपछि बाढीपीडित झन् त्रसित बनेका छन् । घरमा पानी पसेर बस्न–सुत्न र खाना खान समस्या रहेको अवस्थामा उनीहरु सर्प दंशको शिकार भइरहेकाले झन् समस्या भएको बाढीपीडितले जनाएका छन् । अहिले बाढी पसेका गाउँमा पनि सर्प दंशका घटना बढ्न थालेको पाइएको छ ।

बाढीका समस्या झेलिरहेका बाढीपीडित सर्पदंशका बढ्दो घटनाले थप त्रसित भएको बताइएको छ । तर हालसम्म सर्प दंशबाट कसैले ज्यान गुमाएको छैन अस्पतालका सिनियर अहेव जयकृष्ण गुरमैता यादवले भने । जिल्लाको एकमात्र सरकारी अस्पताल सगरमाथा अञ्चल अस्पतालमा आजभोलि दैनिक १० देखि १५ जना सर्प दंशका बिरामी आउने गरेको अस्पतालले जनाएको छ ।

आएका सर्प दंशका बिरामीमध्ये यहाँ उपचार सम्भव भएकालाई यहीँ उपचार गराइन्छ भने सम्भव नभएकालाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरका विभिन्न अस्पतालमा पठाइने गरिएको अस्पताल स्रोतले जनाएको छ ।

यस्तै, बाढीग्रस्त क्षेत्रमा सर्पदंश मात्र नभई सर्प दंशसँगै ज्वरो, पखाला र रुघाखोकीका दैनिक १५ देखि २५ जना बिरामी अस्पतालमा उपचारका लागि भर्ना हुने गरेको बताइएको छ । गर्मीसँगै वर्षा बढेपछि अहिले यस्ता बिरामीको चाप झनै बढेको र अस्पतालमा एकाएक बिरामीको चाप बढेपछि अस्पतालमा श्ययाको समेत अभाव भएको अस्पतालबाट थाहाभएको छ ।

गर्मी याममा सङ्क्रमण बढिरहेकाले बिरामीको चाप बढेको र सप्तरीमा बाढी आएपछि कतिपय ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्नुपर्ने अवस्था देखिएपनि अधिकांश ठाउँमा बिरामी त्यतिकै भौँतारिइरहेको बाढीपीडितको गुनासो छ ।

यसैबीच, सर्प दंशका घटना बढेपछि अस्पतालले एन्टी स्नेक भेनम नामक औषधि पर्याप्त मात्रामा रहेको जनाएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *